संक्रमण नियन्त्रणमा समस्या
नेपालमा हाल दिनहुँ सरदर ८ हजार जना कोरोनाबाट सङ्क्रमित भईरहेका छन् भने कुल सङ्क्रमण ५ लाख पुगेको छ र मृतक संख्या ६ हजार नाघेको छ।
अस्पताल, शय्या र अन्य स्वास्थ सामग्रीको अभावले पनि विकराल रुप लिइरहेको छ भने हालसम्म नेपालको कुल जनसङ्ख्याको १० प्रतिशत भन्दा कम मानिसले खोप लगाएका छन्।
यो पनि पढ्नुहोस्
कोभिड-१९: अस्ट्रेलियाद्वारा नेपाललाई ७० लाख डलरको सहायता घोषणा
भारतमा देखिएको ट्रिपल म्युटेण्ट भेरिएण्ट पनि नेपालमा देखिएपछि खोपका बारेमा उठेका प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम भन्छन्, “धेरैले कोभिड-१९ विरुद्धको खोपले यो भाईरसको नयाँ प्रजाती विरुद्ध काम गर्छ कि गर्दैन भन्ने प्रश्न पनि गर्नुभएको छ। हालसम्म हामीलाई प्राप्त जानकारी अनुसार नयाँ प्रजातिको भाईरसलाई पनि यो खोप प्रभावकारी नै छ।“
प्रधानमन्त्री केपी ओलीले बेलायती राजदुत निकोला पोलिटसँग एस्ट्रोजेनेका खोप उपलब्ध गराउन अनुरोध गरेका छन्। भारतबाट कोभिसिल्ड खोपको दोस्रो चरणको मात्रा ल्याउन केहि समय लाग्ने भएको छ।
भित्रिदै देशमा अक्सिजन सिलिण्डर
अक्सिजन सिलिन्डरको चरम अभाव भएलगत्तै नेपाल सरकारले यसको आपूर्ति निजी क्षेत्रसँग मिलेर पुरा गर्नुपर्ने भएको छ। सोमबार नेपाली व्यापारीले १८ हजार अक्सिजन सिलिण्डर र स्वास्थ्य सामग्री तातोपानी नाका हुँदै चिनबाट नेपालमा भित्राएका छन्।
बिहिबार तिब्बत सरकारले नेपाललाई १५० सिलिण्डर लिक्विड अक्सिजन हस्तान्तरण गरेको छ। थप ३० वटा अक्सिजन कन्सन्ट्रेटर शानशीस्थित एक कम्पनिले शुक्रबार नेपाल पठाएको छ।
तिब्बतको गुडविल फाउन्डेसनले पनि नेपाललाई ५० थान अक्सिजन कन्सन्ट्रेटर दिने तयारी गरिरहेको छ।
सरकारले पहिलोपटक हिमाल आरोहण गर्न जाने पर्वतारोहिलाई आफूले बोकेका अक्सिजन सिलिण्डरहरु फिर्ता गर्न माग गरेको छ। यति हुँदाहुँदै पनि अक्सिजन सिलिण्डरको अभावका कारण दिनहुँ बिरामीको मृत्यु भइरहेको छ।
A Nepali man waits to refill medical oxygen cylinders at an oxygen plant in Kathmandu, Nepal. Source: AP/Niranjan Shrestha
आम निर्वाचनको घोषणा
राष्ट्रपति विद्यादेवी भण्डारीले शनिबार बिहानको करीब २ बजे संघीय संसद विघटन गरेर नोभेम्बरमा आम निर्वाचनको घोषणा गरेकी छिन्।
प्रधानमन्त्री केपी ओलीले अघिल्लो दिन राष्ट्रपति समक्ष संसदमा बहुमत दावी गर्दा काङ्ग्रेसका शेरबहादुर देउवा पक्षको समर्थनमा गरिएका हस्ताक्षरभन्दा कम हुने देखेपछि आम निर्वाचनको घोषणा गर्न सिफारिस गरेका थिए।
यो कदमको विरोधमा काङ्ग्रेस पक्षमा रहेका नेकपा माओवादी, एमालेका खनाल-नेपाल समूह, जसपाका भट्टराई-यादव समूहले राजनितिक र कानुनी लडाई लड्ने घोषणा गरेका छन्।
यो निर्णय हुनु अघि प्रधानमन्त्रीले शुक्रबार दिउँसो पत्रकार सम्मेलन गरी विपक्षी दलको नयाँ सरकार गठन भएमा त्यसलाई स्विकार्ने समेत भनेका थिए।
अल्पमतमा भएपनि सबैभन्दा ठूलो दलको नेताको हैसियतले प्रधानमन्त्री बनाईएका केपी ओलीले संसदमा विश्वासको मत लिनुपर्ने थियो, तर ओलीको विश्वासको मत नपुग्ने देखिएपछि राष्ट्रपतिले बहुमतको आधार पुर्याई सरकार गठन गर्न विपक्षीहरुलाई आह्वान गरेकि थिईन।
देउवा समुहका समर्थकले १४९ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालय पुगेका थिए भने प्रधानमन्त्रीले एमाले र जसपा गरेर कुल १५३ सांसदको आफूलाई समर्थन भएको दावी गरेका थिए।
देउवालाई प्रधानमन्त्री बनाउने मत पर्याप्त हुँदा-हुँदै पनि राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिशलाई सदर गरेकोमा जनस्तरमा व्यापक आलोचना भईरहेको छ।
