अघिल्लो मङ्गलवार फ्रान्सबाट कतार हुँदै नेपाल प्रवेश गरेकी एक नेपाली युवतीको स्वास्थ्य जाँच गर्न प्रयोगशाला पठाइएको नमुनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बताएका छन्।
विदेशबाट फर्केपछि ती परिचय नखुलाइएकी युवती स्वयम् आइसोलेसनमा बसेको तर अलिक बिसन्चो भए पछि उनको परीक्षण गरिएको बताइएको छ ।
ती युवतीसँग सम्पर्कमा रहेका सबैलाई क्वारेन्टिनमा राखिएको पनि ढकालले जानकारी दिए।
त्यसै क्रममा उनले ती युवती सवार हवाईजहाजमा रहेका अन्य यात्रुहरूलाई स्थानीय अधिकारीहरूले खोज्ने पनि बताएका छन् र आकस्मिक रूपमा बोलाइएको उक्त पत्रकार सम्मेलन मार्फत मानिसहरूलाई आतङ्कित नहुन आग्रह गरिएको छ।
यस अघि वुहान बाट फर्किएका एक नेपाली युवकलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो र हाल उनी पूर्ण स्वास्थ्य भैसकेको बताइएको छ।