राष्ट्रपतिका लागि पौडेल र नेम्वाङको मनोनयन
पछिल्लो आम निर्वाचन पछि जेलिएको राजनीतिक खिचातानी नयाँ मोडमा प्रवेश गरेको छ।
आगामी राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्ने एक दिन अगाडि सत्ता समीकरणमा हलचल मच्चिएको हो।
नेकपा एमालेको साथमा प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल काँग्रेससँग नजिकिएपछि चलेको राजनीतिक खिचातानी शुक्रवार नयाँ सहमतिमा गएर हालका लागि टुङ्गिएको छ।
शुक्रवार रातिको नेकपा माओवादी केन्द्रसहितको आठ दलीय बैठकले काँग्रेस उम्मेदवारलाई राष्ट्रपतिमा सहयोग गर्ने सहमति जनाएका थिए।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मोर्चा पार्टीले राष्ट्रपति निर्वाचनमा काँग्रेसलाई समर्थन गर्ने सहमति दिएका छन्।
सोही अनुरूप नेपाली काँग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रपति उम्मेदवारी दिएका छन्।
यो पनि हेर्नुहोस्:
गत सात दिन नेपालमा: नेपाल क्रिकेटको पछिल्लो सफलता र राष्ट्रपति चुनावसँगै बाक्लिदो राजनीतिक पहल
SBS Nepali
19/02/202310:43
यता एमालेका तर्फबाट भने सुवासचन्द्र नेम्वाङले मनोनयन दर्ता गराएका छन्।
शनिवार बसेको केन्द्रीय सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो।
राष्ट्रपतिका दुवै उम्मेदवार पूर्व सभामुख हुन्।
रामचन्द्र पौडेल २०५१ साल पौष ३ गतेदेखि २०५५ साल चैत्र ९ गतेसम्म सभामुख थिए।
सुवासचन्द्र नेम्वाङले २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म पहिलो कार्यकाल संसदको नेतृत्व गरेका थिए।
वि.स. २०७० फागुन ६ गतेदेखि २०७२ साल असोज २७ गतेसम्म दोस्रो कार्यकालमा सभामुख भएर संसदको नेतृत्व गरेका थिए । दुवै संविधानसभामा पनि उनले संविधानसभा अध्यक्षको भूमिका निर्वाह गरे।
काँग्रेस उम्मेदवार पौडेललाई सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्रसहित आठ दलको साथ छ।
यो पनि हेर्नुहोस्:
बलि दिन भारत पुराइएकी बालिकाको उद्धार र हवाइ कानुन परिवर्तनको माग: गत सात दिन नेपालमा
SBS Nepali
05/02/202315:59
उनी आबद्ध नेपाली काँग्रेसका साथै माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाको साथ छ।
एमाले उम्मेदवार नेम्वाङको समर्थनमा अरू कुनै पनि दल खुलेका छैनन्। एमाले नेताहरूले भने १० पौषमा भएको सहमति अनुसार नै नेम्वाङलाई उम्मेदवार बनाएकाले त्यो बेला एक ठाउँमा भएका दलहरूको समर्थन पाउने विश्वास व्यक्त गरेका छन्।
एमाले अध्यक्ष केपी ओलीले पनि पुरानै सहमति अनुसार राष्ट्रपति एमाले उम्मेदवारी विजयी हुने दाबी गरेका छन्।
आगामी फागुन २५ गते राष्ट्रपति निर्वाचन हुने कार्य तालिका छ। निर्वाचनमा संघीय संसद र प्रदेश सभा सदस्यले मतदान गर्नेछन्।
अहिलेको सहमति हेर्दा पौडेल विजयी हुने देखिए तापनि आगामी दिनमा हुनसक्ने राजनीतिक चलखेलका कारण अहिले नै को राष्ट्रपति हुन्छ भनेर ठोकुवा भने गर्न नसकिने राजनीतिक विश्लेषकहरू बताउँछन्।
राप्रपा सरकारबाट बाहिरियो
वर्तमान सत्ता घटक मध्येको एक पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएको छ। उक्त पार्टीबाट बनेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई राजीनामा बुझाएका छन्।
शनिवार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर राप्रपाका मन्त्रीहरूले राजीनामा बुझाएका हुन्।
राप्रपाका तर्फबाट सरकारमा सहभागी अध्यक्ष राजेन्द्र लिङ्देन सहितका चार जना मन्त्री वनेका थिए। राष्ट्रपति निर्वाचनमा राजनीतिक समीकरण फेरिएसँगै राप्रपाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।
राप्रपाका अध्यक्ष लिङ्देनले उपप्रधान तथा ऊर्जा मन्त्रीका पद लिएर सरकारमा राप्रपाको नेतृत्व गरेका थिए।
त्यस्तै, राप्रपाबाट ध्रुवबहादुर प्रधान कानुन तथा संसदीय मामिला, विक्रम पाण्डे सहरी विकास र दीपकबहादुर सिंह ऊर्जा राज्यमन्त्री बनेका थिए।
