अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा सुरक्षित र शीतल कसरी रहने?

Loving couple at the beach

tips to keep safe and cool during an Australian summer - Getty Credit: andresr/Getty Images

गर्मी याम भन्ने बित्तिकै सफा आकाश र न्यानो मौसम भन्ने सोच आउँछ। धेरैका लागि यो चिसो महिनाहरू सकिए पछिको स्वागत योग्य परिवर्तन पनि हो। तर अस्ट्रेलियाको गर्मी मौसम चाँडै चर्को घाम र सुख्खा अवस्थाहरूमा बद्लिन सक्छ। उच्च यूभी भएका किरणहरूले गर्दा अझै विचार पुर्‍याउनु पर्ने हुन्छ। त्यसो भए, अत्यधिक तातो हुने अस्ट्रेलियाको गर्मीमा कसरी सुरक्षित र शीतल रहन सकिन्छ त?


मुख्य बुँदाहरू:
  • गर्मीको दिनमा प्रशस्त पानी वा 'इलेक्ट्रोलाइट'हरू पिउनुहोस्।
  • बाहिर जाँदा एसपीएफ ५० वा माथिको सनस्क्रिन प्रयोग गर्नुहोस्।
  • घरबाट निस्कनु अघि सधैँ यूभी स्तरको जाँच गर्नुहोस्।
गर्मी मौसममा पसिना आउनु हाम्रो शरीरमा हुने प्राकृतिक प्रक्रिया हो। सिड्नीकी जीपी एन्जेलिका स्कट भन्छिन् कि, पसिना आउनु भनेको जिउमा तातो फैलाउने र तापक्रम नियन्त्रण गर्ने शरीरको तरिका हो।

तर असाधारण तातो मौसममा, शरीरमा ‘हिट स्ट्रोक’ जस्ता गम्भीर अवस्थाहरू हुन सक्छन्।

शरीरले पसिनाको माध्यमबाट धेरै मात्रामा नुन र पानी गुमाएपछि थकानको अनुभव हुन्छ।

अर्कोतर्फ, हिट स्ट्रोक भने धेरै गम्भीर अवस्था हो। स्ट्रोक हुँदा शरीरले आफ्नो आन्तरिक तापक्रमलाई नियन्त्रण गर्ने क्षमता गुमाउने भएकोले यसलाई 'मेडिकल इमर्जेन्सी' अर्थात् आपतकालीन अवस्थाको रूपमा पनि हेरिन्छ।

गर्मीका कारण थकान वा स्ट्रोक आउँदा के कस्ता सङ्केतहरू देखिन्छन् भन्ने बारे डाक्टर स्कटले बताएकी छिन्।
तपाईँको शरीरमा गर्मीका कारण हुने थकानको समयमा टाउको दुखाइको साथै गर्मी हुने र धरै पसिना आउने जस्ता सङ्केतहरू देखिन्छन्। धेरै थकान महसुस गर्नु भनेको अत्यधिक गर्मीको कारण तपाईँको मस्तिष्क र शरीरले सबै कुरा सुस्त हुँदै गएको सङ्केत दिनु पनि हो। अवस्था बिग्रिँदै गयो भने, यो थकानले सम्भावित रूपमा हिट स्ट्रोक निम्त्याउन सक्छ।
डाक्टर एन्जेलिका स्कट, जीपी
नेपाली मूलका जीपी डाक्टर प्रबिन पाठक गर्मी याममा विभिन्न खाले समस्याहरू देखिने बताउँछन्‌।

विशेष गरी दीर्घकालीन रोग भएका मानिसहरू यो समयमा केही सतर्क रहनु पर्ने उनले बताए।

त्यसो भए गर्मी याममा शीतल र सुरक्षित कसरी रहने त?

१. प्रशस्त पानी वा 'इलेक्ट्रोलाइट' पिउनुहोस्

थकान वा स्ट्रोकको रोकथाम गर्न दिनभर ‘हाइड्रेटेड’ रहन महत्त्वपूर्ण रहेको डाक्टर स्कटको भनाइ छ।

"पानी वा इलेक्ट्रोलाइट पिएर आफूलाई हाइड्रेटेड राख्नुहोस्, किनभने सोडा वा चिनी भएका पेय पदार्थहरूले झनै हानि गर्न सक्छ। तिनमा क्याफिन हुन्छ, त्यसैले तपाईँलाई धेरै पटक पिसाब आउने समस्या हुन्छ," उनले बताइन्।

डा पाठकले पनि हिट स्ट्रोक भएमा आपतकालिन सेवा बोलाउनु परे तापनि अन्य सामान्य अवस्थामा भने आफैले केही उपायहरू अपनाउन सकिने बताएका छन्।

”यदि काम छैन भने बाहिर घाममा नहिँड्ने, बाहिर जानै परे वेल-हाइड्रेड गराउने, अलिकति लक्षणहरू देखिए जस्तो भयो भने ख्याल गर्ने र शीतलमा बस्ने," डाक्टर पाठकले बताए।

