नेपाली खेलाडी सन्दीप लामिछाने बिग व्यास लिगको सिजन १० का लागि होबार्ट हरिकेन्सको पक्षमा भिड्ने भएका छन् ।
२० बर्सिया खेलाडी लामिछानेलाई बिगव्यास सिजन १० का लागि होर्वट हरिकेन्सले आफ्नो टिमबाट खेलाउने बारेमा आज अधिकारीक जानकारी गराएको हो ।
नेपाली लेग स्पिनरले बिग ब्यासको सिजन आठमा मेलर्वन स्टारका लागि खेलेपछि अस्ट्रेलियन क्रिकेट फ्यानका बिच आफ्नो पहिचान बनाउन सफल भएका थिए । यस अघिका २० खेलमा उनले २६ विकेट हात पार्न सफल भएका थिए ।
सन्दीपले आफू बिगब्यासका खेलमा पुन फर्किन पाएकोमा निकै उत्साहित भएको प्रतिक्रिया दिएका छन् । यस पटक बैजनी रङका साथ मैदानमा उत्रन उनी आतुर देखिन्छन् ।
“होबार्ट हरिकेन्समा सहभागी हुन पाउँदा निकै गौरवान्वित महसुस गरेको छु, मैले सधैँ अस्ट्रेलियाली दर्शकको माया पाएको छु, बिग व्यासमा खेल्नका लागि आतुर छु,” उनले बताए ।
हरिकेन्सका प्रमुख प्रशिक्षक एडम ग्रिफिथले सन्दीपको बलिङले खेलमा नयाँ मोड दिने बताए ।
”सन्दीपको रहस्यमय स्पिनिङले खेलमा परिवर्तन गर्न सक्छ ,उनी एक प्रमाणित विकेट टेकर पनि भएकाले खेलमा नयाँ आयाम दिन सक्छन् ।” सन्दीपको प्रशंसामा ग्रिफिथले भने ।
होबार्ट हरिकेन्सका महाप्रबन्धक स्कट बेन्र्सले सन्दीपले टोलीको पक्षमा मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने बताए ।
उनले भने “हामीले अघिल्ला दुई सत्रमा देख्यौ कि कसरी सन्दीपले आफ्नो बलिङ र व्यक्तित्वले खेलमा प्रदर्शन गरे । ”
“आगामी खेल केही असामान्य हुने भए पनि तास्मेनियामा आधारित खेल प्रशंसकहरूले उनको खेल प्रत्यक्ष हेर्न पाउनेछन् ।” वेन्र्सले भने ।
सन्दीपको टोलीमा प्रवेश सँगै टिमले पूर्णता पाएको छ । यस पटक टिममा सन्दीप बाहेक डेविड मलान र किमो पाउल अन्तर्राष्ट्रिय खेलाडीका रूपमा रहेका छन् ।