अस्ट्रेलियाकै कुरा गर्दा घोर दक्षिणपन्थीहरू तथा खोपमा विश्वास नगर्ने मानिसहरूले, सामाजिक सञ्जालको प्रयोग गरेरै, समुदायमा अतिरञ्जना र भ्रामक जानकारीहरूको खेती गर्ने गरेको समाचारहरू बारम्बार आएकै छन्।
तर नेपालमा भने सार्वजनिक चासोका सन्दर्भहरूमा बाहेक, मानिसका नितान्त व्यक्तिगत कुरामा समेत केन्द्रित रहँदै, अनलाइनमा “भाइरल” हुने र आर्थिकोपार्जन गर्ने प्रवृत्ति मौलाउँदै गएको देखिएको छ।
विक्रम श्रेष्ठसँग विवाह गरी सन् २०१९ मा अस्ट्रेलिया आएकी सुस्मिता श्रेष्ठ विस्तारै अस्ट्रेलियाली परिवेशमा घुलमिल हुँदै थिइन्।
सामाजिक सञ्जालमा सक्रिय रहेका श्रेष्ठ दम्पतीले आफ्नो विवाहको भिडियो पछिसम्म पनि हेर्न सकियोस् भनेर आफ्नै युट्युब च्यानलमा राखेका थिए।
तर युट्युबमा राखिएको सोही भिडियोका कारण उनीहरूको जीवन झन्डै उथल पुथल नै भयो।
Source: supplied by talent
नेपालबाट आफन्त र परिवारका सदस्यहरूले फोन गरेर जानकारी गराएपछि झसङ्ग भएको सम्झिँदै सुस्मिता श्रेष्ठले एसबीएस नेपालीसँग भनिन्, "कुरा एक-डेढ वर्ष अगाडीको हो, चितवनमा सुस्मीता नाम गरेकी महिलाको हत्या काण्ड भएको थियो,"
"सुस्मीता–सुस्मीता नाम मिले(छ), (अनि) एक जना युटयुबरले मेरो विवाहको भिडियो सार्वजनिक गरेर, 'यसरी भएको थियो सुस्मीताको विवाह' भन्दै (उसको च्यानलमा) हालेको थियो।”
अस्ट्रेलियाको समय अनुसार रातिको १० बजेतिर हालिएको उक्त भिडियोमा, सयौँ प्रयोगकर्ताले जिउँदो मानिस प्रति श्रद्धाञ्जलीका कमेन्टहरू लेखिरहेका थिए।
"उक्त भिडियोमा एकदमै धेरै लाईक, शेयर र भ्यूज, हार्दिक श्रद्धाञ्जली, रेष्ट इन पिस जस्तो कमेन्टहरू एकदमै धरै आएको थियो,” उनले भनिन्।
"त्यतिखेर मलाई एकदमै नराम्रो लाग्यो।"
श्रेष्ठका अनुसार उनले तत्कालै उक्त च्यानलका सञ्चालकलाई युट्युबमा राखिएको मोबाइल नम्बरमा सम्पर्क गरिन्।
म ट्रेनमा हिँड्दा अरू मानिसले हेर्दा खेरी पनि भिडियो हेरेरै मलाई हेर्या होला जस्तै लाग्थ्यो
तर उनी अचम्म त त्यति बेला परिन जब भिडियो भाइरल भइरहेकाले यस मामिलालाई यसै छाडिदिनुहोस् न त भन्ने प्रतिक्रिया उक्त युट्युबरले दिए।
"जब मैले उक्त युट्युब (सञ्चालक)लाई सम्पर्क गरेँ, उसले मलाई विषय भाइरल भइरहेकाले छाडिदिनुहोस्, म विषय (TITLE??) परिवर्तन गरी दिन्छु भन्ने जवाफ दियो,” उनले भनिन्।
प्रहरीको सहायता लिने बताएपछि भने ती व्यक्तिले आफ्नो भिडियो, च्यानलबाट हटाइदिएको सुस्मिता श्रेष्ठको दावी छ।
तर पनि उनीहरूको समस्या भने समाधान भएन।
श्रेष्ठ दम्पतीको विवाहको भिडियो उक्त युट्युब च्यानलले बिना स्वीकृति कपि गरेको केही समय भित्रै अन्य थुप्रै युट्युब च्यानल र फेसबुक सञ्चालकहरूले आफूले चलाउने एकाउन्टबाट सार्वजनिक गरिसकेका थिए।
यो घटना पछि सुस्मितालाई लामो समयसम्म मानसिक असर पर्यो।
