एसबीएस न्युजद्वारा गरिएको एक अनुसन्धानले देशभरका वृद्ध स्याहार केन्द्रहरूमा औषधिको प्रयोगलाई लिएर रहेको व्यापक चिन्ता रहेको देखाएको छ।
सन् २०१८ देखि वृद्ध स्याहार केन्द्रको छानबिनको लागी शाही आयोगको सुरुवात भएको थियो।
तत्कालीन गठबन्धन सरकारका तर्फबाट वृद्ध स्याहार सम्बन्धी मन्त्री रिचर्ड कोल्बेकले यसको उद्देश्य निकै स्पष्ट भएको बताएका थिए।
"हामीले विशेष कारणले गर्दा यसलाई शाही आयोग भनेका हौँ। हामी सम्पूर्ण वृद्ध स्याहार प्रणालीमा फोरेन्सिक अनुसन्धान होस् भन्ने चाहन्थ्यौँ।"
उक्त "फोरेन्सिक जाँच" ले यो क्षेत्रमा बेवास्ता र दुर्व्यवहारका धेरै प्रमाणहरू प्राप्त गर्यो, जसमध्ये औषधि प्रयोग प्रमुख तिन चिन्ता अन्तर्गत रहेको थियो।
रसायनको प्रयोग गरेर रोक्ने वा केमिकल रेस्टुरेन्टका विषयमा त्यति बेला धेरै समाचारहरू पनि बने।
ला ट्रोब युनिभर्सिटीको जोन रिचर्ड्स सेन्टर फर रुरल एजिङ्ग रिसर्चकी डा पेनी वूड भन्छिन्, यो समस्या अझै पनि जारी छ।
“मेरो लागी सबैभन्दा ठुलो समस्या भनेको औषधि दिएर बिरामीलाई लट्ठ्याएर उनीहरूको पनि जीवन सहज बनाउन खोज्नु हो। जुन कुरा अहिले सम्म हुनु हुँदैन थियो, तर अझै पनि छ। मैले यो सधैँ जस्तो देखेको छु।"
अरू भन्छन्, समस्या कुन औषधि दियो भन्नेमा मात्र छैन, कसरी दिइएको छ भन्ने कुरामा पनि छ।
कम्बाइन्ड पेन्सनर्स एन्ड सुपरएनुएन्टस एसोसिएसनका पल वर्सटीजका अनुसार सन् २०१९ को शाही आयोगमा पहिले सधैँ रजिस्टर्ड नर्सहरूले औषधि वितरण गर्ने गरेकोमा अहिले भने व्यक्तिगत स्याहार कर्मचारी वा पर्सनल केयर स्टाफले पनि वृद्ध स्याहार केन्द्रका बासिन्दाहरूलाई औषधि दिन्छन् जुन वेब्स्टर प्याकमा हुन्छ।
पुरा रिपोर्ट सुन्नुहोस्: null हाम्रा थप अडियो प्रस्तुतिहरू पोडकास्टका रूपमा उपलब्ध छन्। यो नि:शुल्क सेवा प्रयोग गर्न तपाईंले आफ्नो नाम दर्ता गर्नु पर्दैन। पोडकास्टमा सामाग्री उपलब्ध हुनासाथ सुन्न यहाँ थिच्नुहोस्।
वेब्स्टर प्याक भनेको सानो बट्टा जस्तो हो जहाँ छुट्टा छुट्टै डिब्बा भित्र हप्ताका सबै दिनहरूका लागी औषधिका चक्की राखिएको हुन्छ।
सो वेबस्टर प्याकमा रहेको जानकारी हेरेर स्याहार कर्मीहरूले औषधि दिने गरेको वर्सटीजले बताएका छन्।
एसबीएस न्युजले पनि यस्ता वेब्स्टर प्याक जसलाई डोज प्रदान गर्ने सहयोगीका रूपमा चिनिन्छ, यसको प्रयोग सामान्यतया हुने गरेको पाएको छ।