२. पचाउन गाह्रो हुने खानेकुरा नखाने

तरल पदार्थ बाहेक, खानेकुराको प्रकार र मात्रालाई पनि विचार गर्न महत्त्वपूर्ण रहेको डा. स्कट बताउँछिन्।

“धेरै गर्मी भएको दिनमा पचाउन गाह्रो हुने भारी खाना खाएपछि अझै थकित महसुस हुन सक्छ। पचाउन सजिलो हुने हल्का खानेकुरा, खर्बुजा जस्ता फलफूल, र तरकारीहरूमा चाहिँ पानीको मात्रा धेरै हुन्छ जुन हाइड्रेसनको लागि पनि धेरै महत्त्वपूर्ण हुन्छ," उनले बताइन्।

तरल पदार्थको सेवन र खानाको छनोट, दुवै सावधानीपूर्वक गर्नु आवश्यक रहेको डा स्कटको भनाइ छ।

त्यस्तै, छालाको हेरचाह गर्नु पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताइन्।
Cheerful woman gardening in backyard
Stay hydrated throughout the day as a critical preventive measure against heat exhaustion. Credit: The Good Brigade/Getty Images

३. छालालाई घामबाट जोगाउनुहोस्

पातलो र हल्का किसिमको लुगा लगाउन र घर भित्र वा छाया भएका स्थानहरूमा बस्नुका साथै, छालालाई घामबाट जोगाउनका लागि 'सन प्रोटेक्सन फ्याक्टर' ( एसपीएफ) भएको सनस्क्रिनको प्रयोग गर्न डाक्टर स्कटले सुझाव दिएकी छिन्।

एसपीएफले कुनै सनस्क्रिन क्रिमले छालालाई 'सनबर्न' अर्थात् घामले डढ्नबाट कत्तिको जोगाउँछ भन्ने कुराको मापन गर्छ।

“एसपीएफ ५० वा त्यो भन्दा बढी भएको सनस्क्रिन मज्जाले प्रयोग गर्नु साँच्चै नै महत्त्वपूर्ण छ। सामान्यतया, हामी अनुहारमा मात्र सनस्क्रिन लगाउने गर्छौँ तर छाती, कान र हातहरू जस्ता भागहरूमा पनि सनस्क्रिन लगाउन नबिर्सनुहोस्," डाक्टर स्कटले बताइन्।

'अल्ट्राभायलेट रे' अर्थात् 'यूभी' भनेर चिनिने घामका हानिकारक किरणहरूको असरबाट बच्नका लागि पनि सनस्क्रिन लगाउनु पर्ने डाक्टर प्रबिन पाठकले बताएका छन्।

“हामीले एसपीएफ ३० भन्दा माथि लगायो भने पर्याप्त हुन्छ, तर मुख्य कुरा के छ भने, घाम पर्ने जिउको भागमा लगाउने हो तर विचार के पुर्‍याउनु पर्छ भने यसले एक पटक लगाएपछि दिनभरिलाई काम गर्दैन, प्रत्येक दुई-तीन घण्टामा लगाइरहनुपर्छ," उनले बताए।
क्यान्सर काउन्सिलको नेशनल स्किन क्यान्सर कमिटीकी अध्यक्ष, प्रोफेसर एन कस्ट भन्छिन् कि अस्ट्रेलियाको उच्च यूभीको स्तरका कारण सनस्क्रिन प्रयोग गर्न छुटाउनु हुँदैन।

यूभी किरणहरू छालामा लामो समयसम्म पर्दा छालाको क्यान्सर हुने जोखिम हुन्छ।

“हामीले अस्ट्रेलियामा धेरै तीव्र यूभी रेडिएसन एक्सपोजर पाउँछौँ, जसको कारण छालाको क्यान्सरको दर अस्ट्रेलिया र न्यु जिल्यान्डमा उच्च र युरोपमा भन्दा लगभग दोब्बर देख्न सकिन्छ," कस्टले बताइन्।

प्रोफेसर कस्टले अस्ट्रेलियामा कति तीव्र यूभी रेडिएसन हुन सक्छ भन्ने कुराको विवरण दिएकी छिन्।

“अस्ट्रेलियाका धेरैजसो ठाउँहरूमा गर्मी महिनाहरूमा यूभी इन्डेक्स लगभग १२ देखि १४ सम्म पुग्छ, जबकि मेडिटेरेनियन क्षेत्र वरपर र युरोपको दक्षिणी भागहरूमा यूभी लगभग आठसम्म पुग्छ," उनले बताइन्।
Asian mother applying sunscreen lotion to protect her daughter's face before exercise while setting on floor in the park at outdoors
Most places in Australia have a UV index that peaks at around 12 to 14 in the summer months Credit: Six_Characters/Getty Images
कस्ट बताउँछिन् कि यूभी कत्तिको हानिकारक छ भन्ने कुरा देख्न सकिँदैन, र कति गर्मी छ भन्ने कुराले पनि यसको निर्धारण गर्दैन।

