जीवनमा "अकल्पनीय परिवर्तन" गर्न सफल अमृता खरेलको गुल्मीदेखि मेलबर्नसम्मको प्रेरणादायी यात्रा

सन् २००६ मा अस्ट्रेलिया आउनु अगाडी अमृता खरेलले न आफ्नो जिल्ला बाहिर पाइला हालेकी थिइन् न अङ्ग्रेजी सिक्ने मौका नै पाएकी थिइन् तर १४ वर्षको अन्तरालमा उनले सबै बाधा व्यवधानहरू पार गर्दै आफ्नो जीवनमा अकल्पनीय परिवर्तन गर्न सफल भएको उनी बताउँछिन्।

Amrita Kharel

Amrita Kharel at her graduation ceremony Source: Supplied

आफ्नो बुवा कामको सिलसिलामा दुबई - कतार पुगे पनि आफु विदेश जाने कुरा चाहिं अमृता खरेलको कल्पनामै सीमित थियो।  

अर्लाङ्गकोटमा रहेको मावलीमा हुर्केकी खरेलले स्कुल जाँदा एक घण्टा उकालो ओरालो लाग्नुपर्ने कारणले आफूलाई विद्यालय जानै नपरे नि हुन्थ्यो जस्तो लाग्थ्यो।

गुल्मीको लुग्दी गाउँमा बर्षातमा चिप्लिँदै गुल्टीदै जाँदा उनको मन फाट्थ्यो।

“स्कुल जान त मलाई फिटिक्कै मन पर्दैनथ्यो, बाटो सम्झेर। तर स्कुल पुगेपछि भने धेरै रमाइलो गरिन्थ्यो,” उनले अतीतका दिन याद गर्दै भनिन्।

तर, समय क्रमसँगै खरेल अहिले फरर अङ्ग्रेजी बोल्ने मात्र होइन - मेलबर्नको एक ठुलै इन्जिनियरिङ फर्मका लागि काम गर्छिन्।

साथै, उनले समुदायमा देखाएको नेतृत्व, स्वयंसेवी भएर अरूलाई पुर्‍याएको सहयोग अनि आफ्नो अध्ययनको क्रममा उच्च लगन एवं परिश्रमको कदर गर्दै छात्रवृत्ति मात्र होइन लिडरसिप अवार्ड पनि प्राप्त गर्न सफल भएकी छिन्।
Limgha - A Village Gulmi, Nepal
गुल्मीको लिम्घा, प्रतीकात्मक तस्बिर Source: Wiki Commons
“हाम्रो परिवार खेतीपाती गर्ने, सामान्य किसिमको थियो,” अमृता खरेलले भनिन्।

“काठमान्डू पनि यही अस्ट्रेलिया आउने भएपछि मात्र टेकेकी हुँ।

”गाउँमा रहँदा हक्की स्वभाव भएकी - डर त्रास कत्ति पनि नभएकी खरेल - अस्ट्रेलिया आएपछि चाहिँ उनकै भाषामा - गाउँले भइन्।

“म यहाँ आएपछि त मैले मेरो आत्मविश्वास त पुरै गुमाएकी थिएँ जस्तो लाग्छ,” उनले भावुक हुँदै भनिन्।

“भाषाको समस्या पहिलो थियो - मनमा लागेको कुरा भन्न नपाएपछि गाह्रो हुने भइहाल्यो, सहरको तजबिज पनि थाहा हुने कुरो भएन - सबैजसो कुरा अनौठो लाग्ने जस्तै कि लाइफस्टाइल भयो - यहाँका मान्छेहरू खाने बस्ने रहेछन् भनेर मनमा अनेकौँ प्रश्नहरू उब्जे।स्कुलमा समेत आफ्नो टिचरको अगाडी कसरी प्रस्तुत हुने भनेर नि थाहा थिएन।”

