जन्मभूमिको सहायोगका लागि अस्ट्रेलियाका नेपालीले पठाए लाखौँ डलरको सहयोग

Nepalis take part in a candle light vigil in Kathmandu to pay respect to people who have died due to the coronavirus

Nepalis take part in a candle light vigil in Kathmandu to pay respect to people who have died due to the coronavirus. Source: EPA/NARENDRA SHRESTHA via AAP

कोभिड–१९ का कारण जटिल स्वास्थ्य समस्याको जोखिममा रहेका मानिसहरूको सहयोगार्थ अस्ट्रेलियाबाट सामुदायिक रूपमा लाखौँ डलरको सहयोग नेपाल पुग्ने क्रम जारी छ।


कोरोनाभाइरस महामारीका कारण प्रभावित आफ्नो जन्मभूमिका लागि विभिन्न संस्थाहरू मार्फत झन्डै ७ लाख डलर मूल्य बराबरको राहत सहयोग अस्ट्रेलियामा रहेका नेपाली समुदायका सदस्यहरूले पछिल्ला समयमा पठाएका छन्।

यसरी सहयोग गर्नेहरुमा अन्तर्राष्ट्रिय स्तरमै रहेका नेपाली संस्थाहरूका साथै निजी व्यवसाय, चिकित्सक र समुदायका आम सदस्यहरू पनि रहेका छन्।

ती मध्येका एक हुन् टास्मेनिया निवासी चेतन कँडेल। 

नेपालको बिग्रँदो अवस्थाका माझ खाडी मुलुकमा काम गर्नेहरूबाट पनि सहयोग सङ्कलन गरिएको देख्दा डेभेनपोर्टका कँडेलले पनि केही गर्नुपर्ने महसुस गरे। 

रोटरी क्लब बुटवलबाट एक जना साथीले सहयोगका लागि आह्वान गरेपछि निजी रूपमै केही आर्थिक सहयोग गरेको उनी बताउँछन्।

"अनि मलाई एनआरएनए-अस्ट्रेलियाले पनि त केही गरिरहेको होला भन्ने लाग्यो," उनले भने।
Chetan Kandel Devonport Nepali Tasmania Australia
Source: Chetan Kandel
नेपालमा कन्सन्ट्रेटर पठाउने काम भइरहेको बुझेपछि भाइवर मार्फत डेभेनपोर्ट बस्ने नेपालीहरूलाई सम्पर्क गरी एक साता भित्रै १३८५ डलरको आर्थिक सहयोग जुटाएर उक्त रकम एनआरएनए-अस्ट्रेलियालाई हस्तान्तरण गरिएको चेतन कँडेलले बताए।

उता, एनआरएनए-अस्ट्रेलियाका केशव कँडेल पनि खासै कुनै सङ्गठनात्मक ढाँचा नभएको डेभेनपोर्ट स्थित सानो नेपाली समुदायले पनि स्वस्फुर्त तरिकाले रकम उपलब्ध गराउनुले नेपालीहरूको उदारतालाई झल्काएको ठान्छन्।
"यसपालि हामीले सोच्दै नसोचेको ठाउँहरूबाट पनि नेपालको लागि सहयोगहरू आइरहेको छ, जुन आफैँमा पनि गज्जबको कुरा हो जस्तो लाग्छ।"
गैर आवासीय नेपाली सङ्घ अस्ट्रेलिया (एनआरएनए-ए) को खातामा ३० हजार डलरको अक्षयकोषबाट सुरु भएको राहत कार्यक्रममा १२५ सङ्घ-संस्थाहरूका साथै चेतन कँडेल लगायत अन्य थुप्रै मानिसहरूले व्यक्तिगत क्षमतामा सहयोग गरिरहेका छन्।

एनआरएनए-एका अध्यक्ष केशव कँडेलका अनुसार सङ्गठनलाई प्राप्त भएका आर्थिक सहयोगका साथ अस्ट्रेलियाबाट ३ सय ७० वटा अक्सिजन कन्सन्ट्रेटरहरू नेपाल पुगिसकेका छन्।

उनी भन्छन् कि सबैको उल्लेखनीय सहभागिताबाट मात्रै यस्तो उपलब्धि हात लागेको हो।

"कसले एक, कसैले छ र कसैले १४ वटासम्म पनि (अक्सिजन कन्सन्ट्रेटरहरू) दिनुभएको छ," कँडेलले एसबीएस नेपालीलाई बताए।
NRNA NEPAL RELIEF PACKAGE KATHMANDU SBS NEPALI
Source: NRNA

