मेलबर्न निवासी कृपा गुरुङ र बबी लामालाई आफूले एक्लैले बुवा र आमा दुवैको भूमिका निर्वाह गर्नु पर्दा सुरुवातमा निकै गाह्रो हुने गरेको बताएका छन्।
आफ्नो आत्मविश्वासलाई बढाउँदै ती चुनौतीहरूको सामना गर्न सफल भएको पनि उनीहरूलेपोड्कास्टसँग बाँडेका हुन्।
चार वर्ष अगाडी श्रीमानसँग छुट्टिने निर्णय गर्दा सुरुवाती दिनहरूमा निकै गाह्रो भएको कृपाको भनाइ छ।
"सुरु सुरुमा चाहिँ धेरै गाह्रो भयो। आफूलाई केही थाहा थिएन। एक्लैले बच्चालाई कामलाई सबैलाई हेर्नु पर्दाखेरि चाहिँ (गाह्रो भयो)।"
तर समयसँगै बिस्तारै सबै कुराहरू मिल्दै गएको अनुभव उनको छ।
Kripa Gurung with her daughter. Source: Supplied
कृपा भन्छिन् कोभिडको समयमा छोरीलाई चाइल्ड केयर लान नमिल्दा आफ्नो काम मिलाउन निकै सङ्घर्ष गर्नु परेको थियो।
कामको समय मिलाइदिन आग्रह गर्दा उनको रोजगारदाताले सिधै मिल्दैन भनेको कृपाले सम्झिइन्।
"उनीहरूले चाहिँ के भन्यो भने तँ मात्रा छैन नि त यहाँ, तँ जस्तो यहाँ कति धेरै छन् यो बिल्डिङमा काम गर्ने। तँलाई (समय मिलाई) दियो भने अरूको लागी फेयर हुँदैन।"
बबीले भने वैवाहिक सम्बन्धबाट टाढिने निर्णय लिँदा आफू नै निकै ठुलो पिडामा भएका कारण छोरीलाई नेपाल पठाउने निर्णय गरेको बताइन।
"सेपेरेसनबाट जानू भनेको चाहिँ परिवारको एक जनाको मृत्यु भएको जस्तै हुन्छ। त्यसैले पहिले एक वर्ष आफ्टर सेपेरेसन चाहिँ मैले आफूलाई नै टाइम दिएँ।"
त्यो समयमा आफूलाई चिन्नु र सम्बन्ध विच्छेदको पिडाबाट कसरी निस्कने भनेर थाहा पाउनु सबैभन्दा महत्त्वपूर्ण हुने भएकोले उनले आफ्नो छोरीलाई नेपाल पठाएकी थिइन्।
तर छोरीलाई नेपालबाट फर्काएर अस्ट्रेलिया ल्याउँदाको सुरुवाती दिनमा भने उनलाई छोरीसँगको सामीप्यता महसुस गर्न केही समय लाग्यो।
"फर्स्टमा यो एकदम च्यालेन्जिङ्ग थियो किनभने मेरो छोरी मबाट डेढ वर्ष टाढा हुँदाखेरि हाम्रो त्यो आमा छोरीको बन्डिङ नै थिएन क्या।"
Bobby Lama with her daughter. Source: Supplied
दुवैमा एक अर्काका लागी माया भए पनि कम समय सँगै बिताएकोले त्यो माया देखाउन भने अप्ठ्यारो भएको उनले महसुस गरेकी छिन्।
उनलाई सेन्टर लिङ्कबाट पाउन सकिने सुविधाहरूको बारेमा पनि निकै समय पछि मात्र थाहा भयो। तर सेवा सुविधा प्राप्त गर्न पनि कम चुनौतीपूर्ण थिएन।
"आफैँ त्यस्तो सिचुएसनबाट गइराखेको छ, राइट स्टेट अफ माइन्ड छैन। अनि यति धेरै इन्फरमेसन कि कुन चाहिँ मेरो लागी राइट हो भन्ने नै थाहा छैन।"
बबीले आफ्नो आमा पनि त्यो समयमा आफू सँगै भएको कारण धेरै कुरामा सहयोग पुगेको Mum माने आमालाई बताइन।
कृपा र बबी दुवै जना एकल आमाहरूको एक समूहमा आबद्ध भएका कारण अहिले भने एक अर्काको कुरा साटासाट गर्न निकै सजिलो हुने गरेको अनुभव सुनाउँछन्।
बुवाहरूका कुरा
न्यु साउथ वेल्सको सेन्ट्रल कोस्ट निवासी असीम गौतमलाई दुई महिना अगाडी पहिलो पटक अभिभावक बन्दाको अनुभव ताजै छन्।
Ashim Gautam with his son Source: Supplied
उनले अस्पतालमा आफ्नो श्रीमतीले छोरालाई जन्म दिँदा श्रीमती त 'बबाल' नै रहेछ भन्ने लागेको Mum माने आमालाई बताए।
