This article is more than 1 year old
आदिवासी अस्ट्रेलियालीहरूका लागि ज्यानुअरी २६ को अर्थ
फर्स्ट नेसन्स मानिसहरू पनि भनेर चिनिने अस्ट्रेलियाका प्रथम निवासीहरू वा आदिवासीहरू, ज्यानुअरी २६ लाई नरसंहार र विस्थापनको वार्षिकीका रूपमा हेर्छन्।
Published 26 January 2023 4:51pm
By Bertrand Tungandame
Source: SBS
Image: A member of the Koomurri dancers holds up an Indigenous and Australian flag during the WugulOra Morning Ceremony on Australia Day at Walumil Lawns, Barangaroo on January 26, 2020 in Sydney, Australia.
ज्यानुअरीको २६ तारिखले सयौँ वर्ष लामो जातिवादी सरकारी नीतिको सुरुवातलाई दर्शाउँछ जस्तै कि स्टोलन जेनेरेसन भनिने "चोरिएका पुस्ता"।
र जसका कारण भएको क्षति आजका मितीसम्म पनि जारी नै छ।
यो दिनलाई अस्ट्रेलियाको औपचारिक राष्ट्रिय दिवसको रूपमा मनाउन रद्द गर्न लामो समयदेखि आवाजहरू उठ्दै आएका छन्।
ज्यानुअरी २६ लाई आदिवासी अस्ट्रेलियालीहरूले "इन्भेजन डे", "सर्भाइभल डे" का साथ साथै "शोक दिवस"का रूपमा लिने गरेका छन्।
यसको कथा सन् १७८८ को ज्यानुअरी २६ बाट सुरू हुन्छ जब बेलायतबाट पहिलो पानी जहाज सिड्नी कोभमा आइपुगेको थियो।
अस्ट्रेलिया ६५,००० वर्ष भन्दा बढी समयको लागि आदिवासी समुदायको घर रहेको तथ्यलाई बेवास्ता गर्दै, बेलायती सरकारले "टेरा नलियस" वा उक्त बेलासम्म कसैको अधिनमा नरहेको जमीन भन्ने कानूनी अवधारणामा टेकेर यो भूमिलाई उपनिवेश बनाएको दिनका रूपमा एबोरिजिनल तथा टोरेस द्विपसमूहका मानिसहरू ज्यानुअरी २६ लाई सम्झिन्छन्।
यो दिनलाई औपचारिक रूपमा अस्ट्रेलियाको राष्ट्रिय दिवसको रूपमा मानिन्छ तर थुप्रै फर्स्ट नेसन्स अर्थात् आदिवासी मानिसहरू र तिनका समर्थकहरूले यस दिनलाई कुनै उत्सवको रूपमा लिँदैनन्।
शोक दिवस
पहिलो जहाज आएको १५० वर्ष पछि ज्यानुअरी २६, १९३८ मा शोक दिवसका नाराहरू सुरु गरिएको थियो।
विलियम कूपरको अस्ट्रेलियन एबोरिजिनल लीग र ज्याक प्याटेन र विलियम फर्ग्सनको नेतृत्वका रहेको अबोरिजिन्स प्रोग्रेसिभ मूभमेन्टले संयुक्त रूपमा यसको सुरुवात गरेका थिए।
आदिवासी समुदाय माथि हुँदै आएको पूर्वाग्रह र भेदभावलाई अन्त्य गर्न चालिएका प्रजातान्त्रिक प्रक्रियाहरूलाई सरकारको नसुने पछि शोक दिवस सुरु गरिएको हो।
यस दिनमार्फत गोरा अस्ट्रेलियालीहरूले गर्दै आएको दुर्व्यवहारको अन्त्य र आदिवासी मानिसहरूका लागि पूर्ण नागरिक अधिकारको माग गरिएको थियो।
