नेपालमा भर्खरै स्थापित हुँदै गरेको कला, प्रिन्टमेकिङ, मा वरिष्ठ कलाकार उमाशंकर शाह लामो समय देखि लागिरहेका छन्। धातु र काठ जस्ता बस्तुमा कुँदेर अर्को वस्तुमा छापिने यो कला नेपालमा अझै पनि धेरै परीचित छैन।
तर पनि शाहको नेतृत्वमा प्रिन्टमेकरहरु संगठित भएर प्रिन्टमेकिङ असोशिएसन मार्फत वर्षको एकपटक यो कलाको प्रदर्शनी गर्ने गर्दछन्।
यस वर्ष प्रिन्ट कलाको एउटा प्रदर्शनी काठमाण्डुको बबरमहलमा भर्खरै शुरु भएको थियो, तर कोरोना भाइरसका कारण यो स्थगित गरिएको छ।
यसै सन्दर्भमा उमा शंकर शाहसँग प्रिन्टमेकिङको अवस्थाको बारेमा गरिएको कुराकानी।
कुराकानीको अडियो सुन्न माथि रहेको मिडिया प्लेयरमा क्लिक गर्नुहोस्।
Uma Shankar Shah's print art at an exhibition in Kathmandu. Source: Supplied
१५ मार्चमा हाम्रो उद्घाटन थियो। हामीले ठुलो भीडभाड नगरौं भनेर पहिलोचोटि प्रमुख अतिथि बोलाएनौं। भीडभाड गरेनौं र सामान्य तरीकाले शुरुवात गर्यौं।
अहिले सबैजना घरभित्रै बसिरहेको अवस्था हो। विदेशीहरु पनि कम हुँदै आएको अवस्था हो। भिजिट गर्नेको संख्या एकदमै न्यून छ। औपचारिक रुपमा हामीले सोमबार घोषणा गरिसक्यौं – प्रदर्शनी तत्कालका लागि पछि सारिन्छ र स्थिति सामान्य भएपछि फेरी शुरु हुन्छ।
प्रदर्शनीको बारेमा थोरै बताइदिनुस् न। कस्तो खालको कामहरु थिए?
यो प्रिन्ट कलाको प्रदर्शनी हो। कलाको प्रदर्शनी मध्ये चित्र र मूर्तीहरुको त धेरै भइरहेको हुन्छ। प्रिन्टको मात्रै प्रदर्शनी वर्षको एकपटक मात्रै हुन्छ। त्यो कारणले पनि यो महत्वपूर्ण हो।
तर कोरोना भाइरसको कारणले भिजिटरको संख्या एकदमै न्यून छ।
प्रिन्टमेकिङ भनेको के हो खासमा? प्रिन्ट कसरी बनाइन्छ? यो चित्रकला भन्दा कसरी फरक हुन्छ?
चित्रकलामा प्रायः सीधै क्यानभासमाथि चित्र बनाइन्छ। तर प्रिन्ट आर्ट भनेको पहिला कुनै धातुको प्लेट या काठको प्लेट या ढुंगाको प्लेट बनाउँछौं। अनि त्यसमा रंग भरेर एउटा प्रिन्टमेकिङ मेशिनको माध्यमबाट प्रिन्ट गर्छौं र त्यो हाम्रो कला हुन जान्छ।
धातुमा बनाउने र काठ र ढुंगामा बनाउने एउटै तरीका हुन्छ कि फरक फरक हुन्छ?
फरक फरक हुन्छ। धातुमा बनाउँदा एसिड र केमिकलको प्रयोग बढी हुन्छ। ढुंगामा पनि एसिड र केमिकलको प्रयोग हुन्छ। काठ र प्लाइवुड, फलेकहरुमा बनाउँदा कुँदाइको प्रयोग गरिन्छ।
प्रिन्टमेकिङ सिक्ने सिकाउने ठाउँ छ कि छैन नेपालमा?
विश्वविद्यालयहरुमा यसको पठनपाठन भइरहेको छ।
अहिले नेपालमा चित्रकलाको तुलनामा प्रिन्टमेकिङमा कत्तिको आकर्षण देख्नुभएको छ कलाकारहरुको?