नेपालमा आफ्ना शिक्षक-शिक्षिकालाई नामै लिएर बोलाउने बारे सोच्न सकिन्न।

अस्ट्रेलियामा सबैको नामै काटेर बोलाउने चलन छ।

उनलाई पनि अजिब लाग्यो।

तर पनि यो चलन त राम्रै रहेछ - हामी सबै बराबरी नै पो रहेछौँ भन्ने कुरा अस्ट्रेलियाले उनलाई दिएको पहिलो पाठ रहेको उनी बताउँछिन्।
Amrita Kharel
एसबीएस स्टुडियोमा खरेल Source: आभास पराजुली/एसबीएस
“म अस्ट्रेलिया आउने भएपछि हामी काठमान्डू केही महिना बस्यौँ। बुवाले भिसाको चाँजोपाँजो मिलाउन्जेल। त्यस बेला म सहरकै स्कुल जाने भनेर दङ्ग थिए। क्लासमा सरले केही लेखेर देखाऊ भन्नुभयो र मैले पनि बडो मेहनत गरेर सकेसम्मको राम्रो ह्याण्ड राइटिङ्गमा लेखेँ र देखाएँ। सरले त जङ्गीदै त्यो कापी नै फ्याँकी दिनुभयो। म अक्क न बक्क परेँ, कत्ति न राम्रो गरेँ जस्तो लागेको थियो तर मन नै कुटुक्क भयो,” उनले नेपालको हुने खाने ठाउँको बोर्डिङ र यहाँको सार्वजनिक विद्यालयको तुलना दर्शाउँदै भनिन्।

अमृता खरेलले काठमान्डुको त्यो बोर्डिङमा अङ्ग्रेजीको भेउ पाउन नसक्दा अस्ट्रेलियामा कसरी बस्ने होला भनेर साह्रै पिर परेको पनि उल्लेख गर्दै यहाँ भने अङ्ग्रेजी नआउने भनेपछि टिचरहरूले झन् एकदम माया गर्दै आफूलाई सहयोग गरेको बताइन।

“मलाई नर्मल हुन पाए हुन्थ्यो भन्ने थियो। र, नर्मल बन्न मलाई भाषाको समस्या थियो। त्यसैले अलिक बढी नै मेहनत गरेँ। म आज यहाँसम्म आइपुग्नु पछाडि पनि त्यही इच्छाशक्तिको हात छ,” उनले खुलाउँदै भनिन्।

यसो भनिरहँदा पनि उनले अङ्ग्रेजी भाषामा आफूले सिक्नुपर्ने कुरा अझै धेरै बाँकी रहेको प्रस्ट अङ्ग्रेजी मै भनिन्।

“भाइ म भन्दा दुई वर्ष कान्छो र बहिनी म भन्दा पाँच वर्ष कान्छी - म यहाँ आउँदा त उनीहरूको आमा जस्तै नै थिएँ। आमाबुवा काममा जानु हुन्थ्यो र स्कूलबाट आएपछि मैले नै उनीहरूलाई हेर्नुपर्थ्यो। हामी सबै नेपाली मै कुरा गरिरहने भएकाले (मातृ)भाषा जोगियो।” 

आफूलाई अचम्म लागेको अर्को कुरा भनेको अस्ट्रेलियाका सानो देखिने घरहरू थिए, खरेलका लागि।

“यहाँका घरहरू … भित्र सबै राम्रो देखिने … बाहिरबाट सबै लुत्रुक्क देखिने … त्यस्तो मैले कहिल्यै काहीँ देख्या थिइन,” विगत १४ वर्षमा एक पटक पनि नेपाल नफिरेकी खरेलले भनिन्।
AAP Image/Dave Hunt
आवासीय क्षेत्रको हवाई दृश्य। Source: AAP Image/Dave Hunt

इन्जिनियर बन्ने बाटो

अमृता खरेललाई हाई स्कुलमा पढ्दासम्म पनि भविष्यमा के गर्छु भन्ने थाहा थिएन र उनी केवल वर्तमानमा जिउन चाहन्थिन्।

