अस्ट्रेलियाली राष्ट्रिय फुटबल टोलि सकरूजका मिडफिल्डर टम रोजिक आगामी महिना हुने नेपाल विरुद्धको खेलमा सहभागी नहुने भएका छन्।
गए बुधबार आफ्नो स्कटिश क्लब सेल्टिकको ५ -० को जीतमा २६ वर्षीय रोजिकले पनि एक गोल गरका थिए।
घुँडाको सफल शल्यक्रिया पछि पहिलो एघारमा परेका रोजिकले सेल्टिकको लागि पुरै ९० मिनेटनै खेलेता पनि, अस्ट्रेलियाली राष्ट्रिय टोलिका आगामी खेलहरुमा भने उनि सहभागी हुने छैनन्।
सकरूजका प्रशिक्षक ग्रेहाम आर्नोल्डसँगको सहमतिका साथ उनि नेपाल र ताइवान विरुद्ध मैदानमा ओर्लिने छैनन्।न्युज कोर्पसँग कुरा गर्दै आर्नोल्डले भने कि गए वर्ष चोटका कारण प्रभावित भएका रोजिकसँग आफु नियमित सम्पर्कमा रहेका छन्।
Australian Coach Graham Arnold Source: NurPhoto
“उनि भर्खर मैदानमा फर्किंदै छन् र महत्वपूर्ण रहने आगामी वर्षका खेलहरुका लागि उनले आफुलाई तयार गर्दैछन्”, आर्नोल्डले भने।
यस महिनाको सुरुमा अस्ट्रेलियाको जीत भएको कुवेत विरुद्धको पहिलो छनौट खेलमा पनि सहभागी भएका थिएनन्।
उक्त खेलमा ३ -० ले अस्ट्रेलिया विजयी भएको थियो।
अर्को तर्फ विश्व कप छनौट अन्तर्गतको खेलमा नेपाल कुवेत विरुद्ध ७ – ० ले पराजित भएको थियो भने नेपालले ताइवानलाई २ – ० ले पराजित गरेको थियो।
सन् २०२२ मा कतारमा हुने फिफा विश्व कप र २०२३ मा चीनमा हुने एएफसी एसियन कपको लागि एकै पटक हुन लागेको उक्त छनौट खेल आगामी अक्टोबर १० मा क्यानबेरामा आयोजना हुँदै छ।