अहिले आकर्षण एकाएक बढिरहेको हो। चित्रकला वर्षौं अगाडि स्थापित भइसकेको कला हो। प्रिन्टको पठनपाठन हालै पाँच दस वर्षदेखि विस्तार भएको हो। यो नयाँ खालको कलाकारिता हो।
यसको विशेषता के हुन्छ? किन यतातिर लाग्छन् विद्यार्थीहरु?
चित्रकलामा एकचोटि चित्र बनाएपछि पुग्यो। त्यसलाई प्रदर्शन पनि एकचोटि मात्रै गरिन्छ, बिक्री पनि एकचोटि मात्रै हुन्छ। प्रिन्टमा चाहिँ एउटा प्लेट बनाएपछि पाँच – दस सम्म पनि हामी त्यसको प्रति छाप्छौं। सबैको ओरिजिनल भ्यालु हुन्छ। नम्बर त्यसमा लेख्नु पर्छ।
एकजना कलाकारले एउटा प्लेट बनाएपछि १० चोटि पनि प्रदर्शन गर्न सक्छ। यता बिक्री भइसकेपनि विदेशमा कुनै प्रतियोगिताका अथवा प्रदर्शनिका लागि हामी अर्को प्रति पठाउन सक्छौं। त्यो कारणले यो किन्ने ग्राकहरुलाई पनि सजिलो भयो, धेरै महंगो परेन।
कला र शैलीको हिसाबले र गाह्रो अप्ठ्यारोको हिसाबले के छ यसको विशेषताहरु?
कलाको हिसाबले, जे कुरा अन्य कलामा प्रस्तुत गरिन्छ, आफ्नो भावनाको अभिव्यक्ति, त्यो सबै हामी प्रिन्ट कलामा पनि प्रस्तुत गर्छौं।
कोर्दाखेरी अलिकति कठिन विधा पनि हो। एउटा प्लेट बनाउनु पर्यो भने मिडियम साइजको १५ दिन लाग्न सक्छ। ठुलो साइजको हो भने एक महिना पनि लाग्न सक्छ। शारीरिक रुपमा कठिन हो।
प्रिन्ट छाप्नको लागि एउटा प्रिन्ट मेकिङ मशीन पनि चाहिन्छ। त्यो मशीन कत्तिको उपलब्ध छ नेपालमा र कलाकारहरुको काम गर्ने अवस्था कस्तो छ?
आजभन्दा १० वर्ष पहिले नेपालमा मशीन नै थिएन। जम्मा एक दुइजना, म, रागिनी (उपाध्याय), वीरेन्द्र प्रताप सिंहसँग थियो। अहिले कम्तिमा पनि १५ ठाउँमा यो स्टुडियोहरु खुलेका छन्। सबै ठाउँमा मेशिन छ, प्राइभेटली सबैले गरिरहेका छन्।
कलाकारहरुले कस्तो विषय रोजिरहेका छन् आजकाल?
प्रिन्ट मेकिङ नेपालले आयोजना गरेको यो प्रदर्शनी हो र त्यसको एउटा उद्देश्य पनि हो – नेपाली कलालाई चिनाउने। त्यो किसिमका विषयवस्तु यसमा अपनाइएका छन्। प्रायः तपाईं हेर्नुहुन्छ भने सबै कला नेपाली विषयवस्तुमा आधारित छन्। र अब्जेक्टिभ छन्, त्यहाँ एउटा वस्तु छ।
प्रदर्शनीमा तपाईंको आफ्नै कलाकृति पनि थियो। त्यो के विषयमा थियो?
मेरो प्रायः सबै चित्रहरु सम्पदामा आधारित हुन्छ। नेपालका मठ मन्दिर – बुद्ध मन्दिर छन्, पगोडा शैली र शिखर शैली छन्। त्यो सबैलाई समेटेर एउटा कम्पोजिसनभित्र देखाएको छु।
तपाईंले शुरु गर्ने बेलामा प्रिन्टमेकरहरु कम थिए, र अहिले निकै बढेका छन्। यो अवस्थालाई कस्तो मान्नुभएको छ?
कुनै पनि देशको कला एउटा मात्रै विधा लिएर अगाडि बढ्न सक्दैन। धेरै किसिमका विधाहरुको विकास हुनुपर्छ। अहिले लगभग ६०-७० जना यसमा सकृय छन्। नेपाली समसामयिक कलामा एउटा थप विकास भन्न सकिन्छ।