विद्यार्थीहरूको पनि सहयोग

१४ थान कन्सन्ट्रेटर दिएर सहयोग पुर्‍याउनेमा नेपालबाट उच्च शिक्षाका लागि अस्ट्रेलिया आएका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको एक समूह नेपाली विद्यार्थीहरूको सहयोगार्थ सञ्चालित भिजन फर मोटिभेसन (भीएफएम) पनि हो।

भीएफएमका अध्यक्ष सुमन ओली भने मातृभूमि अफ्ठेरो स्थितिमा रहेको यो बेलामा केही गरौँ भनेर चालेको सानो कदम एक कान दुई कान मैदान हुँदै बढेको बताउँछन्।

उनका अनुसार उक्त संस्थाले “अक्सिजन टु नेपाल” नाम दिएर सुरु गरेको अभियान अन्तर्गत हालसम्म २८ हजार डलर उठाउन सफल भइसकेको छ।

Vision for Motivation Nepali Youth Sydney
Source: VFM Facebook


अस्पाली, हाम्रो सानो प्रयास नामक समूहहरू लगायत झापाली समाजसँगको सहकार्यमा आर्थिक सहयोग जुटाउने काम भइरहेको पनि ओलीले एसबीएस नेपालीलाई सुनाए।

"यो भीएफएमले मात्र गरेको होइन र यही भएर हामीले यसलाई जोइन्ट मोटिभेसन फ्रम अस्ट्रेलियन युथ भनेका छौँ," उनले भने।
"हामीलाई विश्वास गरेर कसैले दुई हजार (डलर) पनि एकल रूपमा दिनुभएको छ।"
सुमन ओलीका अनुसार त्यसरी सङ्कलन गरिएको रकमबाट एनआरएनए-एलाई १४ वटा कन्सन्ट्रेटरका लागि करिब १६,००० डलर हस्तान्तरण गरिसकिएको छ।

सुर्खेतको आइसोलेसन सेन्टरमा रहेका ५० जनालाई खानाका लागि सहयोग पुर्‍याउनुका साथै भीएफएले झापामा फुड ब्याङ्क खोलेर करिब १०० जनासम्मलाई खाना खुवाउने व्यवस्था गरेको पनि उनले बताए।
COVID-19 Nepal VFM Help Mechinagar Jhapa
Source: Suman Oli/VFM
यसरी नै प्रवासी नेपाली एकता मञ्च वा ओभरसिज नेपाली युनिटी फोरमको अस्ट्रेलियाली शाखाले पनि पाँच थान कन्सन्ट्रेटर र एउटा भेन्टिलेटर नेपाल पठाइसकेको बताउँछन् उक्त सङ्गठनका रमेश पाण्डे।

साथै, नेपालमा अक्सिजन प्लान्टको निर्माणका लागि पनि आफूहरूले सहयोग गरिरहेको उनले बताए।

पाण्डे भन्छन् कि प्रवासी नेपाली मञ्चको अस्ट्रेलिया शाखाले उक्त कार्यका लागि २०,५०० डलर नेपाल पठाइसकिएको छ।

"हवाई मार्गबाट लान नमिल्ने हुँदा हामीले ढुवानीका लागि पनि रकम छुट्ट्याएका छौँ," उनले भने।
Ramesh Pandey Overseas Nepali Unity Forum Australia
Source: Ramesh Pandey/Facebook
करिब एक करोड पचास लाख नेपाली रुपैयाँ बराबरको लागत मूल्य रहेको अक्सिजन प्लान्टको भन्सार शुल्क भने नेपाल सरकारले मिनाहा गरिदिने कबुल गरेको पनि रमेश पाण्डे बताउँछन्।

अर्को तर्फ नेपालमा कोरोनाभाइरसको पहिलो लहर सुरु भएदेखि नै सहयोग प्रदान गर्दै आएको अस्ट्रेलिया स्थित चिकित्सकहरूले पनि आफ्नो उक्त योगदानलाई निरन्तरता दिइरहेका छन्।

अस्ट्रेलियाका नेपाली स्वास्थ्यकर्मीहरुको सहयोग

नेपाली चिकित्सकहरूको सङ्गठन अस्ट्रेलियन नेप्लिज मेडिकल एसोसिएसन (एम्डा)ले पनि अजीमेड लगायतका अन्य सामुदायिक सङ्गठनहरूसँग हातेमालो गर्दै आर्थिक सहयोग सङ्कलनको कार्यमा जुटेको छ।

