चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा सिफारिस
सरकारले नेपाली काँग्रेसकी नेतृ चित्रलेखा यादवलाई अस्ट्रेलियाको राजदूतका लागि सिफारिस गरेको छ।
यादवले यसअघि शिक्षामन्त्री र उपसभामुखको भूमिका निर्वाह गरिसकेकी छन्।
राजदूत हुन अघि उनको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन हुनुपर्ने छ।
The Nepali Congress has recommended Chitra Lekha Yadav as Nepal’s ambassador to Australia. Credit: Facebook/Chitra Lekha Yadav
यसअघि अस्ट्रेलियाको राजदूतमा कान्ता रिजाल सिफारिस भएकी थिइन्।
तर इजरेलको राजदूतबाट फर्कँदा उनको सहयोगीलाई स्वदेश नफर्काएको भन्दै परराष्ट्र मन्त्रालयमा उजुरी परेपछि उनको स्थानमा सरकारले यादवको नाम सिफारिस गरिएको बताइएको छ।
यस्तै उक्त समितिले यसअघि सिफारिसमा परेका १७ देशका मध्ये १६ देशका राजदूतको नाम बहुमतले अनुमोदन गरेको छ।
उक्त निर्णयबारे समिति सभापति न्यौपानेले भनिन्, "एक जना प्रस्तावित राजदूतको सम्बन्धमा निर्णय गर्नका लागि थप कागजात चाहिएको छ। त्यो पाएपछि हामीले निर्णय गर्ने छौँ।"
शिक्षकहरूको राजनीतिक संलग्नता बारे चासो
विद्यालय शिक्षा विधेयक बारे शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिमा शुक्रवार छलफल भएको छ।
छलफलका क्रममा सत्तापक्षका सांसदहरूले शिक्षकहरूलाई राजनीतिमा संलग्न हुन दिन नहुने धारणा व्यक्त गरे।
यस विषयमा समितिको बैठकमा आफ्नो धारणा राख्दै नेकपा एमालेका सांसद रघुजी पन्तले भने, "शिक्षकहरूको राजनीतिक संलग्नता ठिक होइन भन्ने कुरा हो। यो कुनै नयाँ कुरा होइन। पहिले देखिनै भन्दै आइएको कुरा हो।"
यस्तै नेपाली काँग्रेसकी सांसद चन्दा चौधरीले चाहिँ शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई दिन नहुने अवधारणा राखिन्।
स्थानीय तहलाई यस्तो अधिकार दिँदाका बेफाइदा बारे बोल्दै उनले भनिन्, "शिक्षक सरुवाको अधिकार स्थानीय तहलाई दिन हुँदैन। त्यहाँ मन परेकोलाई राख्ने नत्र सरुवा गर्ने हुन्छ। त्यसका लागि आवश्यक कानुन चाहिएमा हामी बनाउँला।"
उक्त विधेयक समितिमा आएको लामो समय भएको छ तर समितिले यसलाई टुङ्ग्याउन सकेको छैन।
गर्मी बढेसँगै केही विद्यालय बन्द
केही दिन यता बढेको तापक्रमका कारण तराईका केही विद्यालयहरूले विद्यार्थीहरूलाई बिदा दिएका हुन्।
गर्मीले विद्यार्थीहरूलाई स्वास्थ्यमा असर पर्ने भन्दै विद्यालयहरूले छुट्टी दिएका हुन्।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार जनकपुरको अधिकतम तापक्रम ४०.२ डिग्री सेल्सियस पुगेको थियो भने सोमबार दिउँसोको अधिकतम तापक्रम ३९.८ डिग्री सेल्सियस थियो।
सहकारी प्रकरणको अनुसन्धानका लागि छविलाल पक्राउ
गोर्खा मिडिया प्रा लिका पूर्व सञ्चालक तथा पूर्व डिआइजी छविलाल जोशीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।
उनलाई सोमबार कास्की पुर्याइएको थियो।
अदालतले सोमबार जोशीलाई पाँच दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपको अनुमति दिएको छ।
विभिन्न सहकारीबाट गोर्खा मिडियामा गएको ६५ करोडभन्दा बढी रकम अपचलनमा उनलाई कारबाही गर्न संसदीय विशेष समितिले सिफारिस गरेको थियो।
समितिले जोशी सहित गोर्खा मिडियाका तत्कालीन अध्यक्ष जीबी राई, प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक कुमार रम्तेलाई कारबाहीको सिफारिस गरेको छ।
समितिले गत साता उक्त प्रतिवेदन सदनमा बुझाएको थियो।
उक्त प्रतिवेदन प्रतिनिधि सभामा बुझाइए यता त्यसलाई सत्ता पक्ष र राष्ट्रिय स्वतन्त्र पार्टीले आ-आफ्नै ढङ्गले व्याख्या गर्दै आएका छन्।
छानबिन समितिका एक सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले सञ्चार कर्मीहरूसँग कुरा गर्दै भने, "जुन आधारमा समिति बनाइएको थियो, त्यो आधार नै यो समितिको तथ्यले प्रमाणित गरेन। रविजीले सहकारीबाट एक सुका पनि लग्नुभएको देखिएन। सहकारी अपचलनमा उहाँको संलग्नता हुने प्रमाण भेटेनौँ।"
यस्तै नेपाली काँग्रेसका प्रवक्ता प्रकाश शरण महतले भने लामिछानेले 'क्लिन चिट' पाई नसकेका छन्।
"गोरखा मिडियाको सीईओ भएर रवि लामिछाने बस्नु भएको थियो। सहकारीकै पैसाबाट उहाँको तलब भत्ता चलेको रहेछ। उहाँ जिम्मेवार तहमा बस्दा सहकारीबाटै पैसा आएको रहेछ," प्रतिवेदन सदनमा प्रस्तुत भएपछि सञ्चार कर्मीहरूसँग कुरा गर्दै महतले भने।
लिनै नहुने लिनै नमिल्ने पैसा लिएर उहाँले तलब भत्ता खानु भएको छ। तैपनि हामी दोषी हुँदै होइनौँ भनेर घोषणा गर्दै हुनुहुन्छ भने त्योभन्दा गैरजिम्मेवारपूर्ण कुरा के हुन सक्छ?प्रकाश शरण महत, नेपाली काँग्रेस प्रवक्ता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले पनि यस्तै अभिव्यक्ति दिएका छन्।
उनले बिना लगानी शेयर धनी बन्न पाउने कानुन नेपालमा नभएको बताए।
सुनको मूल्य अहिलेसम्मकै उच्च
नेपालमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुन प्रतितोला एक लाख ५९ हजार दुई सय रुपैयाँ पुगेको छ।
केही समययता सुनको निरन्तर बढी रहेको छ।
एरिकाले हात पारिन ऐतिहासिक पदक
एरिका गुरुङ्कले २० औं एसियाली सिनियर कँराते च्याम्पियनसिपमा रजत पदक जितेकी छन्।
एरिकाको पदकनै नेपालले एसियाली कराँतेको ठुलो मानिने यस प्रतिगोयतामा जितेको पहिलो पदक हो।
आइतबार भएको महिला ६८ केजी तौल समूहको फाइनल खेलमा भियतनामकी नाओना थी नुयेनसँग ६-०ले पराजित भएपछि एरिकाको यात्रा रजत पदकमा सीमित हुन पुगेको थियो।
सेमिफाइनल खेलमा उनले थाइल्यान्डकी केवालिन सोङ्क्लिनलाई ८-०ले पराजित गरेकी थिइन्।
हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न थिच्नुहोस्।