“सानैमा म सेना, त्यसमा पनि वायु सेनामा भर्ती हुने ठुलो इच्छा थियो। तर परिस्थिति अनुकूल भएन। त्यस पछि म के गर्छु भन्ने मलाई थाहा थिएन,” उनले सुनाइन।

तर, गणितमा अत्यधिक रुचि रहेको खरेललाई वादविवाद जस्ता अतिरिक्त क्रियाकलापमा भाग लिने गर्थिन र यस्तै एक दिन १२ कक्षामा विश्वविद्यालय छनौटको लागि फारम भर्दा पहिलोमा इन्जिनियरिङ, दोस्रोमा वकालत र तेस्रो विकल्पका रूपमा फार्मेसी छानिन्।

“इयर ट्वेएल्भको एक्जाम पछि इङ्ग्लिशमा राम्रो (मार्क्स) आयो भने लएर बन्छु, म्याथ्समा राम्रो नम्बर आयो भने इन्जिनियर बन्छु भनेर एप्ल्लाई गरेँ।”
Pete Glenane / HiVis Pictures
पश्चिमी मेलबर्नको ट्रेन स्टेसनमा बाटो र लिक छुट्टयाउने कार्य हुँदै Source: Pete Glenane / HiVis Pictures via Level Crossing Removal Project
हाल एक ग्राजुएट इन्जिनियरका रूपमा मेलबर्न वरपरका रेल्वे लेभल क्रसिंग भनिने सडक र रेलको लिक एक आपसमा काटिएर जाने चौबाटोहरूमा ती रेल गुड्ने लिक हटाउने योजनामा कार्यरत खरेल आफ्नो सफलतालाई घरमा आमा बुवाले र स्वयम् आफूले पनि ठुलो नमानेको बताउँछिन्।

“मेरो लागि त सपोर्ट थियो, मैले धेरै सङ्घर्षहरू देखेको छु। उहाँहरूले मैले भन्दा त कति हो कति सफलता पाउनुभएको छ, खाली फरक के हो भने उहाँहरू चिनिनु भएको छैन।”

लुग्धीबाट अर्लाङ्गकोटको बिचमा एउटा मात्र थुम्को पर्ने भएता पनि घर र मावली आवत जावत गर्न निकै परिश्रम गरिएको बताउँछिन् उनी।

“मेरी आमालाई उहाँको आमा भेट्न जान मन लागि रहन्थ्यो र हामी पनि साथै लाग्थ्यौँ। पहाडको एक तर्फ हाम्रो घर थियो भने अर्को तर्फ मामाघर। तर बिच जङ्गल पर्थ्यो अनि बाटा घाटा पनि थिएनन्। आमाले जङ्गली बोट बिरुवा छिमल्दै हिँड्न मिल्ने बाटो बनाउनु हुन्थ्यो। शायद त्यसैले मेरो मनमा पनि बाटो बनाउने इन्जिनियर बन्ने सपना गाडेको हुनसक्छ,” अमृता खरेलले हाँस्दै भनिन्।
A village in deforestation in Gulmi, Nepal
गुल्मीको एक अर्को गाउँ, प्रतिकात्मक तस्बिर Source: Yale 365
अनि उनले अस्ट्रेलिया आउँदा-आउंदैको एक अर्को किस्सा पनि सुनाइन। खरेल बस्ने सबर्बको ट्रेन स्टेसन नजिकै एउटा बुम गेट रहेछ। उनकी आमालाई काममा जाँदा होस् वा किनमेल गर्न जाँदा होस् सधैँ उक्त छेकबार पार गर्नुपर्ने।

“आमाले सधैँ घण्टी टिङ्ग टिङ्ग गरे पछि बाटो काट्नु पर्छ भन्नुहुन्थ्यो। त्यति बेला त्यो सुन्दा डर लाग्थ्यो। अब अहिले त्यस्तै लेभल क्रसिङ्ग हटाउने काममा आफूलाई पाउँदा रमाइलो लागिरहेको छ,” उनले भनिन्।

