मुख्य बुँदाहरू:
- कतार माथि विदेशी कामदारको मानवअधिकार हनन गरेको आरोप छ।
- फिफाले भने कतारको बचाउ गर्दै पश्चिमा आलोचकहरूलाई 'कपटी'को संज्ञा दिएको छ।
- आप्रवासी कामदारको मृत्युको विषयलाई गम्भीरताका साथ अनुसन्धान गर्न मानवअधिकार सम्बन्धी विभिन्न संस्थाहरूको माग गरेका छन्।
नेपालको विपन्न परिवारमा हुर्किएका अनिस, घरको आर्थिक अवस्था सुधार गर्ने उद्देश्यले कतार हानिएका थिए।
फिफा विश्वकपका लागि तैयार पारिँदै गरेको लुसियल स्टेडियम निर्माणका लागि कतार लगिएका अनिसलाई समयमै तलब, उचित बस्ने व्यवस्था र निःशुल्क खानाको वाचा रोजगारदाता कम्पनीले गरेको थियो।
तर जब उनी त्यहाँ पुगे उनको वास्तविक भोगाई अर्कै थियो।
दयनीय आर्थिक स्थितिबाट गुज्रिएको अनिसको परिवारमा विदेश जानु बाहेक अर्को विकल्प थिएन।
“खानाकै व्यवस्था गर्न नसक्ने भएपछि, केही न केही गर्नै पर्थ्यो, अनि विदेश आउनै पर्यो,” अनिसले भने।
“मैले मेरा बा–आमालाई वास्तविकता कुरा बताउन सक्दिनथे, अन्यथा उनीहरूलाई चिन्ता लाग्थ्यो, उनीहरू दुखी हुन्थे,”
“विदेश आउन लागेको ऋण बाहेक पनि परिवारको अन्य ऋण गर्दाखेरि त्यस्तै ७/८ लाख थियो, मैले घर जाने सोच्न पनि सक्दिनथे, काम छाडेर गए घरबारी गुम्थ्यो।”
मानवअधिकार र श्रम अधिकार सम्बन्धी परोपकारी संस्था इक्विडमका अनुसार अनिसले ज्याला र अन्य अवैध शुल्क गरी हजारौँ डलर पाउनै बाँकी छ।
अनिसका अनुसार “खाना निःशुल्क उपलब्ध गराइनु पर्ने हो,” तर आधुनिक दासत्वको नमुना, ऋण बन्धक भन्दै उनले पाउनु पर्ने तलबबाट खानाको रकम पनि काटिन्थ्यो ।
कलाको एक उद्गम नमुनाका रूपमा तैयार पारिँदै गरेको स्टेडियम निर्माणको स्मरण गर्दै अनिस भन्छन् “गर्मी यति धेरै थियो कि १० लिटर पानी पिउँदा पनि पिसाब आउँदैन थियो”।
उनका अनुसार जब कामदारले गुनासो गर्थे उनीहरूको तलब काटिन्थ्यो।
अधिकारवादी संस्था इक्विडमले एचबीके नामक अनिसलाई रोजगारीका लैजाने ठेकेदार कम्पनीलाई यसका बारेमा सोधपुछ गरेको भए पनि कुनै जवाफ आएको छैन।
यति खेर आप्रवासी कामदारप्रति ज्यादतीको विषयलाई लिएर कतार माथि अन्तर्राष्ट्रिय जगतले निन्दा गरिरहेको छ।
यस बाहेक कतारलाई विश्वकपको आयोजना गर्ने अनुमति प्रदान गरेकोमा पनि फिफाको आलोचना भइरहेको छ।
तर कतार र फिफा दुवैले मानवअधिकारका विषयमा उठेका मुद्दाहरूका बारेमा सम्बोधन गर्ने प्रयास भइरहेको बताएका छन्।
गत नोभेम्बरमा विश्वकप खेलको उद्घाटन सत्रका दौरान पत्रकार सम्मेलनमा बोल्दै फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले पश्चिमा आलोचकहरूलाई “पाखण्डी”को संज्ञा दिए।
यद्यपि उनले विश्वकप लगत्तै श्रमिक कल्याण इकाई खोल्ने पनि घोषणा गरे।
कतारमा आप्रवासी कामदारका के कस्ता विषयहरू उठिरहेका छन्?