Nepal's KP Sharma Oli taking the oath of office from President Bidhya Devi Bhandari after being reappointed as the Prime Minister Source: RSS
गोपनियताको शपथ सम्बन्धी अध्यादेश
राष्ट्रपति विद्यादेवी भण्डारीले आफूबाट पदधारण गर्ने व्यक्तिको शपथ सम्बन्धमा एक नयाँ अध्यादेश जारी गरेकी छिन्, जसमा यस अघि कायम रहेको ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्दलाई हटाईएको छ।
गत हप्ता राष्ट्रपतिबाट पद तथा गोपनियताको शपथ लिने बेला प्रधानमन्त्रीले ‘प्रतिज्ञा’ भन्ने शब्द छुटाएका थिए। देहोर्याएर राष्ट्रपतिले त्यही शब्दा भन्न लगाएता पनि प्रधानमन्त्रीले ‘त्यो पर्दैन’ भनेर टारेका थिए।
राष्ट्रपतिः म
प्रधानमन्त्रीः म के. पी. शर्मा ओली
राष्ट्रपतिः मुलुक र जनताप्रती पूर्ण वफादार रहि
प्रधानमन्त्रीः मुलुक र जनताप्रती पूर्ण वफादार रहि
राष्ट्रपतिः सत्य निष्ठापूर्वक प्रतिज्ञा गर्छु
प्रधानमन्त्रीः सत्य निष्ठापूर्वक
राष्ट्रपतिः प्रतिज्ञा गर्छु
प्रधानमन्त्रीः त्यो पर्दैन
यसको विरोधमा सर्वोच्च अदालतमा १२ वटा रिट दर्ता भएका थिए र सामाजिक सञ्जाल र कार्टुनहरुमा यस विषयले धैरै व्यङ्ग्यात्मक चर्चा पाएको छ।
जनता समाजवादी पार्टीले प्रधानमन्त्रीको सपथ असंवैधानिक भएको भन्दै फेरि सपथ गर्न समेत माग गरेको थियो।
प्रधानमन्त्रीलाई सहि देखाउन अचानक यस्तो अध्यादेश ल्याएकोमा राष्ट्रपतिको निकै आलोचना भईरहेको छ। र राजनीतिक रुपमा तटस्थ हुनुपर्ने राष्ट्रपतिको प्रधानमन्त्रीसँगको अस्वस्थकर मिलेमतो फेरि पनि निन्दाको विषय बनेको छ।
Pushpa kamal Dahal and Madhav Kumar Nepal have been opposing Prime Minister KP Sharma Oli. Source: RSS
नियुक्ती बदर हुनेमा एमाले र माओवादीका नेता
सातजना नेतालाई संविधान र कानुन विपरित मन्त्री पदमा पुनः नियुक्ति गरिएको भन्दै सर्वोच्च अदालतले उनीहरुको नियुक्ती बदर गर्ने अन्तरिम आदेश दिएको छ।
यसमा गृहमन्त्री रामबहादुर थापा; ऊर्जा, जलस्रोत र सिँचाईमन्त्री टोपबहादुर रायमाझी; उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट; सहरी विकासमन्त्री प्रभु साह; खानेपानी मन्त्री मणिचन्द्र थापा; श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुदमन्त्री दावा तामाङ परेका छन्।
एमाले र माओवादीको एकता बदर भएपछि यी नेताले पार्टी परिवर्तन गर्न पुगेका थिए, जसका कारण उनीहरुलाई पार्टिले निश्काषन गर्यो र सांसद पद स्वतः खारेज भयो।
गत हप्ता प्रधानमन्त्री केपी ओली फेरी प्रधानमन्त्री नियुक्त भएपछि आफू र यी नेताहरुलाई पुनः सपथ ग्रहणको प्रकृयामा लगेका थिए।
यस विरुद्ध परेको रिटमा फैसला गर्दे सर्वोच्च अदालतले सांसद नरहेका ती नेतालाई दोस्रो पटक नियुक्त गर्न नमिल्ने भनेर पदमुक्त गरिदिएको हो। यसै सुचीमा पर्ने गृहमन्त्री रामबहादुर थापाको पक्षमा मौन अवधीमा मत मागेको भन्दै प्रधानमन्त्री ओली र शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।
थापा राष्ट्रिय सभाको उप-निर्वाचनमा प्रतिस्पर्धा गरेर सांसद हुने कोसिस गरिरहेका थिए, जसमा उनी पराजित भएका छन्।
Ram Bahadur Thapa in Parliament. Source: RSS
साउदीले प्रतिबन्ध नलगाएपनि देशमै फसे श्रमिक
नेपाली कामदारलाई साउदी अरेबियामा जागिरको सुनिश्चितता भईसक्दा पनि नेपाल बाट उड्न नपाएपछि उनीहरु मर्कामा परेका छन्।
भारतीय कामदारलाई नेपाल हुँदै साउदी अरेबिया जान दिँदा पनि आफ्नै नागरिकलाई यसरी बन्धक राखेकोमा उनीहरुको असन्तुष्टि छ।
सरकारले कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको छ तर हिमालय एयरलाईन्स र नेपाल एयरलाईन्सले सातामा तीन उडानको अनुमति पाए अनुसार भारतिय कामदारलाई त्रिभुवन अन्तर्राष्ट्रीय विमानस्थलबाट साउदी अरेबिया लगिरहेका छन्।