शीतल र बादल लागेका दिनमा पनि यूभी इन्डेक्स बढी र हानिकारक हुन सक्ने उनको भनाइ छ।

"त्यसमाथि पनि यदि तपाईँ पानीमा हुनुहुन्छ भने वा कुनै प्रकारको पानीसँग सम्बन्धित गतिविधि गर्दै हुनुहुन्छ भने अझै धेरै यूभी रिफ्लेक्ट हुन्छ," उनले बताइन्।

बालबालिकाको हकमा भने चिकित्सकहरूले छ महिना मुनिका बच्चाहरूलाई सनस्क्रिन लगाउन सुझाव नदिइने भएका कारण घामको सिधा किरणबाट बचाउन र शरीर ढाकिने कपडा लगाइदिन सुझाव दिने डा पाठक भन्छन् ।

"हिट र्‍याशेस (गर्मीका कारण छालामा आउने डाबर) पनि हुन सक्छ, त्यसैले गर्दा चाहिने भन्दा बढी लुगा पनि लगाइदिनु हुँदैन, छ महिना भन्दा बढीका बच्चाहरूलाई सनस्क्रिनको इन्स्ट्रक्सनमा लेखिए अनुसार लगाउन मिल्छ।"

४. यूभीको स्तरबारे सावधान रहनुहोस्

सनस्मार्टले सूर्यको विकिरणको जोखिमलाई धेरै ध्यान नदिने समस्याको सामना गर्न हालै एउटा अभियान सुरु गरेको छ।

'डोन्ट लेट क्यान्सर इन' नामको यो अभियानले मानिसहरूले समुद्री तटतिर जाँदा वा पानी सम्बन्धी गतिविधिहरूमा सहभागी हुँदा मात्र घामबाट जोगिने कुरालाई ध्यान दिने गरेको प्रवृत्तिलाई सम्बोधन गर्न खोजेको छ।

यस अभियान मार्फत मानिसहरूलाई घामका विकिरणहरूबाट सुरक्षित रहने कार्यलाई दैनिक दिनचर्याको हिस्सा बनाउन आग्रह गरेको छ।

सनस्मार्टकी प्रमुख एमा ग्लासेन्बरीले अभियानका लक्ष्यहरू राष्ट्रव्यापी रूपमा अपनाइने आशा रहेको बताएकी छिन्।

“तपाईँले के गर्दै हुनु हुन्छ भन्ने कुराले फरक पार्दैन ... चाहे तपाईँ कुकुर डुलाउँदै हुनुहुन्छ, बगैँचामा वा घरपछाडि बच्चाहरूको हेरचाह गर्दै हुनुहुन्छ, सुरक्षित भएर मात्र घरबाट निस्कनुहोस्, छाला छोपिने किसिमको लुगा लगाएर, यूभी स्तरहरू जाँचेर मात्र बाहिर निस्किनुहोस्।“
ग्लासेन्बरीले मानिसहरूले बाहिर निस्कनु अघि आफ्नो वरपरको यूभी स्तरहरू सजिलैसँग जाँच गर्न सक्ने बताइन।

आफू घरबाट बाहिर निस्कनु अघि यूभी कत्तिको हानिकारक छ भनेर कसरी पत्ता लगाउने?

“यूभी स्तर वा सूर्यबाट सुरक्षित बस्नु पर्ने समयहरूका बारेमा कुनै पनि मौसम पूर्वानुमानमा जानकारी पाउन सकिन्छ। तपाईँले सनस्मार्ट ग्लोबल यूभी एप पनि डाउनलोड गर्न सक्नुहुन्छ। आठ विभिन्न भाषाहरूमा उपलब्ध भएको यो एपले जुनसुकै बेला विश्वभरिको यूभी स्तरहरू र सुरक्षित रहन विशेष ध्यान पुर्‍याउनु पर्ने समयहरूबारे जानकारी दिन्छ," ग्लासेन्बरीले बताइन्।

५. यी पाँच कुराहरू सम्झनुहोस्: छाला छोप्ने लुगा, क्याप, सनग्लास, सनस्क्रिन र छाया

ग्लासेन्बरीले मानिसहरूलाई यूभी स्तरको बारेमा सावधान रहँदै अस्ट्रेलियाको गर्मीमा कसरी आफूलाई सुरक्षित राख्ने भन्ने जानकारीका साथ गर्मी यामको मज्जा लिन बताएकी छिन्।

“हामी एक सुन्दर देशमा बस्छौँ, तर यसको साथमा हानिकारक यूभी किरणहरूले छालाको क्यान्सर निम्त्याउन सक्छ। हामी चाहन्छौँ कि युभी स्तर तीन वा सो भन्दा माथि पुगेपछि, मानिसहरूले बाहिरको आनन्द लिँदा आफूलाई पनि सुरक्षित राखुन्," उनले बताइन्।

"यसका लागि छाला छोप्ने किसिमको लुगा लगाउने, फराकिलो किसिमको ह्याट लगाउने, सनग्लास, कपडाले नढाकिएको छालाको भागहरूमा सनस्क्रिन लगाउने र अतिरिक्त सुरक्षाको लागि छायामा बस्ने - गर्मीमा यी पाँच उपायहरू अपनाएर सुरक्षित रहन सकिन्छ।”

Share