कतारी सरकारले आप्रवासी कामदारको मृत्युका बारेमा आधिकारिक जानकारी सार्वजनिक नगरेका कारण रङ्गशाला निर्माणमा कति कामदारले ज्यान गुमाए भनेर यकिन भन्न नसकिने अवस्था छ।
यद्यपि जलवायु परिवर्तन र विश्व स्वास्थ्य सम्बन्धी न्यु जिल्यान्डका प्राध्यापक टोर्ड क्यालर्स्टम कतारमा आप्रवासी कामदारको मृत्यु हुनको मुख्य कारण अत्यधिक तापमान र गर्मी रहेको बताउँछन्।
र यसरी कामदारहरूको मृत्यु हुने अवस्थालाई रोक्न सकिने प्राध्यापक जेलस्टर्मको भनाई छ।
सन् २००९ देखि सन् २०१७ सम्म कामदारहरूमा गरिएको एक अध्ययनमा दिउसोको अत्यधिक गर्मी र हृदयघातका बिचमा ठुलो सम्बन्ध रहेको फेला परेको थियो।
अनुसन्धानका अनुसार सामान्यतया २५ देखि ३५ वर्ष उमेर समूहका मानिसमा हृदयाघात वा मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने सम्भावना केवल १५% मात्र छ।
तर कतारमा काम गर्ने नेपाली आप्रवासी कामदारको तथ्याङ्क हेर्ने हो भने चाहिँ त्यहाँ मृत्यु भएका मध्ये २२% को मुटु सम्बन्धी रोगका कारण मृत्यु भएको छ, त्यो पनि जाडो महिनामा।
गर्मी महिनामा मृत्यु भएका मध्ये ५८% नेपाली कामदारको मृत्युको कारण मुटु रोग देखिएको छ।
Credit: SBS News
आप्रवासी कामदारको मृत्युसँगै कतारमा कामदारको शोषण सम्बन्धी पनि विभिन्न मुद्दाहरू उठेका छन्।
तलब नदिइएका घटना, रोजगारी प्राप्त गर्नका लागि बुझाइएको ठुलो रकम र रोजगारदाताको अनुमति बिना काम छाड्न नपाउने जस्ता नियमहरू पनि आलोचनाको विषय बनिरहेको छ।
आप्रवासी कामदारको शोषणका मुद्दामा विश्वकप सुरु हुनु अगावै अस्ट्रेलियाली फुटबल टोली सकरूजले पनि भिडियो सन्देश जारी गदै विरोध जनाएको थियो।
“शोषणमा परेका आप्रवासी कामदारलाई केवल सङ्ख्यामा मात्र गनिनु हुँदैन, हाम्रो देशलाई बनाउन र फुटबलको विकासमा जसरी आप्रवासी कामदारहरूको योगदान छ, आफ्नो जीवन स्तर सुधार गर्न पनि उनीहरूले साहस राखेका छन्, दृढ छन्।” विश्वकप सुरु हुनु अघि जारी भएको भिडियो सन्देशमा भनिएको छ।
कतार र फिफाको प्रतिक्रिया के छ त?
फिफाका अध्यक्ष इन्फेनटिनो कतार माथि औला उठाउनु भन्दा पहिला आफ्नो मुलुकमा मानवअधिकारको स्थितिका बारेमा ध्यान दिन पश्चिमा राष्ट्रलाई आग्रह गर्छन्।
“मलाई के लाग्छ भने हामी युरोपियनहरूले विगत ३,००० वर्षदेखि विश्वमा जे गर्यौ, यसका लागि अर्को ३,००० वर्ष माफी मागे पनि पुग्दैन, त्यसैले अरूलाई सिकाउन बन्द गरौँ,” उनले भने।
आज म आफूलाई कतारी महसुस गरिरहेको छु, एक अरब महसुस गरिरहेको छु, अफ्रिकन महसुस गरिरहेको छु, समलिङ्गी महसुस गरिरहेको छु, आशक्त महसुस गरेको छु, एक आप्रवासी कामदार महसुस गरेको छु।
तर फिफा अध्यक्षको यस भनाइलाई ह्युमन राइट वाचले 'बेतुक'को बोली भनेको छ भने दक्षिण अफ्रिकन फुटबल पत्रकार मेलिसा रेडिले 'अपमानजनक' भएको प्रतिक्रिया दिइन्।
फिफाका अध्यक्षले कतारसँग मिलेर मानवअधिकारको वर्तमान अवस्थालाई सुधार गर्ने प्रयास भने भइरहेको बताएका छन्।
फिफाले अन्तर्राष्ट्रिय श्रम सङ्गठनसँग (आइएलओ ) मिलेर विश्व बजारमा कामदारहरूका सम्बन्धमा चलेको सबैभन्दा उत्तम अभ्यासलाई लागु गर्नका लागि लेबर एक्सीलेन्स हवमा लगानी गर्ने बताएको छ।
यस बाहेक आगामी विश्वकप आयोजना गर्दा संयुक्त राष्ट्र सङ्घको व्यापार र मानवअधिकारका दिशानिर्देशहरू पालना गर्ने पनि प्रतिबद्धता जनाएको छ।
एसबीएसले प्राप्त गरेको जानकारी अनुसार अन्तर्राष्ट्रिय श्रम सङ्गठनले दोहामा एक स्थायी कार्यालयको स्थापना गर्नेछ भने त्यहाँ कामदारहरूको प्रतिनिधित्व पनि हुनेछ।
कार्यालय स्थापनाका लागि केही 'औपचारिक काम बाँकी रहेको' फिफा अध्यक्षले बताए।
यता भवन निर्माण सम्बन्धी कामदारहरूको अन्तर्राष्ट्रिय सङ्गठन विल्डीङ्ग एन्ड उड वर्कस इन्टरनेसनलले (बीडब्लुआइ) पनि विगत एक दशकदेखि कामदारहरूका लागि एक केन्द्रको स्थापना गर्न कतार सरकारसँग आग्रह गरिरहेको छ।
“यो कतार र विश्वकै लागि एउटा विरासतका रूपमा रहनेछ, जुन विश्वकपको खेल सकिए पश्चात् पनि रही रहनेछ, तर यस्तो दिगो परिवर्तन हुने छाँटकाँट भने देखिएको छैन,” सङ्गठनले भनेको छ।
कतारमा काम गर्ने मजदुरहरूलाई कुनै पनि सङ्गठन बनाउने या सङ्गठनमा आबद्ध हुने अधिकार दिइँदैन।
कतार विश्वकप पछि आप्रवासी कामदारहरूको अधिकारको अवस्था कस्तो रहला?
