अस्ट्रेलियाको सङ्घीय प्रहरी (एएफपी) ले अनुसन्धान पछि लेबर सिनेटर क्रिस्टिना कनेली विरुद्ध कथित अनलाइन धम्कीको आरोपमा दुई जनालाई अभियोग लगाइएको हो।
सिड्नीको पश्चिममा रहेको ह्यारिङ्टन पार्कका २९ वर्षीय पुरुष र मेटल्याण्डकी ४१ वर्षीया महिलालाई प्रहरीले मङ्गलवार उनीहरूको घरको खानतलासी गर्न वारेन्ट जारी गरेपछि अभियोग लगाइएको बताइएको छ।
एएफपीका अनुसार ती अभियुक्तहरू गत वर्षको नोभेम्बर २३ तारिखमा दुई बेग्ला-बेग्लै सन्देशहरू पठाउन जिम्मेवार थिए।
"ती सन्देशले धम्की वा हिंसात्मक कार्यको वकालत गरेको थियो," एएफपीले भनेको छ।
२९ वर्षीयलाई सङ्घीय सार्वजनिक अधिकारीलाई हानि पुर्याउने धम्की दिएको अभियोग लगाइएको छ भने ४१ वर्षीयालाई धम्की, हैरानी वा अपराध गर्न मद्दत गरेको अभियोग लगाइएको छ।
सम्बन्धित अपराधहरू प्रमाणित भए उनीहरूलाई क्रमशः अधिकतम सात र पाँच वर्षसम्मको जेल सजाय हुन सक्ने बताइएको छ।आउँदो १३ अप्रिलमा सिड्नीको केन्द्रीय स्थानीय अदालतमा यो मुद्दाको सुनुवाई हुनेछ।
Source: AAP
उता, सिनेटर कनेलीले आफूले ती सन्देशहरू पाएको पुष्टि गरेकी छिन् तर मुद्दा अदालतमा विचाराधीन रहेकाले कथित धम्कीको विषयवस्तु वा परिस्थितिका बारे अहिले थप केही भन्न नसकिने बताएकी छिन्।