"म ट्रेनमा हिँड्दा अरू मानिसले हेर्दा खेरी पनि भिडियो हेरेरै मलाई हेर्या होला जस्तै लाग्थ्यो, ” उनले भनिन्।
अहिले पनि युट्युबमा भाइरल भएका यस्ता सामाग्री हेर्दा आफू झस्किने उनी बताउँछिन्।
केही वर्ष यता नेपालमा विभिन्न माध्यमबाट भाइरल भइरहेका समाचार र भिडियोहरूको तथ्य जाँच नेपाल फ्याक्टचेकले गर्दै आइरहेको छ।उक्त संस्थाका सम्पादक उमेश श्रेष्ठ भन्छन् कि सबैभन्दा बढी तोडमोड युट्युबमा आउने भिडियोहरूमा हुने गरेको छ।
Umesh Shrestha is a editor of Fact check Nepal. Source: Facebook, Supplied
सन् २०१९ मा ट्विटर प्रयोगकर्ताहरू माझ गरिएको एक सर्वेक्षणको हवाला दिँदै उनले युट्युबमा अपलोड हुने भिडियोहरूमा सबैभन्दा बढी गलत सूचनाहरू प्रवाहित हुने बताएका हुन्।
सनसनीपूर्ण समाचार बनाउने नाममा नेपालमा हाल पीत पत्रकारिता हाबी भइरहेको पनि श्रेष्ठले एसबीएस नेपालीलाई बताए।
युट्युबसँगै फेसबुकमा हालिने सामाग्रीहरुमा यस्तो समस्या निकै देखिएको पनि उनको भनाई छ।
सामाजिक सञ्जालको दुरुपयोग विश्वभर नै जारी छ, चाहे अस्ट्रेलिया होस् वा नेपाल, यसबाट अमेरिका वा युरोपेली मुलुक समेत अछुतो रहन सकेका छैनन्।
यता अस्ट्रेलियामा रहेर पत्रकारिता एवम् आम सञ्चार अध्यापनमा सक्रिय डा. भारतराज पौडेल भने अ-परिपक्व नागरिक पत्रकारीताका कारण यस्तो समस्या देखिन थालेको बताउँछन्।
Source: Facebook
"हाल नेपालमा केही युट्युवरहरु पक्राउ पर्नु एउटा प्रतिनिधि घटना मात्र हो, नेपालको अ-परिपक्व नागरिक पत्रकारिता यसको कारण हो,” उनले भने।
“हरेक दिन सामाजिक सञ्जालमा आएका भिडियो हेर्नु भयो भने दिक्क लाग्दा विषयहरू देखिन्छन्।”
हाल सिड्नी बसोबास गर्दै आएका सामाजिक टिप्पणीकार मदनमणि अधिकारी भने ट्वीटर, फेसबुक वा युट्युबमा हुने क्रियाकलापहरू सामाजिक गतिविधि कै विस्तारित क्षेत्र मान्छन्।
उनी भन्छन् कि पत्रकारिताको नाममा भइरहेका यस्ता गतिविधिलाई कानूनी प्रक्रियामा ल्याउनु पर्छ।
"अहिले देखिएको जस्तो क्यामेरा बोकेर घर-घरमा, चोटा-चोटामा छिर्नु भनेको व्यक्तिको निजत्व र गोपनीयताको हकको विरुद्ध हो, त्यस्ता क्रियाकलापबाट सिर्जित नतिजाको भागीदार जो कोही हुन जरुरी छ।”
नेपाल फ्याक्ट चेकका उमेश श्रेष्ठ यस्ता घटनालाई सम्बोधन गर्ने नेपालमा उचित कानून नभएको बताउँछन्।
यस्ता प्रकारका सबै मुद्दालाई एकै किसिमको कानुनी नजरबाट हेर्ने नीतिमा पनि समस्या रहेको उनको बुझाई छ।
"नेपालमा यस्ता घटनाहरूमा विद्युतीय कारोबार ऐन अन्तर्गतको दफा ४७ लगाउने गरिन्छ, अरू कानुन नभएको कारणले पनि प्रसङ्ग नै नमिल्ने घटनामा यही कानुन लगाउने गरिन्छ।”
नेपालमा मात्र नभएर विश्वका अन्य मुलुकमा पनि गलत सूचना सम्प्रेषण गर्ने प्रयासहरू नहुने भने होइनन्।
अहिले देखिएको जस्तो क्यामेरा बोकेर घर-घरमा, चोटा-चोटामा छिर्नु भनेको व्यक्तिको निजत्व र गोपनीयताको हकको विरुद्ध हो