तर चार्ल्स स्टर्ट युनिभर्सिटीकी असोसिएट प्रोफेसर मरी बर्नथ भन्छिन् वेब्स्टर प्याक लगायत यस्ता किसिमका औषधिको डोजका सहयोगी तरिकाहरू समस्याग्रस्त हुन्छन्।
उनका अनुसार उक्त तरिकाहरू पैसा जोगाउने मनसायले सञ्चालित हुन्छन् न कि स्याहार केन्द्रका बासिन्दाहरूको जीवन गुणस्तर बढाउनका लागी।
"सबै कुरा त भन्न सक्दिन, तर वेब्स्टर प्याकको प्रयोग व्यापक छ, म त भन्छु विश्वव्यापी, किनभने वेब्स्टर प्याकको मतलब स्याहार कर्ता अथवा दक्षता नभएका कामदारहरूले पनि औषधि दिन सक्छन्। किनभने उनीहरूले मात्र त्यो प्याक बाट झिकेर वृद्धहरूलाई खान दिनु पर्ने हुन्छ।"
उनी भन्छिन् व्यक्ति स्याहार कर्मी जसलाई नर्स सहायकका रूपमा पनि चिनिन्छ, उनीहरूले जोखिममा रहेका मानिसहरूलाई पनि जटिल किसिमका औषधिहरू खुवाउने जिम्मेवारी लिइरहेका छन्।
"वृद्ध स्याहारमा बसोबास गर्ने ६३ प्रतिशतले नौ वा सो भन्दा बढी औषधि दैनिक रूपमा प्रयोग गर्छन्। अब ती औषधिहरूको फरक किसिमको प्रतिक्रियाहरू हुन्छन्, औषधिहरूले एक अर्कासँग भिन्न किसिमको प्रतिक्रिया जनाउँछ, र यो एउटा वृद्ध शरीर भित्र हुन्छ त्यसैले औषधिको उल्टो किसिमको प्रतिक्रिया आउने सम्भावना उच्च हुन्छ।"
बर्नथ भन्छिन्, "औषधि प्रदान गर्ने व्यक्तिले त्यस्तो उल्टो प्रतिक्रिया आउँछ कि भनेर निगरानी गर्नु पर्ने जिम्मेवारी हुन्छ तर हाम्रो स्याहार कर्मीहरूसँग यस्तो गर्न सिप र ज्ञान दुवै हुँदैन।"
न्यु साउथ वेल्सकी सु वाल्टन त्यस्तै एक स्याहार कर्मी हुन्।
र उनले पछिल्लो १८ वर्ष देखि काम गर्दै आएको वृद्ध स्याहार केन्द्रमा सिप युक्त कर्मचारीहरू घट्दै गएको देखेकी छिन्।
नर्सिङ सहायकका रूपमा दशकौँ काम गरेकी वाल्टन भन्छिन्, कम कर्मचारीको अर्थ केही औषधिहरू धेरै ढिलो गरी प्रदान गरिनु हो र अनुभव नभएका कर्मचारीहरूले त गल्ती पनि गर्न सक्छन्।
"यो हुन्छ, र यो कति हुने गरेको पनि छ। उनीहरूले गलत औषधि दिइरहेका हुन्छन् वा उनीहरूले गलत औषधि गलत बासिन्दालाई (स्याहार केन्द्रका बासिन्दालाई) दिइरहेका हुन्छन्। "
तर वृद्ध स्याहार प्रदायकहरूले भने औषधि प्रदान गर्न प्रयोग गरिने साधनहरूको प्रयोगमा धेरै समस्या देखेका छैनन्।
प्रमुख वृद्ध स्याहार प्रदायकहरूको प्रतिनिधिमूलक समूह एज्ड एन्ड कम्युनिटी केयर प्रोभाइडर्स एसोसिएसन (एसीसीपीए) का पल स्याड्लर मानिसहरूलाई औषधि दिन स्याहार कर्मीहरूले पनि सक्ने बताउँछन्।