कतारको एक सर्वोच्च कमिटीले विश्वकपको अन्तिम बल खेलिसके पछि पनि प्रगति, सुधार, र जीवनस्तर सुधार्ने काम निरन्तर अगाडी बढी रहने प्रतिबद्धता जनाएको छ।
सन् २०२० मा 'काफाला' भनिने रोजगारदातासँग सम्बन्धी एक कानूनमा सुधार गरेपछि कतारको विश्वले प्रशंसा गरेको थियो।
उक्त कानूनमा सुधारले कामदार एउटै रोजगारदातासँग काम गरिरहनु पर्ने बाध्यताको अन्त्य भएको थियो।
सुधारले कामदारहरू उनीहरूका वर्तमान रोजगारदातासँगको अनुमति बिनै अर्को रोजगार खोज्न र न्यूनतम तलब वृद्धि गर्ने पनि बाटो खोलिदिएको थियो।
गल्फ अन्तर्गतका देशमा कतारमा मात्रै यस कानूनमा सुधार गरिएको हो।
यो कानुनले जुनसुकै मूलकबाट काम गर्न आएको भए पनि, सबै कामदारलाई एकै किसिमको व्यवहार र सुविधाको व्यवस्था गर्ने बताइएको थियो।
नयाँ कानून लागु भएसँगै करिब ३५०,००० कामदारहरूले रोजगारी परिवर्तनका लागि आवेदन दिएको अन्तर्राष्ट्रिय श्रम सङ्गठनले जनाएको छ।
तर मानवअधिकार सम्बन्धी अन्य केही संस्थाहरूले भने विश्वकप पछि कतारमा आउने सुधारको ग्यारेन्टीका लागि सबैभन्दा पहिले कामदारहरूको मृत्युलाई सरकारले राम्ररी अनुसन्धान गर्नु पर्ने बताउँछन्।
हालै स्टेडियम मर्मत गर्ने क्रममा एलेक्स नामका एक फिलिपिनो कामदारको मृत्युमा पत्रकारहरूले सोध खोज गरेपछि, विश्वकपका कतारी प्रमुख नसेर अल खेतर केही रिसाए।
उनले पत्रकारहरूसँग 'मृत्यु, जीवनको प्राकृतिक रूप भएको भन्दै, सुत्दा सुत्दै वा काम गर्दा गर्दै मृत्यु हुन सक्ने' प्रतिक्रिया दिएका थिए।
“अहिले हामी विश्वकपको बिचमा छौ, विश्वकप सफलताका साथ चलिरहेको छ, तपाईँहरूले यसका बारेमा कुरा गर्ने हो,” उनले भने।
मानवअधिकारवादी संस्थाहरूले भने थुप्रै कामदारहरूको मृत्युको विषयलाई प्राकृतिक वा हृदयाघात भनी सरकारले अनुसन्धान नगरेको आरोप लगाउँछन्।
सङ्गठनहरूले एलेक्सको मृत्युको क्षतिपूर्ति दिइनु पर्ने माग जोडतोडले गरेका छन्।
“यतिखेर फुटबल बाहेक, आप्रवासी कामदारको मृत्युमा निर्लज्ज बनेका गतिविधिहरू पनि विश्वले ध्यान दिएर हेरी रहेको छ,” सङ्गठनले भनेको छ।
“आलोचनालाई अन्तै मोड्नु भन्दा फिफा र कतारले कामदारलाई क्षतिपूर्ति दिएर, आफ्ना गल्ती सुधार गर्नुपर्दछ।”
कतारी सरकारले एलेक्सको मृत्युका बारेमा अनुसन्धान गर्ने जनाएको छ।