आफ्नो उक्त घोषणाले राज्यमा १४ दिने सेल्फ आइसोलेसनको अनिवार्य नीतिलाई कडाइका साथ लागू गर्न सहयोग पुग्ने भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रुजले बताएका छन्।
यो भन्दा पहिले उक्त अधिकारको प्रयोग भिक्टोरियामा कहिल्यै नभएको बताइएको छ।
“यी अधिकारहरू कहिल्यै प्रयोग गरिएको थिएन। यसले पनि बताउँछ कि यो सार्वजनिक स्वास्थ्य सङ्कट कति अभूतपूर्व प्रकृतिको छ भनेर,” उनले भने।
भिक्टोरियाको स्वास्थ्य कानुन अन्तर्गत रहेको अधिकार प्रयोग गरी उक्त सङ्कटकाल सोमवार मध्यान्हदेखि लागू हुने गरी घोषणा गरिएको हो।भिक्टोरियाली कानुन अनुसार स्वास्थ्य अधिकारीहरू निर्देशन पालना नगरिएको पाइएमा २०,००० डलर जरिवाना हुने बताइएको छ।
Patients line up at the Royal Melbourne Hospital for Coronavirus testing. Source: AAP
हाल चार हप्ताका लागि भनेर सङ्कटकाल घोषणा गरिएको भए पनि प्रिमियर एन्ड्रुजका अनुसार अवस्था हेरेर उक्त अवधि थप हुन सक्नेछ।
सङ्कटकालीन अधिकारहरूको प्रयोग गर्दै अधिकारीहरूले सर्वसाधारण मानिसहरूलाई हिरासतमा लिन, परेको खण्डमा चहलपहलमा रोक लगाउन र केही परिसरहरूको प्रवेशमा प्रतिबन्ध लगाउन सक्नेछन्।
आइतबार प्रधानमन्त्री स्कट मरिसनले विदेशबाट अस्ट्रेलिया आउने सबै आगन्तुकहरूले गए मध्यरातबाट लागू हुने गरी १४ दिने सेल्फ आइसोलेसनमा अनिवार्य रूपमा बस्नुपर्ने उर्दी जारी गरेका थिए।
गए राती मात्र थप १४ जनाका साथभिक्टोरियामा कोभिड-१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या ७१ पुगेको पुष्टि भएको छ।
आइतबार क्यानबेरामा दोस्रो कोरोनाभाइरस सङ्क्रमित मानिस भेटिएपछि एससीटीका मुख्य मन्त्री एन्ड्रु बारले पनि त्यहाँ सङ्कटकाल लगाउने तयारी गरिरहेको एबीसीले जनाएको छ।
कोरोनाभाइरसका कारण अस्ट्रेलियाभर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ भने लगभग ३०० जना सङ्क्रमित भइसकेको सरकारी तथ्याङ्क छ।
कोरोनाभाइरसको प्रमुख लक्षणका रूपमा ज्वरो आउने, सुख्खा खोकी लाग्ने र घाँटी दुख्ने, थकान र सास लिन गाह्रो हुने सङ्घीय सरकारको स्वास्थ्य विभागको मा उल्लेख छ।
कोरोनाभाइरसद्वारा सङ्क्रमित भएको आशङ्का लागेमा मानिसहरूले सर्वप्रथम आफ्नो जीपीलाई फोन गरेर सम्पर्क गर्न वा राष्ट्रिय कोरोनाभाइरस स्वास्थ्य जानकारी हटलाइन - १८०० ०२० ०८० मा फोन गर्न अधिकारीहरूले सुझाएका छन्।