डा. कुश श्रेष्ठ एम्डाका महासचिवका साथै अजीमेड फाउन्डेसनका संस्थापक अध्यक्ष पनि हुन्।

उनी भन्छन् कि ठुलो मात्रामा मानिसहरू भारतबाट नेपाल भित्रने क्रम जारी रहँदा देशभर कै सबैभन्दा विपन्न कर्णाली प्रदेशमा सहायताको एकदमै खाँचो छ।
Dr Kush Shrestha Aussie Mate Foundation ANMDA
Source: Dr Kush Shrestha
श्रेष्ठका अनुसार लगभग ९०० स्वास्थ्यकर्मीहरूको दरबन्दी रहेको कर्णाली जम्माजम्मी ९० जना मात्र हाल कार्यरत छन्।

यसै भएर पनि गएको सालदेखि सुरु गरिएको 'मिसन कर्णाली' नामक एक अभियानका लागि यो पटक मात्रै पनि झन्डै ४०,००० हजार डलर सङ्कलन भइसकेको उनले बताए।

"काम कसरी गर्न सकिन्छ भनेर सिकाउने उद्देश्यले एक परीक्षण परियोजनाका रूपमा यो अभियान सुरु गरिएको हो," डा. श्रेष्ठले एसबीएस नेपालीसँग भने।

उक्त अभियान अन्तर्गत नै २० अक्सिजन कन्सन्ट्रेटर पठाउनुका साथै कन्ट्याक्ट ट्रेसिङ र आइसोलेसनका लागि सहयोग गर्ने योजना रहेको पनि उनको भनाई छ।

तर, कर्णालीका अतिरिक्त अन्य स्थान तर्फ पनि आफूहरूको ध्यान गएको पनि कुश श्रेष्ठले स्पष्ट पारे।

"हामी प्रोफेस्नल्ली लागिरहेकाहरूको ... केवल काम राम्रो होस्, पुरा होस् भन्ने हुन्छ," उनले भने।
"मान्छेहरूले (हाम्रो काम) मन पराओस्, नपराओस्; हामीलाई केही (कुराको) पनि चाहना हुँदैन; फोटो आओस् नआओस् (मतलब) हुँदैन।"
यसै गरी, अस्ट्रेलियाका सर्वाधिक धनीहरूको सूचीमा पर्दै आएका शेष घले र जमुना गुरुङको एमआईटी फाउन्डेसनले पनि तीन करोड नेपाली रुपैयाँ बराबरको २२० थान अक्सिजन कन्सन्ट्रेटरहरू दिएर सहयोग गरेको छ।
Shesh Ghale's MIT Foundation donated over 300,000 to Nepal COVID-19 relief
Source: Shesh Ghale/Facebook

सहयोगको रकम सही ठाउँमा नपुग्ने चिन्ता

अस्ट्रेलियाको नेपाली समुदायबाट लाखौँ डलरको सहयोग सङ्कलन भएसँगै रकम तथा सामाग्री सही ठाउँसम्म कसरी पुग्छ भन्ने चासो धेरै जनाको छ।

सुमन ओली भन्छन् कि आफूले सङ्कलन गरेको आर्थिक सहयोग बारे, चन्दा दिने मानिसहरू निकै संवेदनशील छन्।

"सहयोग दिएका मानिसहरूले हामीले दिएको पैसाको कहाँ सहयोग गर्‍यो भनेर प्रश्न गर्छन्," उनले एसबीएस नेपालीसँग भने।
"यसले एक–एक डलरका लागि हामी जिम्मेवार हुनुपर्ने (बोध) गराएको छ; रकम सही ठाउँमा पुगेको सुनिश्चितता गर्न हामीले खर्च गरेको पैसाको बिल माग्ने गरेका छौ।"
एडिलेडबाट एम्डाका लागि रकम जुटाउने कार्यमा लागेका डा. कुश श्रेष्ठ पनि सहयोगको दुरुपयोग नहोस् भन्नका लागि निकै चनाखो देखिन्छन्।

उनी भन्छन् कि अघिल्लो वर्ष नेपाल सरकारलाई हस्तान्तरण गरिएको स्वास्थ्य सामाग्री पछि कहाँ पुग्यो, कसले पायो भनेर केही पनि जानकारी पाइएन।

