थिएटर मल नामक रंगमञ्च संस्थाले यस हप्ता क्वारेण्टाइन अभियान नाट्य उत्सव शुरु गरेको छ जस अन्तर्गत दिनदिनै बेलुका ५ बजे एउटा नेपाली नाटक थिएटर मलको फेसबुक पेजमा हेर्न सकिन्छ।
विश्व रंगमञ्च दिवस मार्च २७ मा शुरु गरिएको यो महोत्सवका निर्देशक थिएटर मलका केदार श्रेष्ठ हुन्।
रंगमञ्च जस्तो प्रत्यक्ष हेर्नु पर्ने कलालाई अनलाइन लैजाँदाको अनुभवका बारेमा सेवा भट्टराईसँग श्रेष्ठले कुराकानी गरेका छन्।
कुराकानीको अडियो माथि रहेको मिडिया प्लेयरमा सुन्नुहोस्।
Kedar Shrestha,Director,Junu Ko jutta Source: Supplied
कोरोनाको प्रकोपपछि तपाइँहरुले एउटा भर्चुअल नाटक महोत्सव शुरु गर्नुभएको छ। यसको बारेमाथोरै बताइदिनुस् न, कतिवटा नाटकहरु देखाउँदै हुनुहुन्छ अनि कसरी मञ्चन गर्नुहुन्छ?
क्वारेण्टाइनबाट लकडाउनमा गइसकेपछि हामीले यो अभियान शुरु गर्यौं। हामी जहिले पनि, रंगमञ्च जनाताको लागि हो भन्ने मान्छौं। तर लकडाउनको अवस्थामा त रंगमञ्च सबैका सामु पुग्न सक्दैन। त्यही भएर के गर्ने त भन्दा यो एउटा विचार आएको हो। हामीले प्रदर्शन गरिसकेका नाटकहरुको भिडियो यसरी फेरी प्रदर्शन गरौं। हामीले मार्च २७ देखि कम्तिमा एक हप्ता भनेका थियौं। तर त्यसपछि पनि अर्को एक हप्ता पनि जाँदैछौं। हामीले शुरु गरिसकेपछि यति धेरै नाटकहरु आए। हामीले सोचेको भन्दा बढी। धेरै निर्देशकहरुले हाम्रो अभियानमा ऐक्यबद्धता जनाउँदै नाटकहरु पठाउन थाल्नुभो।
यो लाइभ मञ्चन गर्नुभएको चाहिँ होइन?
त्यस्तो होइन, पहिला मञ्चन भइसकेका नाटकहरुलाई लाइभ स्ट्रिमिङ चाहिँ गरेको हो।
त्यो भिडियो पछि पनि अनलाइन उपलब्ध हुन्छ?
त्यो भिडियो पछि अनलाइन उपलब्ध हुँदैन। लाइभ स्ट्रिमिङ हुञ्जेल मात्र नाटक अनलाइन हुन्छ। त्यसपछि नाटक त्यहाँबाट हटाइन्छ। त्यसैले हामीले भनेका छौं "क्वारेण्टाइन इट्स योर टाइम, फाइभ पीएम इट्स थिएटर टाइम।" साँझ ५ बजेको समय चाहिँ छुट्याउनै पर्ने हुन्छ।
अहिलेसम्म कत्तिको दर्शकहरु आइराख्नुभएको छ?
यो भन्दा अगाडि हामीले ट्रेलरहरु, पोस्टरहरु मात्रै हाल्ने गर्थ्यौं अनलाइन। तर पूरै नाटक राख्दा सबभन्दा धेरै दर्शकहरु देखिए। एउटा नाटकमा ५२ हजार रीच थियो, १५ हजारले त लगातार बसेर नाटक हेर्नुभो। २०-२२ हजार दर्शक हुनुभएको थियो, १५ जहार चाहिँ पुरै बस्यो। हाम्रो अनुमान चाहिँ पुरै नाटक हेर्ने १५ हजार हुनुहुन्थ्यो।
अहिलेसम्म कूल गरेर १ लाख भन्दा बढी रीच छ। दर्शकको हिसाबले जाने हो भने २५-३० हजार। तर अब दर्शक त दिनदिनै नयाँ हुन्छन्। आज हेर्ने र भोली हेर्ने मानिस फरक फरक हुन्छन्।
कमेण्ट आएको हससाबले नेपालकै दर्शक धेरै हुनुहुन्छ। तर बाहिरबाट पनि थुप्रै हुनुहुन्छ। युएइबाट, मलेशियाबाट हामीलाइ मेसेजहरु आइरहेको हुन्छ।
नर्वेबाट हामीलाइ प्रोजेक्टर लगाएर हेरिराखेको फोटो पठाउनुभएको थियो।नाटकका भिडियोहरु साधारण तरीकाले खिचिएका छन् कि एडिटिङ गरेर बनाइएका छन्?
Nepali theatre moves online amid coronavirus lockdown Source: Supplied
कुनै चाहिँ एडिट भइसकेका छन्। तीन चार वटा एंगलबाट खिचिएका छन्। एंगलहरुको कटिङ राखेर मिलाइएका पनि छन्। कुनै चाहिँ सेन्ट्रल भ्युबाट मात्रै खिचिएका छन्।
नाटकहरु हामीले सामान्यतया यसरी देखाउन भनेर खिचेको हुँदैनौं। यसैले धेरैले एउटै क्यामेरा राखेर साधारण तरीकाले खिचेका छन्।
अहिले थिएटर मलको कतिजना साथीहरु यसमा कसरी काम गरिरहनुभएको छ?तपाईंहरुको एउटा सामान्य दिन कस्तो हुन्छ?
