क्रिस्टिन एडम्सको भिक्टोरिया राज्यको म्यरिस्भिल भन्ने स्थानमा एउटा मोटेल थियो जुन २००९ फेब्रुअरी ७, कालो शनिवारको डढेलोमा पूर्णतया ध्वस्त भयो।
उनी र उनका श्रीमान् आफूहरूलाई एक हिसाबले धेरै भाग्यमानी ठान्छन् किनभने उनीहरूले मोटेलमा रहेका आफ्ना ग्राहकहरूलाई सकुशल सो स्थानबाट हटाउन सफल भएका थिए।
"मलाई घरबाट अन्य केही कुरा निकाल्ने सोच नै आएन ; त्यतिखेर बाच्नु नै सबैभन्दा ठुलो कुरा थियो।"
म्यरिस्भिल आगलागीबाट सबैभन्दा बढी प्रभावित स्थानहरू मध्येको एक हो, जहाँ सम्पूर्ण जनसङ्ख्याको १० प्रतिशत अर्थात् ४५ जनाले आफ्नो ज्यान गुमाएका थिए।
एडम्स उनका श्रीमानले म्यरिस्भिल नै फर्किने निधो गरे र अहिले उनीहरूले एक स्थानीय क्याराभान पार्क सञ्चालन गरिरहेका छन्।
उनले त्यो अवस्थाका बारेमा बताइन जब उनीहरूले त्यस स्थानलाई छोडेर जानु पर्ने अवस्था आइपर्यो।
"त्यो हाम्रा लागी सामान्य दिन थियो तर अलि गर्मी र हुरी पनि चलिरहेकोबारे हामी जानकार थियौँ। हाम्रो सानो सडक छेउमा मोटेल थियो, केही पाहुनाहरूलाई स्वागत गरेर हामी माथिल्लो तलामा गएका थियौँ, झ्यालको पर्दा लगायौँ।गर्मीमा त्यही त गरिन्छ नि झ्याल ढोका लगाएर एसी खोलिन्छ र आनन्दले बसिन्छ।
दिउँसो अबेर तिर हाम्रो एक साथीले हामीलाई फोन गरेर धुवाँ देखे वा नदेखेको बारे सोधे। त्यसपछि हामी बाहिर गएर हेरेउँ, र त्यही बेला हामी जोखिममा छौँ भन्ने आभास भयो, त्यस्तो मैले जीवनमा पहिले कहिल्यै पनि देखेको थिइन।"
घटनाका परिणामका बारेमा अध्ययन गरेको शाही आयोगले फेब्रुअरी ७ का दिन ४०० वटा जति आगो लागेको पत्ता लगाएको थियो।
र ५ वटा प्रमुख आगलागीले १७३ जनाको ज्यान लिएको जानकारी पाएको थियो।
आयुक्त बर्नार्ड टीगले भने, यस भन्दा अगाडीका सबै डढेलोहरूले जति जनधनको क्षति गरेका थिए त्यो भन्दा धेरै नै बढी यो डढेलोले ज्यान लियो।
१९८३ फेब्रुअरीको आगलागी जसलाई एश फ्राइडे अर्थात् खरानी शुक्रवार भनिन्छ, उक्त आगलागीमा भिक्टोरिया र दक्षिण अस्ट्रेलियाका ७५ जनाले ज्यान गुमाएका थिए।जनावरहरूको हितमा काम गर्ने आरएसपीसीए का अनुसार भिक्फोरेस्टले दिएको जानकारीमा १० हजार हेक्टर जमिन डढेलो प्रभावित भएको मा १० लाख बढी जनावरहरुको मृत्यु भएको थियो।
Bunyip Sate Forest bushfires near the townbship of Tonimbuk, Saturday, Feb.07, 2009. Source: AAP
डा. लाच्लन फ्रेजरले म्यरिस्भिलको सो आगलागीबाट आफूलाई बचाउन त सफल भए तर उनको घर र क्लिनिक खरानी बन्यो।
"केही मिनेटमा नै एक छिमेकीको घर खरानी भयो, पछाडिको छिमेकी को पनि घर गयो र आगो मेरो घरसम्म आइपुग्यो, मैले झ्यालको सिसा हातले फुटाए, जताततै रगत थियो। मैले मेरो कुकुरहरूलाई लिए र भने हामी यसबाट बाच्नुपर्छ। मैले उनीहरूलाई पर सडकमा पार्क गरिराखेको गाडीमा बाधे, गाडीको आकस्मिक बत्ती बलिरहेको थियो। मलाई घरबाट अन्य केही कुरा निकाल्ने सोच नै आएन ; त्यतिखेर बाच्नु नै सबैभन्दा ठुलो कुरा थियो।"
आगोलाई १०० किलोमिटर प्रतिघण्टाको रफ्तारमा रहेको हुरीले बल दिइरहेको थियो र तापक्रम थियो ४० डिग्री।
यो आगलागीबाट २ हजार बढी घरहरू ध्वस्त भए भने ७ हजार ५ सय मानिसहरू विस्थापित हुन पुगे।
धेरै मृत्युका कारण बनेका अधिकांश आगलागीहरूलाई बिजुलीका तार चुँडिएर वा जानाजानी आगजनी गर्ने अपराध सँग जोडेर हेर्ने गरिएको छ।
भिक्टोरियन बुशफाएर शाही आयोगले उक्त कालो शनिवारको दिन आकस्मिक टेलिफोन सेवा ट्रिपल जिरो (०००)मा ९ हजार ८८ वटा सहयोग माग्दै फोन आएको जनाएको छ।
हेलेन केनी सो दिन सेन्ट एन्ड्रुज ग्रामीण आगलागी केन्द्रका इनचार्ज थिइन। र उनी भन्छिन् उनले केहीलाई स्टेसनमा बस्ने व्यवस्था गरिदिएकी थिइन तर उनलाई चिन्ता लाग्न थाल्यो जब मान्छेहरू आउन छाडे।
"उपचार गर्न आउनेहरूलाई सहायता गर्न हामी केही स्थानीय नर्सहरूसहित बसेका थियौँ। हामी भाग्यमानी पनि भयौँ कि उपचार गर्नै पर्ने तिन वा चार जना मात्र आएका थिए। तर पछि त कोहि पनि आउन छाडे। र यसले हामीलाई खतराको सङ्केत दियो। उनीहरू कहाँ छन् ? तर स्टेसनमा बसेर बिना कुनै सवारी साधन हामी अरू केही गर्न सक्ने अवस्थामा थिएनौँ।"