महिलालाई मारेको केस रहेछ भने पनि मिलाइदिन्छन्, गर्भपतन पनि मिलाइदिन्छन्: पुर्व प्रधान न्यायाधीश सुशिला कार्की

 Sushila Karki - Ex Chief Justice, Supreme Court of Nepal with her book KARA

Source: SBS Nepali/Sewa Bhattarai

सुशीला कार्की नेपालकी प्रथम महिला प्रधान न्यायाधीशका रूपमा परिचित छिन्। पेसागत जीवनबाट निवृत्ति भएपछि भने उनले साहित्यकारको परिचय बनाउँदै लगेकी छिन्। उनी विभिन्न पत्रपत्रिकामा लेख लेख्छिन्, उनको 'न्याय' नामक आत्मकथा प्रकाशित भइसकेको छ भने भर्खरै उनको पहिलो उपन्यास 'कारा'को विमोचन भएको छ। पुरुष पात्र कमै भएको यो उपन्यासमा नायक र खलनायक दुवै भूमिकामा महिलाहरू नै छन्। उनीसँग उनको लेखन र पठनका बारेमा सेवा भट्टराईले कुराकानी गरेकी छिन्।


तपाईँको नयाँ उपन्यासको छोटो परिचय दिनुहोस् न। के विषयमा छ यो उपन्यास?

यो उपन्यास महिला कारागार भित्रका महिलाहरूको हो। तर यो ३० वर्ष पहिलेको कुरा हो। २०४६ साल तिरको कुरा हो। म धेरै होइन एक डेढ महिना थुनिएकी थिएँ। अनि मैले सोचेँ – यसबारेमा लेख्नुपर्छ। अनि मैले आफूलाई लागेका कुराहरू डायरीमा संक्षिप्त रूपमा टिप्दै टिप्दै गएँ।

मलाई के बाट आकर्षण भयो त्यहाँ देख्दा भने – त्यो बेला इथियोपियामा भोकमरी भएको, मानिसहरूको दुर्दशा भएको कुराले संसारभर ठुलो हलचल भएको थियो।

जेलभित्र पनि मैले त्यस्तै पाएँ। ३५-४० जना महिलाहरू एकदम दीन हीन अवस्थामा। नुहाउन, लुगा लगाउन पनि मतलब छैन। एक त लुगा पनि हुँदैन। अनि अर्को कुरा परिवारले पनि हेर्दैन। गर्भपतन, हत्या जस्ता फौजदारी मुद्दा लागेपछि परिवारले हेर्दैन।

हामीलाई तिरस्कार गरिएको हो, त्यसैले हामी थुनिएका हौँ, हामी समाजमा बस्न लायक छैनौँ भन्ने भावना उनीहरूमा देखेँ मैले।

मैले ३१ वर्षसम्म वकालत गरेँ। वकालत गर्दा कैयौँ त्यस्ता महिला मसँग ठोक्किन आए। त्यो कुराहरूको पनि एउटा प्रभाव पर्‍यो म मा। 

कथाहरू चाहिँ कतिपय काल्पनिक छन्। कति कुरा चाहिँ केही कुरा थाहा पाएर त्यसैमा बढाएका पनि छन्। तर, वास्तवमा कता कता यथार्थ जस्तो नै देखिन्छ।

जस्तै, पहिले नाइकेनी कस्ती थिई। हुँदा हुँदा राती राती राम्रा महिलाहरू त्यहाँबाट बाहिर लाने। र त्यहाँ देखिएका शोषणहरू। रद्दी गनाउने चामल दिने। हुन त त्यो चामल त मैले पनि खाएँ। दुई छाक नै राम्रोसँग नपुग्ने। खान नपुगेर बिहान पकाएर भात पानीमा भिजाएर राख्ने, अनि बेलुका त्यही भात फेरी खाने।

त्यहाँ महिलाहरू तान बुन्न सिकेर सामानहरू बनाएर बेच्थे। तर राम्रो मुनाफा पाउँदैनथे किनकि जेल प्रशासनले खाइदिन्थ्यो। त्यहाँ भित्र लभ अफेयर पनि हुन्थ्यो भन्ने सुनेँ मैले। र त्यही एउटा पात्रलाई उभ्याएर लभ अफेयर पनि देखाएँ। अनि नाइकेनीको क्रूर भूमिका।

बाहिर आकाशमा चराहरू घुमिरहेको हुन्छन्, नाचिरहेको हुन्छन्। आफूभन्दा चरा स्वतन्त्र हुन्छ भन्यो। त्यहाँ भित्र फोहोरै फोहोर छ। आफू बसेको ठाउँ सफा गर्‍यो, अरूलाई त के भन्नु। जति छ त्यति मै चित्त बुझाएर कन्सन्ट्रेट गरेपछि त त्यही नै संसार पनि हुँदो रहेछ। त्यस्तै त्यस्तै जे जे भावना आएको थियो मैले एउटा पात्रलाई त्यही बोल्न लगाएँ।
Sushila Karki - Ex Chief Justice, Supreme Court of Nepal
सुशीला कार्की Source: SBS Nepali/Sewa Bhattarai
तपाईंले तीन दशक अगाडिका महिलाहरूको अवस्था सुनाउनुभयो। आजसम्म आउँदा महिला र न्याय प्रणालीको सम्बन्ध उस्तै छ कि छैन?