"ओहो ! जस्तो पेनबाट उनी गइन्, म त बुढीको पुरै फ्यान भइसके नि।.. . १६/१७ वर्ष भइसक्यो एक अर्कालाई चिन्या। अब त्या (अस्पतालमा) त्यो (बच्चा पाएको) देखेपछि त ल बबाल, खत्रा, हरिप नै हो जस्तो लाग्ने क्या। हामी त केही होइन त्यसको अगाडी।"
आफ्नो श्रीमतीलाई आराम पुगोस् भनेर राती पालो पालो उठेर बच्चालाई खुवाउने गरेको बताए।
तर पहिलो पटक बुवा बन्दा धेरै कुरा जान्नु पर्ने रहेछ भनेर पनि उनले बुझेका छन्।
केही हप्ताको छोरालाई पानी खुवाएको सम्झँदै उनले भने, "पानी खुवाउनु हुन्छ कि हुँदैन भनेर गुगल गर्दा पुरै काण्डै काण्ड रहेछ त्या। मुख, तालु , ओठ सब सुक्यो अब ख्वाई हालियो है अगाडी नै गुगल गर्नु पर्ने।"
तर साथीहरूको सल्लाह र विज्ञबाट स्वास्थ्य सुझाव लिँदा यस्तो अवस्थामा सहयोग पुग्ने अनुभव असीमको छ।
मेलबर्नका धिरज पनि समान अनुभव भएका बुवाहरूको समूहमा आफ्ना कुराहरू राख्दा धेरै कुरा सिक्न सजिलो हुने भनाइ राख्छन्।
तर अभिभावक आफैँले पनि कतिपय सुझाव दिँदा र लिँदा सुझ बुझ प्रयोग गर्नु पर्ने उनले बताए।
"हामी सबै जना अस्ट्रेलियामा पढे लेखेको ग्रुप छौँ। तर कहिले काहीँ नमागेका र नचाहेका सुझावहरू पनि टन्नै आइ राखेको हुन्छ त्यसलाई चाहिँ फिल्टर गर्ने कोसिस गरौँ।"
साथै उनले कोभिड-१९ को समयमा आफ्नो छोरासँग निकै धेरै समय बिताउन पाएकाले बच्चासँगको सामीप्यता पनि बढाएको अनुभव राखेका छन्।
बुवाको प्रत्यक्ष संलग्नतालाई लिएर नेपाली समुदायमा कस्तो बुझाइ पाइन्छ भन्ने प्रश्नमा धिरज भन्छन् बच्चाको स्याहारमा अहिले बुवाहरूको भूमिका महत्वपूर्ण हुने बुझाइ नेपाली समुदाय पनि बढेको छ।
तर आफ्नो अवस्थालाई सधैँ अर्कोसँग तुलना गर्न भने नहुने बिचार धिरजले राखेका छन्।
धिरजको कुरामा सहमति जनाउँदै राज कुमार प्रजापतिले सामाजिक सञ्जालले गरेर पनि कति पय समयमा अरूको बच्चासँग आफ्नो बच्चालाई तुलना गर्ने प्रवृत्ति रहेको बताएका छन्।
Raj Kumar Prajapati with his son Source: Supplied
"मलाइ पनि कहिले काहीँ त्यस्तो फील हुन्छ क्या। उसको बच्चाले यत्रो उमेरमा हिँड्यो बोल्यो मेरो बच्चाले चाहिँ केही गर्न सकेन।"
तर त्यस्तो समयमा उनको श्रीमतीले त्यसरी तुलना नगर्न सुझाव दिने र कहिले काहीँ श्रीमतीले तुलना गर्दा आफूले त्यसो नगर्न भन्ने गरेको उनको भनाइ छ।
उनको ७ वर्षीय छोरामा जटिल स्वास्थ्य अवस्थाहरू रहेका कारण उनको स्याहारलाई लिएर झन् धेरै ध्यान पुर्याउनु परेको राजले बताए।
बोल्न र हिँडडुल गर्न नसक्ने छोराको स्याहारलाई लिएर रहेको चुनौती त छदै छ उनलाई भने यसप्रति नेपाली समाजको व्यवहारले बढी निराश बनाउँछ।
उनी भन्छन्, यसै कारणले उनको सामाजिक रुपमा घुलमिल हुने रहर हराएको छ।
"अरू बच्चाहरूसँग खेल्ने अरू बच्चाहरूलाई माया गर्ने हैन, अनि मेरो बाबु चाहिँ कुनामा खेलेर बसिराखेको थियो क्या। मलाई यति नराम्रो फील भयो त्यो दिन चाहिँ।"
एउटा जमघटको समयमा आफ्नो बच्चालाई बेवास्ता गर्दाको अनुभव उनले यसरी पोखे।
कसैले आफ्नो बच्चालाई 'हेलो' समेत नभन्ने र कतिपयले त 'सर्कस' नै गरेको जस्तो गरेर हेरिदिने व्यवहार चित्त नबुझ्ने उनले बताए।
Raj Kumar Prajapati with his son Source: Supplied
राज भन्छन् अस्ट्रेलियाका नेपाली समुदायले असक्तता भएका बालबालिकाहरूलाई गर्ने व्यवहारमा परिवर्तन ल्याउन त जरुरी छ नै साथमा आफ्ना नेपालबाट आएका अभिभावकहरूलाई पनि यसबारे बुझाउनु पर्ने देखिन्छ।
