नेपालमा व्यापक हिमपात र प्रम ओलीको सर्वोच्च अदालतलाई जवाफ: गत सात दिन नेपालमा

Nepal Snowfall

सिमिकोटमा परेको हिउँ। Source: RSS

नेपालको उच्च हिमाली भेगमा व्यापक हिमपात भएर त्यहाँको बासिन्दाको जन-जीवन निकै कष्टकर र प्रधानमंत्री ओली को अदालतलाई जवाफ। यी लगायत गत ७ दिनका नेपालका प्रमुख समाचारहरु।


हिमपात

यस हप्ता नेपालमा हुम्ला, जुम्ला लगायतका उच्च हिमाली स्थानहरुमा हिमपात भएको छ। हप्ताको पुर्वार्द्धमा निकै चीसो बढेको थियो र देशभर नै बादल लागेको थियो।

त्यसै बेलामा हिमाली भेगमा हिमपात भएको थियो। हिमपातले चरिचरनमा समस्या ल्याउँदै जनजीवन कष्टकर बनाएको छ भने कृषिलाई फाइदा पुर्याएको छ।

यसैबीच, बादल लागेको मौसम लगायतका कारणले यस हप्ता काठमाण्डुको वायु प्रदुषणले खतराको सीमा नाघेको थियो। वायु गुणस्तर सूचक एक्युआई ३०० भन्दा बढी हुनुलाई विश्व स्वास्थ्य संगठनले  खतरनाक मानेको छ भने केही दिन काठमाण्डुको एक्युआई ४०० भन्दा बढी र एकदिन ६०० सम्म पुगेको थियो।

 एक दिनका लागि विश्वकै प्रदुषित शहर बनेको काठमाण्डुमा अहिले एक्युआई केही घटेर सामान्य अवस्थामा आएको छ।

अदातलमा प्रतिनिधि सभा विघटन

प्रधानमन्त्री केपी ओलीले संघीय संसद विघटन गरेर निर्वाचन घोषणा गरेको विरुद्धमा परेका रिट मुद्दाहरुको सुनुवाई जारी छ। यस बुधबार भएको सुनुवाईमा संवैधानिक ईजलासका पाँच जना न्यायाधीश मध्ये एक जनामाथि प्रश्न उठेपछि उनी संवैधानिक ईजलासबाट बाहिरिएका छन्। 

विगतमा प्रधानमन्त्री ओलीको कानुनी सल्लाहकार रहेका न्यायाधीश हरिकृष्ण कार्की संवैधानिक ईजलासमा रहँदा स्वार्थ बाझिने प्रश्न उठेपछि कार्कीले ईजलासमा नबस्ने बताएका हुन्।

उनको स्थानमा अर्को न्यायाधीश तोकिएको छैन, र सुनुवाई अर्को साताको बुधबारका लागि सारिएको छ।

बुधबारको बहस अघि रिट निवेदकहरुले एउटा संयुक्त निवेदन पत्र दिँदै यो मुद्दा संवैधानिक ईजलासमा नभएर पूर्ण बृहत् ईजलासमा छलफल हुनुपर्ने माग गरेका थिए, तर त्यसबारे कुनै निर्णय गरिएको छैन। साथै ईजलासले मुद्दामा सहयोगका निम्ति 'एमिकस क्युरी' झिकाउने आदेश समेत गरेको छ।
'एमिकस क्युरी' अर्थात महत्वपुर्ण मुद्दामा अदालतलाई रायसल्लाह दिने कानुनविदहरुको रुपमा नेपाल बार एसोशिएसनबाट तीनजना र अदालत बार एसोशिएसनबाट दुईजना अधिवक्ताको माग सर्वोच्च अदालतले गरेको छ।

थुप्रै पक्षबाट प्रधानमन्त्रीको कदमको विरोध जारी छ। नेकपा नेता माधव नेपाल भन्छन्,

"डेमोक्रेटिक क्यारेक्टर भएको मान्छेले यस्तो गर्छ? त्यही हो व्यवस्था? भनेपछि वहाँ आफ्ना विरोधीहरुलाई एक एक गरेर सिध्याउन चाहने वहाँको प्रवृत्ती छ।"

प्रधानमन्त्रीको कदमलाई असंवैधानिक भन्दै चार पुर्व प्रधान न्यायाधीशले एउटा विज्ञप्ती जारी गर्दै उनको विरोध गरेका छन्।  पुर्व प्रधान न्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले विज्ञप्ति जारी गरेपछि ओलीले उल्टो उनीहरुमाथि अनेक आरोप लगाएका छन्।

अदालतलाई लिखित जवाफ

सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको संसद विघटनका सम्बन्धमा देशका उच्च पदस्थ अधिकारीहरुलाई कारण देखाउ आदेश दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओली, संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटा, र राष्ट्रपति विद्यादेवी भण्डारीले लिखित जवाफ पठाएका छन्।
Supreme Court of Nepal
Supreme Court of Nepal Source: Supreme Court of Nepal
प्रधानमन्त्री ओलीले सरकार सञ्चालनमा पार्टीभित्रैबाट अवरोध भएको र वैकल्पिक सरकार गठनको सम्भावना पनि नभएकाले प्रतिनिधिसभा विघटन गर्नुपरेको भन्दै यो राजनीतिक मुद्दा भएकाले अदालतले यसमा प्रवेश गर्न नपर्ने बताएका छन् ।

सभामुख अग्नि सापकोटाले आफु संसद विघटनको विरुद्धमा भएको बताएका छन् भने राष्ट्रपति विद्यादेवी भण्डारीले आफुले प्रधानमन्त्रीको प्रस्ताव अनुमोदन गरेर संवैधानिक दायित्व पुरा गरेको बताएकी छिन्।

प्रधानमन्त्री ओली

प्रतिनिधिसभाको विघटनको विरुद्धमा एक दर्जन भन्दा बढी रिट परेर मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा प्रधानमन्त्री ओलीका सार्वजनिक अभिव्यक्तिहरु विवादित बनेका छन्। ओलीले यस हप्ता पनि थुप्रै कार्यक्रममा प्रतिनिधिसभा पुनर्स्थापित हुनै नसक्ने बताउँदै आएका छन्।

"कतिपयले कुप्रचारहरुको भ्रममा परेर अथवा असरमा परेर आशंका गरिरहनु भएको देखिन्छ – कहीँ पुनर्स्थापना हुन्छ कि? पुनर्स्थापना  गरेर कहाँ पठाउने फेरी? म चलाउन्न भन्दैछु जो दलको नेता हुँ। जोसँग लगभग दुई तिहाई छ उसले ताजा जनादेश चाहियो भन्दैछ!"
OM OLI
सुदूर- पश्चिममा एक सभालाई सम्बोधन गर्दै प्रधानमंत्री ओली। Source: RSS
ओलीले यस हप्ता धनगढीमा विशाल आमसभालाई सम्बोधन गर्दै यही अडान दोहोर्याएका छन्। संक्रामक रोगको महामारीका बीचमा हजारौं मानिस भेला गरेकोमा त्यो कार्यक्रम विवादित बनेको छ भने कार्यक्रममा आएका ७ जना युवालाई गिरफ्तार गरिएपछि ओली अझ आलोचित बनेका छन्।

ती सात युवाले सन् २०१८ मा बलात्कार पछि हत्या गरिएकी किशोरी निर्मला पन्तको बलात्कारी कहाँ छन् भन्ने प्रश्न भएको टिशर्ट लगाएका थिए। पन्तको मुद्दामा सरकारको अकर्मण्यता सरकारको अलोप्रियताको एउटा कडी बनेको थियो।

फेरी त्यस विरुद्धका प्रदर्शनकारीलाई गिरफ्तार गरेर ओलीले शान्तिपुर्ण विरोध गर्ने नागरिक हक खोसेको भन्दै थुप्रैले विरोध गरेका छन्। यस घटनाबाट ओलीले फेरी पनि आफ्नो आलोचना सहन नसक्ने स्वाभाव प्रदर्शन गरेका छन्।

कार्यक्रममा सहभागी मानिसलाई टोपी र पछ्यौरा लगायत कुनै पनि कालो लुगा लगाउन मनाही गरिएको बताइएको छ ।

 

कोरोना

यस हप्ता नेपालमा कोरोना संक्रमित मानिसहरुको कूल संख्या २ लाख ६४ हजार भन्दा बढी छ भने १९०० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ। सकृय संक्रमितको संख्या ४,६०० भन्दा बढी रहेको छ।

 

बाघ र हात्तीको मृत्यु

यस हप्ता मानव श्रृजित कारणमा परेर हात्ती र बाघको मृत्यु भएपछि मानव र वन्यजन्तु बीचको तनाव सतहमा अएको छ। गत शनिवार बिहान हेटौँडा-पथलैया सडक खण्डमा एउटा पोथी बाघको कारको ठक्करबाट मृत्यु भएको थियो। त्यस्तै, सप्तरीमा विद्युतीय करेण्ट लागेर एउटा हात्तीको मृत्यु भएको छ।
 Nepal has recently changed some of its policies which has helped achieve the targets.
Tigers in Nepal's national park. Source: © DNPWC/WWF Nepal
सप्तरीमा गत महिना पनि यसै गरी एउटा हात्तीको मृत्यु भएको थियो। एकातर्फ हात्ती र बाघ जस्ता जनावरले विभिन्न ठाउँमा मानव बस्तीमा पसेर बालीनाली विनाश गर्ने वा मानिसहरुमाथि नै हमला गर्ने गरिरहेका छन् भने अर्कोतर्फ मानव बस्ती र गतिविधि बढेकै कारणले वन्यजन्तुको वासस्थानलाई संकुचित बनाउँदै लगेको पनि देखिन्छ।

नेपालले वन्यजन्तु संरक्षण र विशेषगरी बाघको संख्या बढाउनमा निकै प्रगति गरेको छ। तर त्यसका कारणले बढ्दो मानव र वन्यजन्तु बीचको तनाव भने नेपालको अबको चुनौती देखिन्छ।


Share