बझाङ घटनाले पढाएको पाठ,न्यायप्रणाली लचिलो हुँदा अपराधीको मनोबल बढ्यो

Mass Rally Justice For Nirmala Panta

Nepali people holds placards and chants slogans in the mass rally of 13yrs old Nirmala Panta, who was raped and murdered in Kanchanpur district of Nepal. Source: (Photo by Narayan Maharjan/NurPhoto)

नेपालमा पछिल्लो समय बलात्कारका घटना बढे सँगै यस्ता कार्यमा संलग्नहरूलाई कढा भन्दा कढा कारवाहीको माग हुँदै आइरहेको छ । तर कानुन लचिलो हुँदा यस्ता किसिमका घटनामा संलग्न हुनेहरूको घटना दोहोर्‍याउन मनोबल बढ्ने गरेको छ । पछिल्लो समय बझाङमा एक बालिकाको बलात्कार र हत्यामा संलग्न मानिस पहिले पनि यस्तै जघन्य अपराधमा सामेल भएको देखिएको छ ।


बलात्कारमा सजाय बढाउने माग

गत महिना बझाङमा भएको एक बालिकाको बलात्कार र हत्याको घटनाले बलात्कारका मुद्दामा सजाय बढाउनु पर्ने मागलाई अग्रस्थानमा ल्याएको छ। बलात्कारीप्रति न्यायप्रणाली लचिलो हुँदा एकै मानिसले बारम्बार यौन हिंसा गर्ने गरेको देखिएपछि न्याय प्रणालीमा सुधारको माग बढेको हो।

सेप्टेम्बर २३ मा बझाङको मष्टा गाउँपालिकाको एउटा मन्दिर भित्र १२ वर्षीया सम्झना कामीको मृत शरीर भेटिएको थियो, र उनीमाथि बलात्कार गरिएपछि मन्दिरकै त्रिशुलले घोपेर र ढुंगाले हानेर हत्या गरिएको देखिएको थियो।

प्रहरीले राजेन्द्र बोहोरालाई गिरफ्तार गरेपछि उनले कामीको बलात्कार र हत्या गरेको स्वीकार गरेका छन्। बोहोराले यो भन्दा अघि पनि एक बालिकालाई बलात्कार गरेको र गर्भ रहेमा जिम्मा लिने शर्तमा उनलाई छोडिएको प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री बताउँछन्।

"अनुसन्धानका क्रममा के खुल्यो भने उनले यो भन्दा पहिला पनि साउनको अन्त्यतिर एउटा अन्य किशोरीलाई जबर्जस्ती करणी गरेको र त्यो कुरा गाउँस्तरमै मिलापत्र गरेर मिलाइएको थियो। त्यसपछि हामीले त्यो किशोरीको तर्फबाट पनि जाहेरी लिने काम गर्यौं।"
Woman makes stop gestures
Stop violence against woman. Stop woman abuse. Woman hiding her face. Source: Getty Images
क्षेत्रीले अर्को घटनाका बारेमा पनि बताएका छन् जहाँ गत महिना सप्तरीमा सामूहिक बलात्कारमा परेकी एक किशोरीलाई प्रहरीकोमा जान नदिएर बलात्कारीसँग मिलेमतो गरेर मुद्दा टुंग्याउन खोजेपछि किशोरीले आत्महत्या गरेकी थिइन्।

बलात्कारका घटना मिलापत्रमा टुंगिने, पीडितले न्याय नपाउने र समाजको अपहेलना सहनुपर्ने, बलात्कारी उम्किने र अर्को अपराध पनि गर्न सक्ने समस्या यी मुद्दाले उजागर गरेका छन्। त्यसपछि धेरैले त्यस्ता बलात्कारीलाई प्राणदण्ड दिइनुपर्ने वा लिंगच्छेदन गर्नुपर्ने माग गरिरहेका छन्, तर नेपालमा हालसम्म कुनै पनि अपराधका लागि मृत्युदण्ड दिने वा अंगभंग गर्ने व्यवस्था छैन।
यसै बीचमा गृहमन्त्री राम बहादुर थापाले बलात्कारका मुद्दालाई गम्भीरतापुर्वक नलिएको आरोप लागेपछि स्पष्टिकरण दिएका छन्। सम्झना कामीको घटनाको बारेमा छलफल गर्ने क्रममा उनले नेपालमा अन्य देशको तुलनामा बलात्कार कमै हुने गरेको र चिन्ता गर्ने स्थिति नरहेको बताएका थिए।

यो भन्दा अघि पनि थापाले पुँजीवादमा यस्तो घटना बेला बेलामा हुने गरेको भन्ने, र क्वारेण्टिनमा भएको बलात्कारको एउटा घटनालाइ सहमतिको सम्पर्क भन्ने जस्ता गैह्र जिम्मेवार अभिव्यक्ति दिएका थिए। उनको पछिल्लो अभिव्यक्तिको विरोध भएपछि उनले बलात्कारलाई न्युनीकरण गर्न सरकार  गम्भीर रहेको बताएका छन्।
नेपालमा हाल दिनहुँ ६-७ वटा बलात्कारका घटना दर्ता भइरहेका छन्। जबर्जस्ती करणी गरेमा, पीडित वयस्क महिला भएमा १० वर्षसम्म र बालिका भएमा २० वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।

यस महिना मात्रै लामो अभियानपछि एसिड छ्याप्ने मानिसमाथिको जेल सजाय बढाएर २० वर्ष पुर्याइएको सन्दर्भमा बलात्कारको सजाय पनि अझ कडा बनाउनुपर्ने माग उठिरहेका छन्।



Share