विशेष स्याहारको आवश्यकता भएका बच्चाहरूका अभिभावसँग जोडिन प्रजापति दम्पतीले अहिले अमेजिङ्ग प्यारेन्ट्स नामक समूहमा आवद्ध भएका छन्। ।
यस समूहमा आबद्ध भए पछि म एक्लो रहेनछु जस्तो अनुभव हुने उनले Mum माने आमालाई बताए।
दशौँ भाग सुन्नुहोस्: १०. बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती Mum माने आमा पोड्कास्ट मा नयाँ सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्। हाम्रो अन्य प्रस्तुति भने यहाँबाट सुन्न सकिन्छ।
दशौँ भागको बारेमा:
बच्चा हुर्काउन बुवाको भूमिका र एकल आमाका चुनौती
अस्ट्रेलियाका आमाका कथाहरू समेटिएको पोड्कास्ट शृङ्खलाको अन्तिम भागमा बुवाहरूले बच्चा हुर्काउँदा खेल्ने भूमिकाबारे पनि चर्चा गरिएको छ।
साथै एकल महिलाले बच्चालाई हुर्काउँदा सामना गर्नु पर्ने चुनौतीबारे पनि कुरा गरिएको छ।
यस भागमा एकल आमाहरू बबी लामा र कृपा गुरुङका साथै बुवाहरू असीम गौतम राजकुमार प्रजापति र धिरज कँडेलबाट अभिभावक हुँदाका अनुभव सुनेका छौँ।
बबी लामाले एकल आमाहरूले बच्चा स्याहारका लागी अस्ट्रेलियामा उपलब्ध रहेका सेवाहरू कसरी लिन सकिन्छ भन्नेबारे पनि बताएकी छिन्।
यस भागमा समेटिएका विषयहरू:
- एकल रूपमा बच्चा हुर्काउँदाका चुनौतीहरू
- एकल आमाले उपलब्ध सरकारी सेवा तथा सुविधाहरू लिन समस्या
- समाजले एकल आमाहरूलाई हेर्ने दृष्टिकोण
- आमा र बुबा दुवैको भूमिका निभाउनु पर्ने आमाहरूको अनुभव
- गर्भावस्थादेखि बच्चा हुर्काउनेसम्म बुवाहरूको भूमिका
- अपाङ्गता भएको सन्तानको हेरचाहका चुनौती
पोड्कास्ट शृङ्खलाका बारेमा:
अस्ट्रेलियामा नेपाली पृष्ठभूमिका आमा बनेका वा बन्ने प्रतीक्षामा रहेकाहरूका लागी बच्चा पाउने योजना देखि बच्चा जन्मिएपछि सम्मका यात्रा तुलनात्मक रूपमा सहज पनि हुन सक्छन् तर यो मातृत्व यात्रा अड्चन बिनाको भने छैन।
सबैको मातृत्व अनुभव फरक फरक भए पनि समानता पनि उत्तिकै हुन सक्छ।
Mum माने आमा पोड्कास्ट शृङ्खला अस्ट्रेलियामा बसोबास गर्ने नेपाली पृष्ठभूमि भएका र भर्खरै नयाँ आमा बनेकाहरूको बारे एसबीएसको प्रस्तुति हो। यसमा हामी नयाँ आमाहरूलाई पर्ने समस्या, उनीहरूको अनुभव सुन्नेछौँ भने सम्बन्धित क्षेत्रका जानकारहरूसँग पनि छलफल गरेका छौँ।
पहिलो भाग : १.बच्चा जन्माउने योजना: गर्भधारण र चुनौतीहरू दोस्रो भाग : २. कोभिड-१९ का बेला अस्ट्रेलियामा नयाँ आमाबाबु बन्दै गर्दाको अनुभव तेस्रो भाग : ३. गर्भावस्था: अनुभव र चुनौतीहरू चौथो भाग : ४. नेपाल र अस्ट्रेलियाका आमाका फरक मातृत्व अनुभव पाँचौँ भाग : ५. अस्पताल जाने तयारी र त्यहाँको बसाइ छैठौँ भाग: ६. बच्चामा अटिज्म स्पेक्ट्रम डिसअर्डर सातौँ भाग: ७. बच्चालाई सिकाउने कुराहरू र यसका चुनौती आठौँ भाग: ८. काम र बच्चा स्याहारको सन्तुलन नवौँ भाग: ९. आइभीएफ प्रक्रियामा जाँदाको अनुभव
नोट: यस पोड्कास्ट शृङ्खलामा प्रस्तुत जानकारी तथा सल्लाहहरू सामान्य प्रकारका छन्। तपाईँको व्यक्तिगत अवस्था बारे उपयुक्त सल्लाह तथा सुझावका लागि कृपया आफ्नो डाक्टरलाई सम्पर्क गर्नुहोस्।
सम्बन्धित सामाग्री:
अस्ट्रेलियाका नेपाली आमाहरूको कल्पनाको संसार र यथार्थ