अहिले पाँच जना साथीहरु छौं। हात्तीगौंडामा छ हाम्रो अफिस, म यहाँ छु। एकजना साथी पेप्सीकोलामा हुनुहुन्छ, वहाँ चाहिँ प्रिजेन्टिङ कोअर्डिनेटर हुनुहुन्छ। वहाँले सबै भिडियोहरु कसरी देखाउने, कसरी मिलाउने भन्ने काम गर्नुहुन्छ। वहाँले भिडियो एडिट र कम्पाइल गर्नुहुन्छ। हाम्रो स्ट्रिमिङ सेन्टर चाहिँ बानेश्वरमा छ। प्रसुन सिन्धुलियाले अर्को साथी रमेश भट्टराईलाई पठाउनुहुन्छ, लाइभ स्ट्रमिङ त्यहाँबाट हुन्छ। सञ्जीता पराजुली भन्ने हाम्रो अर्को साथी हुनुहुन्छ, वहाँले मेसेजहरु हेर्नुहुन्छ, सबै कोअर्डिनेट गर्नुहुन्छ। कला अनुरागीले मिडियासँग कोअर्डिनेशन गर्नुहुन्छ, र सुजिता महर्जनले पब्लिसिटि गर्नुहुन्छ।
भनेपछि सबैजना आआफ्नै घरबाट काम गर्नुहुन्छ?
हो, हामी सबै आफ्नै घरबाट काम गर्छौं। यो सबै इन्टर्नेटबाट नै हुन्छ।
कस्तो कस्तो नाटकहरु देखाइराख्नुभएको छ?
नेपाली रंगमञ्चमा मञ्चन भएका नाटकहरु हुन्। कोही लोककथामा आधारित छन्, कोही फिजिकल थिएटरमा आधारित छन्। फिजिकल भन्नाले संवाद हुँदैन तर दृश्य त हुन्छ। केही नाटकहरु विदेशबाट पनि छन्, जस्तै एउटा पपेट थिएटर छ हामीसँग। एउटा विदेशी फिजिकल थिएटर पनि छ जसमा संवाद छैन। अनि गुरुकुलका केही नाटकहरु छन् पहिलाका।यो नाटकहरुको कपीराइट कसको हुन्छ? निर्देशकहरुसँग कस्तो कुराकानी भएको छ?
Ek Boli Ek dam-6 Source: Nabin Babu Gurung/ Street Nepal/ Supplied
नाटक भनेको भर्चुअल माध्यम त होइन। अवस्था यस्तो भएर मात्रै हामीले यसरी देखाएका हौं। त्यो भएर हामीले लाइभ स्ट्रिमिङ पछि हामी त्यो अनलाइन राख्दैनौ। त्यही नै सहमति छ निर्देशकहरुसँग। हामीले भनेका पनि छौं लाइभ स्ट्रिमिङको भिडियो नखिच्नुहोला भनेर। कपीराइटको बारेमा त कतैबाट केही भयो भने कपीराइट ऐन अनुसार लागु हुन्छ भनेर हामीले पहिले पनि घोषणा गरिसकेका छौं। त्यस्तो धेरै नहोला भन्ने हामीलाई लागेको छ।
जुन काम अहिले गरिराख्नुभएको छ, त्यसको दीर्घकालीन निरन्तरता चाहिँ कस्तो देख्नुभएको छ?
निरन्तरता भनेको त यस्तो काम सकेसम्म गर्नु नपरोस् जस्तो लाग्छ। किनभने यो त हामीले मञ्चमै गएर गर्ने हो। अहिले त लकडाउनको अवस्थामा पो यो गरेको। यही काम गर्नको लागि त सधैं लकडाउन भइराख्नु पर्यो नि। सकेसम्म छिटो यो कोरोनाको महाहमारी रोकियोस् र लकडाउन छिटै खुलोस् भन्ने चाहन्छौं।
यसले नेपाली नाटकको प्रचार प्रसारमा केही मद्दत गरेजस्तो लाग्छ कि लाग्दैन?
केही होइन धेरै मद्दत गरेको छ। आजसम्म एक लाख भन्दा बढी त रीच छ। त्यति धेरै दर्शकले थाहा पाउनुभो नाटकको बारेमा। ५०% जति दर्शकहरु नाटकहरु हेरिसक्नुभएको दर्शकहरु हुनुहुन्छ। अलिकति चाहिँ नाटक नहेरेको दर्शकहरु पनि हुनुहुन्छ। वहाँहरुले चाहिँ अब रंगमञ्चमा नाटक हेर्न आउँछु, यही नाटक भए पनि खबर गर्नु होला भनेर पनि भन्नुभएको छ। नाटकघर कहाँ कहाँ छन् भनेर प्रश्नहरु आइरहेको छन्, हामी उत्तर दिँदैछौं।
अस्तिदेखि हामीले #yestheater भन्ने एउटा ह्याशट्याग पनि शुरु गरेका छौं। त्यो चाहिँ, तपाईंले यहाँ लाइभ स्ट्रिमिङ भइरहेको कुनै पनि नाटक हेरिसक्नुभएको छ भने गएर ह्याशट्याग #yestheater लेखिदिनुहोला भनेका थियौं। यो #yestheater धेरै नै आएको छ।