"हाम्रो लागि यो परिवर्तन ल्याउने मौका हो। यस मुद्दाको लागि हामीले कडा सङ्घर्ष गर्नु पर्दछ। मौका पाएमा हामी पनि अरू सँगै गर्भका साथ रहन्छौँ भन्ने मलाई थाहा छ। कमनवेल्थमा आदिवासीको प्रगतिका लागि हामीले सहकार्य गर्नु पर्छ," विलियम कूपरले भनेका थिए।
यस विरोध मार्फत उनीहरूले उपनिशेकरण पछि ज्यान गुमाएका सयौँको शोक गर्दै, आफ्नो देश, स्वतन्त्रता र आत्मनिर्णय गुमाएको विरुद्ध आवाज उठाएका थिए।
"आजको दिनमा गोरा मानिसहरू रमाइलो गर्दै छन्, तर अस्ट्रेलियाको १५०सौँ जन्मदिनमा हामी आदिवासीहरू रमाउनु पर्ने कुनै कारण छैन। हाम्रो उद्देश्य भनेको यस महादेशका आदिवासी मानिसहरू कस्तो डरलाग्दो वातावरणमा बाँचिरहेका छन् भनेर अस्ट्रेलियाका गोरा मानिसहरूलाई देखाउनु हो।"
"हामी पृष्ठभूमिमा धकेलिन अस्वीकार गर्दछौँ। हामीले आफ्नो आवाज उठाउने र सुनिने निर्णय गरेका छौँ। गोरा मानिसहरूले अस्ट्रेलियाली आदिवासीलाई सुधारिन नसकिने तल्लो जातको रूपमा हेर्दछन्। त्यसप्रति हाम्रो जवाफ हो, "हामीलाई मौका देऊ!"। अस्ट्रेलियाको प्रगतिको यात्रामा पछाडि पर्न चाहँदैनौँ। हामी पूर्ण नागरिक अधिकारको माग गर्दछौँ," ज्याक प्याटेनले भनेका थिए।
पहिलो शोक दिवस सिड्नीको अस्ट्रेलिया हलमा एक सम्मेलनका साथ समापन भएको थियो।
राष्ट्रिय स्तरमा गरिएको पहिलो आदिवासी समन्वयित यस कार्यक्रमको आधारमा आधुनिक समयको फर्स्ट नेसन्स राइट्स आन्दोलन पनि सुरु भएको मान्यता छ।
"म आउटब्याकमा यात्रा गरेको छु, र आदिवासी रिजर्भहरूमा हाम्रा मानिसहरू कस्तो पीडादायी अवस्थामा बसिरहेका छन् भन्ने मैले आफ्नै आँखाले देखेको छु… अन्ततः अब हामीले आफ्नो लागि केही गरे, आफ्नो आवाज उठाउने समय आएको छ। यसको लागि एबोरिजिन्स प्रोग्रेसिभ सङ्घको स्थापना गरिएको हो।"विलियम फर्गसन
यस पश्चात्, शोक दिवस आदिवासी समुदाय र तिनका समर्थकका लागि एक वार्षिक कार्यक्रम बन्न पुग्यो। यसको आधारमा सन् १९६७ को जनमत सङ्ग्रह लगायत विभिन्न सुधारहरू भएका छन्।
टेन्ट दूतावास
सन् १९७२ को ज्यानुवरी २६ मा, चार जना आदिवासी पुरुषहरूले क्यानबेराको संसद भवनको अगाडी समुन्द्री तटमा प्रयोग गरिने एक छाता खोलेर राख्दै, त्यसलाई आदिवासी टेन्ट दूतावासको (एबोरिजिनल टेन्ट एम्बेसी) नाम दिएका थिए।
यस नयाँ तरिकाको विरोधसँगै भूमि अधिकारको माग र अन्तर्राष्ट्रिय मान्यताका साथ आदिवासी अधिकार आन्दोलन (इन्डीजिनियस राइट्स मूभमेन्ट) पुनर्जीवित भएको थियो।
Radio Redfern was the main source of information for people wanting to join the protests. The broadcast included interviews and music from First Nations artists.