वर्तमान सत्ता गठबन्धनको एक दल राष्ट्रिय स्वतन्त्र पार्टीले यसअघि नै सरकार छोडेको थियो। राप्रपाको यस निर्णय पछिको सत्ता समीकरण फेरिन सक्ने आङ्कलन गरिएको छ।
सत्ता साझेदारमध्येको सबैभन्दा ठूलो दल नेकपा एमालेले भने सरकारबारे निर्णय गरिसकेको छैन।
मेट्रो चलाउन ललितपुरका मेयरको काठमान्डुका मेयरलाई आग्रह
सङ्घीय राजधानी काठमान्डु उपत्यकामा मेट्रो रेल चलाउनेबारे यहाँका दुई महानगरका प्रमुखहरूले छलफल थालेका छन्।
ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले काठमान्डुका मेयर बालेन साहलाई उपत्यकामा मेट्रो रेल बनाउने कामको नेतृत्व लिन आग्रह गरेका हुन्।
उपत्यकाको सार्वजनिक यातायातमा मेट्रो अत्यावश्यक भएको भन्दै मेयर महर्जनले काठमान्डु महानगरलाई यसको नेतृत्व लिन अनुरोध गर्दै मेयर साहलाई पत्र बुझाएका छन्।
Source: Facebook / Balen
महर्जनले उपत्यकाका अन्य नगरपालिकासँगको सहकार्य पनि आवश्यक रहेको बताए। उनले मेट्रोको निर्माणमा ढिला गर्न नहुने भन्दै बेलैमा निर्णय नगरे उपत्यका बस्न अयोग्य हुने बताए।
काठमान्डु महानगरपालिकाका मेयर साहले मेट्रो रेल उपत्यकाका लागि अत्यावश्यक भएको महसुस आफूले पनि गरेको बताए। उनले अन्य नगरपालिकासँग पनि यसबारे छलफल गर्ने बताएका छन्।
सन्दीपले पाएनन् विदेश जाने अनुमति
खेलका लागि विदेश जान पाउनुपर्ने क्रिकेटर सन्दीप लामिछानेको मागमा सर्वोच्च अदालतले शुक्रवार कुनै आदेश दिएन।
उनको मागमा आइतवार थप सुनुवाइ हुने भएको छ। थप आदेश नआउँदासम्म लामिछानेको विदेश जान नपाउने उच्च अदालत पाटनको आदेश कायम रहने भएको छ।
नाबालिग बलात्कारको आरोप लागेका लामिछाने केही दिन अघि धरौटीमा रिहा भएका थिए। त्यसपछि नेपाल क्रिकेट सङ्घले उनीमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।
यसपछि उनी सम्मिलित नेपाली टोलीले यसै साता स्कटल्यान्ड र नामिबियासँग लिग–२ मा सबै चार खेल जितेको थियो। लामिछानेले नेपालबाट सर्वाधिक १३ विकेट लिएका थिए ।
लामिछानेले विश्वकप लिग–२ अन्तर्गतको शृङ्खलाका लागि खेल्न पाउँ भनी बिहीवार सर्वोच्चमा रिट दायर गरेका थिए।
सोमवाररबाट सुरु हुने नेपालको आठौँ शृङ्खलामा यूएई र पपुवा न्यु गिनीसँग दुई–दुई खेल खेल्दै छ। त्यसका लागि नेपाली टोली शनिवार दुबई गएको छ ।
लामिछानेले पेस गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडाको इजलासले महान्यायाधिवक्ता र लामिछानेको निवेदन एकसाथ राखेर आउँदो आइतवारर पेशी तोक्न आदेश दिएको छ ।
बलात्कार आरोप लागेका लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेशसँगै उच्च अदालतले विदेश जान रोक लगाएको थियो।
आकस्मिक बिदामा बैङ्क खुल्ने
सरकारले आकस्मिक रूपमा दिने सार्वजनिक बिदा दिएको दिन पनि बैङ्क तथा वित्तीय संस्था खुला हुने भएका छन्। नेपाल राष्ट्र बैंकले बैङ्क तथा वित्तीय संस्थाहरूलाई एकीकृत निर्देशन जारी गर्दै उक्त निर्देशन दिएको हो।
केन्द्रीय बैङ्कका अनुसार सरकारले दिने आकस्मिक बिदाका दिन पनि बिहान १० बजेदेखि साढे एक बजेसम्म बैङ्क तथा वित्तीय संस्था खोल्ने व्यवस्था मिलाउनुपर्ने छ।
सरकारबाट आकस्मिक बिदा घोषणा भएको दिन नगद कारोबार, चेक क्लियरिङ, आरटीजीएस, लगायत अत्यावश्यक बैङ्किङ सेवा प्रदान गर्न बिहान १० बजेदेखि दिउँसो १ः ३० बजेसम्म बैङ्क तथा वित्तीय संस्थाले कार्यालय खुला राखी सेवा गर्ने व्यवस्था मिलाउनुपर्ने राष्ट्र बैङ्कको निर्देशनमा भनिएको छ।
बाजुरामा भूकम्प
बाजुरामा बुधवार ५.२ म्याग्निट्युडको भूकम्प गएको छ।
हिमाली गाउँपालिकाको बिच्छया केन्द्रबिन्दु भएर गएको भूकम्पले दुई वटा स्वास्थ्य चौकी र एक विद्यालयमा क्षति पुराएको जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ।