सगरमाथा चार पटक चढेका कुङ्गा शेर्पाले दौडेरै चढे अस्ट्रेलियाकै सबैभन्दा अग्लो चुचुरो

Kunga Sherpa_mountaineer_nepali climber_Sherpa Guide

Source: Supplied

पर्वतारोहण व्यवसाय यात्रामा ४ पटक सगरमाथाको सफल आरोहण गरिसकेका कुङ्गा शेर्पाले अस्ट्रेलिया कै सबैभन्दा अग्लो चुचुरो माउन्ट कजिओस्को चढे तर सामान्य कपडामा र त्यसमाथि पनि दौडिएर।


अस्ट्रेलियामा घुम्न आएका कुङ्गा शेर्पाले यहाँका उचाइसँग सम्बन्धित साहसिक खेलहरूको रमाइलो लिएका छन्।

उनले केहि समय अगाडी अस्ट्रेलियाको सबैभन्दा अग्लो कजिओस्को हिमाल चढेका थिए।

स्नोई माउन्टेन क्षेत्रमा पर्ने २, २२८ मिटरको उचाइमा रहेको सो हिमाल चढ्न पनि उनलाई निकै रमाइलो भएको थियो।

८,००० मिटर माथिका हिमाल चढिसकेका कुङ्गा शेर्पाले अस्ट्रेलिया कै अग्लो हिमाल भन्दा त्यहाँ चढ्न पनि गाह्रो नै हुन्छ होला भन्ने सोचेका थिए।
सुन्दाखेरि अस्ट्रेलियाको सबैभन्दा अग्लो चुचुरो भन्दा चाहिँ त्यहाँ पनि अब टेक्निकल नै होला, यताउता चढ्नु पर्छ होला भनेको त त्यहाँ त पुरा कुदेर सामान्य टि-शर्ट लगाएर पो जाँदो रहेछन्।
तर उनलाई त्यसमा पनि निकै रमाइलो लागेको अनुभव सुनाए।
Kunga Sherpa_mountaineer_nepali climber_Sherpa Guide
Source: Supplied
अस्ट्रेलियामा एक महिना बढी समय बिताइसकेका कुङ्गालाई ब्लु माउन्टेनमा रक क्लाइम्बिङ्ग गर्न निकै रमाइलो लागेको थियो।

उनले नेपालको हिमाल चढ्न र अस्ट्रेलियामा रक क्लाइम्बिङ्ग गर्नमा उचाइको हिसाबले हिमाल चढ्न गाह्रो भए पनि रक क्लाइम्बिङ्ग प्राविधिक हिसाबले कठिन भएको पाए।

अस्ट्रेलियालीहरू सँग खासै सहकार्य नगरेका कुङ्गाका धेरै युरोपेली ग्राहकहरू हुने गर्दछन्।

कुङ्गा शेर्पा परिचय :

ओखलढुङ्गा जिल्लामा हिमाली दृश्यहरू माझ जन्मी हुर्केका कुङ्गा शेर्पाका बुवा पनि ट्रेकिङ गाइड भएकाले उनलाई यस क्षेत्रमा विशेष रुचि रहेको थियो।

परिवारका धेरै  सदस्यहरू ट्रेकिङ व्यवसायमा भएकाले पनि आफूले त्यहीँबाट ट्रेकिङ हुँदै आरोहण तर्फ लागेको उनको भनाइ छ। 

२१ वर्षको उमेर देखि नै सानातिना हिमाल चढेर हिमाल आरोहण बारे अनुभव बटुलिसकेका कुङ्गा शेर्पा सन् २०१६ मे महिनामा सगरमाथाको सफल आरोहण गर्दा  २३ वर्षका थिए।
Kunga Sherpa_mountaineer_nepali climber_Sherpa Guide
Source: facebook/ Kunga Sherpa
पहिलो पटक सगरमाथा आरोहण गर्दा ओखलढुङ्गा जिल्लाका सबैभन्दा कान्छा आरोही भनेर स्थानीय रेडियोहरूमा आफ्नो बारेमा भनेको सम्झिँदा उनलाई निकै रमाइलो लाग्छ।

डेथ जोन भनेर चिनिने सगरमाथाको ७,००० मिटर माथि पुग्दा चाहिँ उत्साह र आत्तिएको साथै विश्वास नै गर्न गाह्रो भएको शेर्पा सम्झिन्छन्।

"७,००० भन्दा माथि जाँदा चाहिँ सबैले त्यसलाई डेथ जोन भनेर चिन्दो रहेछ। त्यसपछि आफैँ नर्भस भए, म मात्र नभएर पहिला पहिला गएको साथीहरू पनि नर्भस नै हुँदो रहेछ।"
पर्वतारोहण शेर्पाहरूका लागी खासै अप्ठ्यारो काम होइन भन्नेहरूलाई कुङ्गा यसको लागी जो सुकैले पनि कडा परिश्रम र तालिम लिनु पर्ने बताउँछन्।

"मैले नेपालको एडभान्स लेभलको ट्रेनिङ सकाएको छु। त्यो भनेको मैले पर्वतारोहण गर्न जति पनि लिनु पर्ने ज्ञान हो मैले लिइसकेको छु।"
Kunga Sherpa_mountaineer_nepali climber_Sherpa Guide
Source: facebook/ Kunga Sherpa
हिमालबाट उद्धार गर्ने लगायतका आरोहण सम्बन्धी सम्पूर्ण तालिम सकाएका उनलाई सगरमाथाको शिखर सम्म पुग्ने सपना बोकेर आएका पर्यटकहरूलाई उनीहरूको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा बिच बाटो बाटै फर्काउनु सबैभन्दा अप्ठ्यारो परिस्थिति लाग्दछ।

पर्वतारोहण समस्या :

पर्यटकहरूलाई हिमाल चढ्न सहयोग गर्ने आफू जस्ता पर्वतारोहीहरू आगामी दिनमा कम हुँदै जाने उनको भनाइ छ।

उनी भन्छन् अबको नयाँ पुस्ताले सुरक्षा र सरकारी सहयोगमा कमी भएका कारण यो पेसामा रुचि गुमाउने देखिन्छ।
यो पनि पढ्नुहोस्

Why is Mount Everest running out of Sherpa guides?

"अहिलेका नयाँ पुस्ताका जति पनि पर्वतारोहीहरू छन्, उहाँहरूलाई अब एक त त्यहाँ सुविधा पनि खासै राम्रो भएन अनि अर्को कुरा उनीहरू चाहिँ धेरै नै विदेश पलायन हुने गरेको देखियो।"

सरकारी स्तरबाट नै यसको बारेमा नीति नियम नल्याए सम्म शेर्पा वा अन्य गाइडहरू पलायन हुने सम्भावना देख्छन् कुङ्गा शेर्पा।

लामो समय सम्म यस पेसामा लाग्न सुरक्षित नदेखेकाले उनी आफैँले पनि चार/ पाँच वर्ष मात्र यसमा लाग्ने सोच बनाएका छन्।
Kunga Sherpa_mountaineer_nepali climber_Sherpa Guide
Source: facebook/ Kunga Sherpa
५० वर्ष पछि पर्वतारोहीको बिमा नहुने भएकाले पनि यो पेसाको अवधि यसै पनि छोटो हुने गर्दछ।

धेरै युरोपेली ग्राहकहरू सँग काम गरेका कुङ्गा शेर्पा कोभिड -१९ अर्थात् कोरोना भाइरसले केही युरोपेली राष्ट्रहरूमा पारेको प्रभावले गर्दा आफ्नो व्यवसायमा पनि प्रतिकूल असर पर्ने देख्छन्।

मार्चबाट सुरु भएको स्प्रिङ सिजनलाई पर्वतारोहणको दृष्टिकोणले निकै व्यस्त र उपयुक्त सिजनका रूपमा लिइन्छ।

तर यही समयमा विश्व स्वास्थ्य सङ्कटको रूपमा देखा परेको कोरोना भाइरस सङ्क्रमणले गर्दा आफूहरूको व्यवसायमा निकै ठुलो क्षति पुगेको शेर्पा बताउँछन्।

नयाँ ग्राहकहरू आउने अवस्था त अत्यन्त न्यून रहेको छ नै तर कतिपय ग्राहकहरूले त वर्षौँ देखिको योजना अनुरूप पर्वतारोहण गर्ने सपना बोकेर बुकिङ गरेको पनि रद्द गर्न थालेका छन्।
Experience Nepal
Source: Nepal Tourism Board
नेपाल सरकारले यही सङ्क्रमणका कारण बहुप्रतिक्षित भ्रमण वर्ष २०२० लाई समेत स्थगित गर्नु परेको समयमा आफूहरूले अहिले यो अवस्था सुधारका लागी केही गर्न नसक्ने उनको भनाइ छ।

अस्ट्रेलिया भ्रमण र कोरोना भाइरस सङ्क्रमणले पर्वतारोहण व्यवसायलाई पारेको प्रभावबारे कुङ्गा शेर्पासँग गरिएको कुराकानी तलको लिङ्क क्लिक गरेर सुन्न सक्नुहुनेछ। 
पर्वतारोहण केही रोचक प्रसङ्ग:

चुचुरोमा पुग्न ५ मिटर मात्र बाँकी भए पनि पर्वतारोहीको स्वास्थ्य अवस्था बिग्रियो भने उनीहरूले आफूले सक्ने भनेर दबाब दिए पनि तल नै फर्काउनु पर्ने नियम हुन्छ भन्छन् कुङ्गा।

"जस्तै ८,००० को हिमाल चढ्नु पर्नेमा ७,९८० मा पुगेर ऊ नसक्ने अवस्थामा पुग्यो र २० मिटर मात्र बाँकी छ भने पनि हाम्रो तालीमले सिकाएको कुरा चाहिँ कुनै पनि क्लाइन्ट जुन पोइन्टमा बिरामी भए पनि माथि लान मिल्दैन।"

कुङ्गाले पहिलो पटक नेपाल तर्फको भागबाट सगरमाथा चढेका थिए भने दोस्रो पटक उत्तर तर्फ अर्थात् चीनतर्फबाट सगरमाथाको सफल आरोहण  गरे।
Kunga Sherpa_mountaineer_nepali climber_Sherpa Guide
Source: Supplied
उनलाई सामान्यतया दक्षिण भन्दा उत्तर तर्फबाट चढ्न सजिलो हुन्छ भन्ने गरेको साँचो लाग्यो। चीन तर्फबाट चढ्दा  हिउँ कम भएका कारण पत्थरमा हिँड्नु पर्दा चाहिँ केही गाह्रो भएको थियो। 

गत वर्ष सगरमाथामा भिड भन्दै नेपाल तर्फबाट हिमाल आरोहण गर्नेहरूको लस्कर सहितको एक तस्बिर अन्तर्राष्ट्रिय सञ्चार क्षेत्रमा भाइरल भएको समयमा कुङ्गा चीन तर्फको उत्तरी भागमा थिए।
Crowded Everest Nepal Mountain
A long queue of mountain climbers line a path on Mount Everest just below camp four, in Nepal. Source: AP//Rizza Alee
उनलाई लाग्छ ढिलो गरी हिँड्ने पर्वतारोहीले बाटो छेकेको कारण अन्य सबैले पनि उनलाई पछ्याउँदा त्यस्तो लामो लस्कर देखिएको हुनसक्छ।

"एकदम ढिलो हिँड्ने मान्छे चाहिँ अगाडी हिँड्दाखेरि त्यसलाई ओभरटेक गरेर हिँड्ने एकदम कम चान्स हुन्छ रातीको समयमा त्यही भएर उसकै गतिमा हिँड्नु पर्ने भएकोले त्यस्तो ट्राफिक हुन सक्छ।"

कुङ्गाले विदेशी पर्यटकहरूलाई सगरमाथा लगायत नेपाल भरका विभिन्न हिमालहरूमा लाने गर्दछन्। उनले विदेशी पर्यटकहरू पहिले देखि नै योजना बनाएर गाह्रो कि अग्लो हिमाल चढ्ने बारे स्पष्ट हुने गरेको पाएका छन्।
Kunga Sherpa_mountaineer_nepali climber_Sherpa Guide
Source: facebook/ Kunga Sherpa
कसैले गाह्रो तर होचो हिमाल चढ्ने योजना बनाएका हुन्छन् भने कतिले अग्लो तर सजिलो हिमाल चढ्ने सोच लिएर आउँछन्। 

त्यसैले सबैका लागी सगरमाथा नै चढ्नु प्राथमिकतामा हुँदैन।

सगरमाथा आरोहण यात्रामा लगभग दुई महिना बिताउनु पर्दा चाहिँ निकै पट्यार लाग्ने कुङ्गा बताउँछन्। 

"उत्तर तर्फ हामी सामान्यतया ६,४०० मिटरमा लगभग एक महिना बिताउँछौँ। अब त्यहाँ चाहिँ केही पनि हुँदैन इन्टरनेट हुँदैन, खेल्ने मैदान हुँदैन त्यो भएर चाहिँ एकदमै बोल हुने क्या।"

यसरी विदेशी पर्यटकहरूलाई लिएर पर्वतारोहणका लागी जानु निकै रोमाञ्चक हुने गरे पनि कहिले काहीँ यस काममा पनि पट्यार लाग्ने गरेको उनी बताउँछन्।
Kunga Sherpa_mountaineer_nepali climber_Sherpa Guide
Source: facebook/ Kunga Sherpa



Share