यहाँको खराबी के हो भने इन्भेस्टिगेसन हुँदैन। पार्टी पार्टी भइदिने। अनि त्यसैको बलमा कतिपय महिलाहरूका मुद्दा अड्डा अदालतसम्म पुग्दै पुग्दैनन्। थाना चौकी मै मिलाइदिन्छन्। महिलालाई मारेको केस रहेछ भने पनि मिलाइदिन्छन्, गर्भपतन पनि मिलाइदिन्छन्। अथवा महिला बेचबिखनका कुराहरू, महिला हिंसाका कुराहरू पनि गाउँतिर, धेरै कुरा थाहा नपाउने ठाउँमा त जबरजस्ती मिलाइदिई हाल्छन्।

थोरै तपाईँको लेखाइको कुरा गरौँ। तपाईँलाई कस्तो किताब पढ्न मन पर्छ? को लेखकहरू मन पर्छन्? र आफू लेख्न बस्दा यस्तो लेख्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो कि लाग्दैनथ्यो?

हाम्रो बेलामा चाहिँ एसएलसी वा इन्टरमिडिएट पढिसके पछिको खाली समयमा उपन्यासहरू पढ्ने चलन थियो। भेटेदेखि गुल्शन नन्दा देखि लिएर अमृता प्रीतसम्म, कति कति नाम गन्ती छैन, सबै पढ्थेँ।

मैले धेरै चाहिँ रुसी उपन्यासहरू पढेँ। गोर्की देखि लिएर वार एण्ड पिस, क्राइम एण्ड पनिश्मेण्ट, अन्ना करेनिना, लियो टोल्स्टोयका किताबहरू असाध्य पढेको छु मैले। मलाई सबभन्दा मन परेको उपन्यास पर्ल एस बकको द गुड अर्थ हो, चीनको बारेमा। त्यो राम्रो छ।

यस्तै लेख्नु पर्ने रहेछ भन्ने चाहिँ मलाइ पारिजातको पढेर लाग्यो। पारिजातको मैले टोटल पढेको छु। शिरीषको फूल जस्तै लेख्न पाए हुन्थ्यो जस्तो लाग्यो। त्यो किताब जति पढे पनि नअघाइने। तर अब त्यस्तै लेख्न त आफूमा पनि खुबी हुनुपर्‍यो। पारिजात त पारिजात हुन्। हामी त त्यस्तो होइन।
Blue Mimosa Sirishko Phul - Parijat
Source: SBS Nepali
आजकाल तपाईँको पढ्ने लेख्ने बानी कस्तो छ? कति बेला, कुन समय निकाल्नुहुन्छ?

हामी उमेर पनि भएकाले राती पढ्न गाह्रो हुँदो रहेछ। बिहान खाना खाएपछि पढ्छु। अहिले त म नियमित लेखहरू लेखिरहेको छु।

महिनाको दुइटा जति लेख्छु, धेरै लेख्न पनि गाह्रो हुन्छ, त्यसको तयारी गर्नका लागि पढ्नुपर्छ।

उपन्यास पनि पुनर्लेखन गरेकी हुँ। पहिले चाहिँ रुसी उपन्यासहरू जस्तो लामो ६०० पेजको लेखेकी थिएँ। यसै गरी बसेर छोट्ट्याएँ।

तपाईँको श्रीमान् पनि लेखक हुनुहुन्छ। तपाईँहरू बिचमा त्यसको केही असर छ? लेखकीय संवाद गर्ने अथवा एक अर्कालाई आफ्नो लेखाइ देखाउने?

त्यो एकदमै हुन्छ। कतिपय कुरामा कन्फिडेन्स हुँदैन। मलाई कतै कुनै कुरामा विवाद हुन्छ जस्तो लाग्यो भने म वहाँलाई देखाउँछु। बाहिरको मान्छेले पढेर गाली गर्नुभन्दा बरु घरकै मान्छेले पढेर गाली गर्दा ठिक हुन्छ भनेर ।

अब तपाईँको परिचय पूर्व प्रधान न्यायाधीश भनेर दिन चाहनुहुन्छ कि लेखक भनेर दिन चाहनुहुन्छ?

अहिले त मेरो भर्खर एउटा किताब निस्केको छ। न्याय क्षेत्रमा त म प्रधान न्यायाधीश नै भएँ। समय हुँदै गएपछि अरू लेख्दै गएपछि भनौँला नि।


Share