द्विशताब्दीय आन्दोलन र सर्भाइभल डे
ज्यानुअरी २६, १९८८ मा अस्ट्रेलियाले पहिलो पानी जहाजहरू आएको दुईसय वर्ष मनाउँदै थियो जसमा सबै अस्ट्रेलियालीहरूले सकारात्मक अनुभव गरेको चित्रण मञ्चन थियो।
यसको प्रतिउत्तरमा आदिवासी अस्ट्रेलियालीहरू र उनीहरूका समर्थकहरूले विरोधका कार्यक्रमहरू आयोजना गरेका थिए।
यस्ता प्रदर्शनीमा ४०, ००० भन्दा पनि बढि मानिसहरूको सहभागिता थियो जुन अस्ट्रेलियामा भियतनाम युद्ध पछि सर्वाधिक विरोधीहरू जम्मा भएको पहिलो अवसर बन्यो।
हिरासतमा आदिवासी अस्ट्रेलियालीहरुको मृत्यु माथि छानबिन गर्न गठन भएको शाही आयोगको पृष्ठभूमिमा यी विरोधहरू भएका थिए।
त्यसरी आफ्ना मानिसहरू प्रति हुँदै गरेका ज्यादतीपूर्ण घटनाहरूका साथै यी विरोधका कार्यक्रमहरूले भूमि माथिको अधिकार र समान सन्धीका लागि आवाज उठाएको थियो।
सन् १९८८ मा भएको विरोधमा अस्ट्रेलियाली आदिवासीहरूले पहिलो पटक ज्यानुअरी २६ लाई ‘इन्भेजन डे’ नामकरण गर्दै आफ्नो सभ्यता माथि आक्रमण भएको दिनका रूपमा लिन थाले।
साथै उनीहरूले ‘अस्ट्रेलिया डे‘ मनाउन बन्द गरिनुपर्ने माग अघि सारे जसका लागि ‘गोरो अस्ट्रेलियाको कालो इतिहास छ - १९८८ नमनाउनुहोस्’ र ‘अस्ट्रेलिया डे = इन्भेजन डे १९८८’ लेखिएको पोस्टरहरू प्रयोग भएका थिए।
मार्च ८८ समितिका एक सदस्य तथा न्यु साउथ वेल्स एबोरिजिनल भूमि अधिकार ऐनका रजिस्ट्रार क्रिस कर्कब्राइटले त्यो बेला भनेका थिए, “आज हाम्रो अस्तित्व जोगिएको रूपमा मार्च ८८ लाई हेरिने छ भन्ने आसा छ। गोरा मानिसहरू अस्ट्रेलिया आएकोमा एबोरिजिनल मानिसहरूले खुसी मनाउन सक्ने केही पनि छैन। र हाम्रो यो तर्क अगाडी सार्छौँ कि कुनै पनि निष्पक्ष विचारधारा भएका गोरा अस्ट्रेलियालीहरूले उनीहरूको आगमनको उत्सव मनाउनै पर्ने केही कुरा पाउनेछैनन् किनकि उनीहरूको आगमनले नरसंहार, जमिनको विनाश र संस्कृति माथि प्रहार गरेको थियो जसले पिडा र दुःख अनि रोगहरू अस्ट्रेलिया बोकेर आएको थियो।”
“आज हामी यहाँ उत्सव मनाउन अग्रसर छौँ। हामी बचेको र हाम्रो संस्कृति प्रदर्शन गर्न पाएको मौकाको उत्सव।”क्रिस कर्कब्राइ
यस्तै आवाजहरू रेडियो रेडफर्नले पनि रेकर्ड गर्न भ्याएको थियो।
“मेरो बिचारमा आज हाम्रो शोक दिवस हो तर सँगसँगै २०० वर्ष अगाडी भएको श्वेत आक्रमणबाट हामी बचेको उत्सव पनि हो यो,” एक प्रदर्शनकारीले भनेका थिए।
हालैका वर्षहरूमा, ज्यानुअरी २६ लाई राष्ट्रिय दिवसको रूपमा परिवर्तन गर्न देशभर एक महत्त्वपूर्ण लहर देखिएको छ।
Share