यसले गर्दा रजिस्टर्ड नर्सहरूलाई भने अन्य जटिल क्लिनिकल अवस्थाहरूको व्यवस्थापनमा राख्न सकिने उनको भनाइ छ।
डा पेनी वूड भन्छिन् यदि कसैको अवस्थामा परिवर्तन आए वेब्स्टर प्याकको प्रयोगले गर्दा त्यो अवस्था सुहाउँदो परिवर्तन गर्न अप्ठ्यारो पर्छ।
वृद्ध स्याहार गृहहरूलाई नियमन गर्ने काम सङ्घीय सरकार अन्तर्गत पर्दछ।
तर सु वाल्टन भन्छिन्, धेरै त्यस्ता वृद्ध स्याहार केन्द्रहरूलाई अनुगमनमा आउने कुरा पहिले नै थाहा हुन्छ र उनीहरूले त्यही अनुसारको तयारी गर्छन्।
उनका अनुसार सेवाग्राहीलाई उचित स्याहार दिन कर्मचारीहरूलाई पर्याप्त स्रोत साधन उपलब्ध गराउनु भन्दा पनि उक्त अनुगमन जाँचमा उत्तीर्ण हुनु नै सबैको प्राथमिकतामा पर्ने गरेको देखिन्छ।
र डा वूड भन्छिन् सुधार होस् भनेर सुनिश्चित गर्न स्याहार केन्द्रहरूलाई प्रोत्साहन गर्ने संयन्त्र निकै कम छ।
औषधि सम्बन्धी समीक्षा नियमित रूपमा गर्ने गरेको उनको भनाइ छ।
तर उनको अनुभवमा त्यसमा दिइएको सुझाव र औषधिहरूमा परिवर्तन गर्ने सम्बन्धी निर्देशनहरू सधैँ कार्यान्वयन भएको पाइँदैन।
स्याहार आवश्यकताको जटिलता र जबाफदेहिताको कमीका कारण नर्सेस युनियनले कर्मचारी अनुपातका लागी आवाज उठाउँदै आएको छ।
सो अनुपात अस्ट्रेलियाका धेरै राज्यहरूमा राज्यद्वारा सञ्चालित स्याहार गृहहरूका लागी मात्र लागू हुन्छ, निजी स्तरका हरूलाई यो लागू हुँदैन।
अनिवार्य बनाइएको न्यूनतम अनुपातको अर्थ सेवाग्राही वा स्याहार केन्द्रका बासिन्दाको संख्या हेरेर सोहि अनुपातमा प्रत्येक सिफ्टमा रजिस्टर्ड नर्सलाई राखिएको हुनु पर्छ।पल स्याड्लर वृद्ध स्याहार प्रदायकहरूलाई थप कर्मचारी राख्न र रजिस्टर्ड नर्सहरूलाई बिरामीसँग बिताउने समय थप्न कुनै आपत्ति नभएको बताउँछन्, तर त्यसका लागी सरकारले पनि आर्थिक सहायता गर्नु पर्ने उनको भनाइ छ।
Source: Jen Cabanlit / sabinevanerp of Pixabay
सङ्घीय सरकारलाई यसबारे प्रतिक्रिया दिन सम्पर्क गरिएको थियो।
स्वास्थ्य विभागद्वारा एसबीएसलाई वृद्ध स्याहार गृहहरूमा औषधि व्यवस्थापन सम्बन्धी निर्देशिका हेर्न सुझाव दिइयो, मुख्य गरी प्रिन्सिपल १५ लाई, जसमा औषधिको मात्राका लागी प्रयोग हुने सहायक प्रणालीहरू व्यापक रूपमा प्रयोग हुने पुष्टि गरिएको छ।
साथै यसका दायरा र वेब्स्टर प्याकमा राखिएका औषधि प्रयोग गर्न मिल्ने अवधिका बारेमा पनि उल्लेख गरिएको छ।