उदीयमान नेतृत्व, उज्ज्वल भविष्य

पहिलो सेमेस्टर पढेर आर्थिक अभावका कारण दुई वर्ष विश्वविद्यालय बाहिर नै बिताउनु परेको अमृता खरेलले त्यस दौरानमा थुप्रै युनिभर्सिटीहरूमा आफ्नो पढाई सुचारु राख्न पत्राचार गरेको बताउँछिन्।

“यी दुई वर्ष मैले धेरै निराशा भोग्नु परे पनि आशा राख्न भने कहिल्यै छाडिन। म सँधैजसो नै विभिन्न विश्वविद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी हेर्ने, छात्रवृत्ति दिने विभागसँग सम्पर्कमा हुन्थेँ,” उनले खुलाइन्।

तँ चिता, म पुरा गर्छु भने झैँ एक दिन उनले सुखद समाचार पाइन्। उनको विश्वविद्यालयले खरेलको आर्थिक अवस्था हेरेर छात्रवृत्ति प्रदान गर्ने निर्णय गर्‍यो जसले गर्दा इन्जिनियर बन्ने बाटो खुल्यो।

“मलाई भित्री कुरा त थाहा भएन तर उहाँहरूले एउटा छात्रवृत्ति उपलब्ध छ जसका लागि तपाईँ योग्य हुनुहुन्छ। यो त्यो क्षण थियो जुन बेला मैले मनमनै भने - यो मेरो समय हो - केही गरेर देखाउने!” उनले आफ्नो मेहनत एवम् धैर्यको फल बारे भनिन्।

स्विनबर्न विश्वविद्यालयका अनुसार, अमृता खरेलले छात्रवृत्ति साथै उनले विश्वविद्यालयमा अध्ययनरत छँदा देखाएको नेतृत्वदायी सिप एवम् कौशलताको कदर गर्दै उदीयमान नेत्रीको रूपमा स्वीकारेको बताएको छ।

उक्त विश्वविद्यालयले खरेल लगायत अन्य विद्यार्थीहरूलाई उनीहरूले समुदायमा गरेको योगदान तथा नेतृत्व गर्ने सक्ने क्षमताको पहिचानमा आफ्नो वेलकम स्कलरशिप भनिने छात्रवृत्ति दिने पनि जनाएको छ।
Amrita Kharel Swinburne Graduation
दीक्षान्त समारोहमा खरेल Source: Supplied
कहिल्यै एक परिधि भित्र मात्र बाँधेर बस्न नहुने चर्चा गर्दै उनले त्यसपछिका दिनहरूमा आफूलाई स्वयम् सेवा, क्याफेको काम तथा अन्य मानिसहरूसँग भेट्दै आफ्नो सञ्जाल विस्तार गर्न तर्फ लागेको बताइन।

“मैले भोलनटियरिङ्ग गर्ने ठाउँमा थुप्रै मानिसहरूको पोजिटिभ थिङ्किङ्ग थियो। त्यसले मलाई निकै ऊर्जा दियो। मानिसहरूलाई साँच्चै मद्दत गर्दा उनीहरूको जीवनमा कस्तो परिवर्तन हुन्छ भनेर मैले त्यहाँ सिकेँ र त्यसले मेरो आत्मविश्वास निकै बढायो पनि,” अमृता खरेलले एसबीएस नेपालीलाई भनिन्।
आफ्नो जस्तो आप्रवासी समुदायका धेरै जना ठुला-ठुला भव्य अफिसमा काम गर्ने भन्दा क्याफे लगायतका हस्पिटालिटी क्षेत्रमा नै जीवन गुज्रेको देखेकी खरेललाई आफूले कहिल्यै पनि छिर्दै गजब लाग्ने चहकिलो कार्यालयमा काम गर्छु भन्ने नलागेको पनि हामीसँगको कुराकानीका क्रममा खुलाइन।