उदाहरणका रूपमा अमेरिकामा सन् २०१६ भएको निर्वाचनमा अत्यन्तै धेरै झुटा समाचारहरू सम्प्रेषण भएको स्ट्यानफोर्ड विश्वविद्यालयको एक अध्ययनले देखाएको थियो।
३ करोड पटक साझा गरिएका यस्ता झुटा समाचारले चुनावी प्रक्रियामा असर पारेको देखिन्छ।
दुई बर्सअघि अस्ट्रेलियामा भएको आगलागीको घटनामा पनि गलत तस्बिरहरू सार्वजनिक भएका उदाहरण छन्।
आगलागीको उक्त घटनामा कतिपय सार्वजनिक व्यक्तिहरूले पनि गलत समाचार र तस्बिरहरू साझा गरेको पाइएको थियो ।
पछिल्लो समय कोभिड–१९ महामारी सुरु भए यता विश्वभर नै कोरोनाभाइरस र त्यसपछि खोपका बारेमा विभिन्न नकारात्मक सूचना सम्प्रेषण गर्ने प्रयासहरू भएका छन्।
केही समय अघि युट्युबले आफ्नो प्लेटफार्म मार्फत खोप विरुद्धका कुनै पनि सामाग्रीलाई बन्देज गने निर्णय गरेको थियो ।
कतिपय विज्ञहरूले युट्युबको कदम निकै ढिला आएको भनेर आलोचना पनि गरेका छन्।
क्वीन्सल्याण्ड युनिभर्सिटी अफ टेक्नोलोजीका डिजिटल मिडिया रिर्सर्चका प्राध्यापक एक्सल बु्रन्स युट्युबले चालेको कदमको प्रशंसा गदै यो कदम पहिल्यै चालिनु पर्ने बताउँछन्।
"यो निश्चित रूपमा सही दिशा तर्फको कदम हो, खोप विरुद्धका थुप्रै सामाग्रीहरू युट्युबमा रहेका छन्, समस्याग्रस्त सामाग्रीहरू प्रसारणलाई सीमित गर्ने कदममा यसले पक्कै सहयोग गर्नेछ, तर यो महिनौँ अघि गर्न सकिन्थ्यो”
यस्ता अफवाह अन्य मुलुकमा पनि फैलाइने गरेको तर गोपनीयता वा मानहानि सम्बन्धी कानुनबाट यसलाई नियन्त्रण गरिनुपर्ने अधिकारीको भनाई छ।
"धेरै मुलुकका संविधानमा धारा १९ मार्फत यसलाई सम्बोधन गर्ने गरिएको छ, वाक तथा अभिव्यक्ति स्वतन्त्रताको विषय भएकाले गोपनीयता, प्रतिलिपि र मानहानि सम्बन्धी कानुनहरूले यसलाई नियन्त्रण गर्ने हो,” उनले भने।
आम पाठक वा दर्शकमा पनि मिडिया उपभोग सम्बन्धी ज्ञानको कमीका कारण जस्तो सुकै सामाग्री आए पनि त्यस माथि विश्वास गरी हाल्ने बानी परेको पनि उनी बताउँछन्।
कतिपय अवस्थामा समाजका शिक्षित मानिएका मानिसहरूले यस्ता भ्रामक समाचारहरू शेयर गर्ने उमेश श्रेष्ठको भनाई छ।
अस्ट्रेलियाकै नेपाली समुदाय बिचमा पनि यदाकदा भ्रामक समाचारका लिङ्कहरू आफ्नो सामाजिक सञ्जालहरूमा शेयर गर्ने गरेको भरतराज पौडेलको भनाई छ।
तर बिस्तारै मानिसहरू यस प्रति सचेत भने बन्दै गएको पनि उनी औंल्याउँछन्।
"मानिसहरू अहिले समाचार साझा गर्दा केही सचेत हुने गरेको पाइएको छ, यस्तो समाचार आएको छ बुझौँ है भन्नै खालका नोट लेख्ने चलन छ,” उनले भने।
लामो समयसम्म मानसिक असर भोग्न पुगेको बताउने सुस्मिता श्रेष्ठ भने सामाजिक सञ्जाल मार्फत सूचना जारी गर्ने यस्ता संस्था र व्यक्तिहरूलाई जिम्मेवार हुन आग्रह गर्छिन्।
"रिसर्च नै नगरी केही लाइक र भ्युजका लागि गलत भिडियो वा समाचार छापिदिँदा अरूको मानसिकता के असर पर्छ भनेर यस्ता सामाग्री बनाउने मानिसले सोच्नु पर्छ ।”