"त्यही भएर हामी फेरी अलग्गै सहयोग गर्नुपरेको थियो," डा. श्रेष्ठ भन्छन्।

एनआरएनएद्वारा हाल जारी वितरण सम्बन्धी कार्यमा स्वयम् लागि परेको बताउँदै उनले सामानहरू कहाँ पुग्यो भनेर ट्र्याकिङ प्रणाली सुरु गरिएको जानकारी दिए।
Kush Shrestha AussieMed Foundation
Source: Kush Shrestha/Facebook
"हाम्रो के प्लान छ भने जुन अक्सिजन कन्सन्ट्रेटर नेपाल पुगेको छ, त्यसमा स्टिकर राखेर ट्र्याक गर्ने सिस्टम निकालेका छौँ," कुश श्रेष्ठले भने।
"बाहिरबाट गएको सामानहरूको दुरुपयोग नहोस् भन्ने हामी सबैको चाहना हो।"
डेभेनपोर्टका नेपालीहरूसँग समन्वय गर्दै सहयोग कार्य जारी राखेका चेतन कँडेल पनि आफूहरूको कामले नेपालमा सबैभन्दा अफ्ठेरोमा परेकाहरूलाई सजिलो होस् भन्ने चाहना सबैको रहेको बताउँछन्।

उनी भन्छन् कि अधिकांश डेभेनपोर्टका नेपालीहरूले पैसा सही ठाउँमा नपुग्ने डर छ।

“नेपालको अवस्थाका कारण ठुला बडाले मात्र सहयोग पाउने...जसले पाउनु पर्ने उनीहरूले नपाउने हुन् कि भन्ने चिन्ता छ,” उनले भने ।

प्रवासी मञ्चका रमेश पाण्डे भने सरकारी प्रतिनिधिहरूबाट यसपालि अपेक्षाकृत राम्रै सहयोग पाइरहेको टिप्पणी गर्छन्।

उनी भन्छन् कि विविध वाधा व्यवधानका बिच पनि सरकारले दाताहरूसँग मिलेरै काम गरी रहेको छ।

"हामीले भनेकै अस्पतालमा नै सकेसम्म सामान दिने कुरामा स्थानीय अधिकारीहरू प्रतिबद्ध रहेको मैले पाएको छु," पाण्डेले भने।

Medical equipment donated to Nepal
Source: Girish Subedi


उता, नेपालमा भने अन्तर्राष्ट्रिय सहयोग स्वरूप पुगेका सामग्रीहरू आवश्यकता अनुसार केन्द्रीय तहको संयोजनमा प्रदेश र जिल्लाका अस्पतालमा वितरण हुँदै गरेको कोभिड-१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) का प्रमुख बालानन्द शर्माले बताए।

उनका अनुसार स्वास्थ्य सामग्रीहरू परराष्ट्र मन्त्रालय र सिसिएमसी को समन्वयमा स्वास्थ्य मन्त्रालयले आफ्नो केन्द्रीय रिजर्भ राख्छ।

"त्यहाँबाट केन्द्रसँग आबद्ध तथा प्रदेश, जिल्ला र स्थानीय तहमा रहेका अस्पताललाई सहयोग स्वरूप हस्तान्तरण तथा खपत भइसकेको स्वास्थ्य सामग्रीको मर्मत, फेरबदल तथा अन्य निर्माण कार्यमा सहयोग (हुँदै) आएको छ," उनले भने।
गैर-आवासीय नेपाली सङ्घ अस्ट्रेलियाका केशव कँडेल पनि पहिलेको तुलनामा सरकारी काम गराई केही परिष्कृत भएको बताउँछन्।

नेपाल सरकारले कन्सन्ट्रेटर ब्याङ्कको प्रणाली विकास गरेर पनि राम्रो सुरुवात गरेको उनको ठम्याई छ।

“कन्सन्ट्रेटर ब्याङ्कमा कन्सन्ट्रेटर नभएमा प्रश्न गर्ने ठाउँ पक्कै हुन्छ...कसले फिर्ता गरेन भन्ने रेकर्ड पनि हुन्छ," एनआरएनका अध्यक्ष कँडेलले भने।

डा. कुश श्रेष्ठ पनि 'ट्र्याक एन्ड ट्रेस" राम्ररी लागू हुन सकेको खण्डमा कामको प्रभावकारिता मूल्याङ्कन गर्न सहज हुने बताउँछन्।

यसै गरी स्थानीय बायो मेडिकल टोलीहरूसँग सम्झौता गरी सामाग्री पुगेपछि पनि त्यसको मर्मत सम्भार र देख भाल गर्ने गरी कार्य योजनामा काम भइरहेको उनको भनाई छ।

Share