“म आफै पनि क्याफेमा काम गरिरहेको थिएँ। कर्पोरेट क्षेत्रमा पुग्दा त फेरी उही अस्ट्रेलिया पहिलो चोटि छिर्दाको जस्तै अनुभव भयो। यहाँ सबै कुरा नयाँ थियो मेरो लागि - काम गर्ने तरिका, म्यानेजरहरूले गर्ने व्यवहार, लगाउनु पर्ने लुगा - क्याफेमा काम गर्दा जस्तो सधैँ डर पालेर बस्नु नपर्ने रहेछ - स्वतन्त्रता पाइयो - सबै जना मिलनसार र सिक्ने अनि सिकाइदिने,”उनले उत्साह पूर्वक भनिन्।

अरू क्षेत्रमा काम बारे केही थाहा नपाए - आफूलाई हेयको दृष्टिले हेर्ने गरेको अनुभव बोकेकी खरेलले आफ्नो पढाइ अनुसारको स्थानमा जाँदा भने तालिम चाहिएको रहेछ, यो गर - त्यहाँ जाऊ भन्दै विभिन्न अवसरहरू प्राप्त गरेको बताइन।
Railway Removal in Victoria
Source: CPB Contractors via Level Crossing Removal Project
“मैले अन्डरग्राडको बेला क्याडेट इन्जिनियर हुँदादेखि नै रेल्वे लेभल क्रसिङ्गमा काम गर्ने मौका पाएँ र त्यहाँको अनुभवले मलाई धेरै कुरा सिकायो। किताबी ज्ञान मात्र अपुरो हुँदो रहेछ - वास्तविक काम र क्लासमा हुने पढाइ बिच एकदम भिन्नता हुने पनि बुझेँ र त्यसले मलाई अझ धेरै मेहनती बन्न प्रेरणा दियो।”

दुई वर्षको ज्ञाप यरबाट भर्खरै पुनः अध्ययनमा फर्केकी अमृता खरेललाई सिधै काममा जाँदा त्यहाँको म्यानेजरलाई आफू कामका लागि पूर्ण तयार नभएको बताउन गाह्रो भएन।

“मैले सिधै म्यानेजरलाई प्रोजेक्ट कसरी काम गर्छ मलाई थाह छैन र यहाँका तौर तरिका पनि के हो थाहा छैन भनेँ।”

आफूले गुमाउने केही नभएकोले त्यसरी मनका कुरा अभिव्यक्त गर्न आफूलाई सजिलो भएको उनको ठम्याइ छ।

आफ्नो सबै कुरा बुझेर रोजगारदाताले सहज वातावरण बनाइदिन सक्दो रहेछ भन्ने पनि उनले त्यही तीन महिने इन्टर्नसिपका क्रम मा सिकिन र लगत्तै आफ्नो लगन एवम् इमानदारीका कारण पार्ट टाइम काम पनि हात पारिन।

“म फुल टाइम आफ्नो डिग्री सक्याउन पढिरहेकी छु भन्ने बुझेर उहाँहरूले फ्लेक्सिबल टाइम सहितको पार्ट टाइम जब अफर गर्नुभयो। धेरै दिन वा यति बजे यसरी आऊ भनेर कहिल्यै पनि प्रेसर दिनु भएन,” हातमा सिप छ र कडा परिश्रम गर्‍यो भने सफलता हात लाग्दै जाने बताउँदै उनले थपिन्।

धेरै जनाको मानसिकतामा प्रोफेसनल करियर पनि हस्पिट्यालिटी इन्डस्ट्री कै जस्तो हुन्छ भन्ने कुरा आफ्नो बुझाइमा रहेको पनि खरेलले सुनाइन।
Cafe, Hospitality
"हामी जस्ता धेरै युवाहरू जो हस्पिट्यालिटी र रिटेल इण्दस्ट्रीमा काम गर्छौँ - हामीलाई लाग्छ कि अन्य कार्यस्थल पनि यस्तै हुन्छ" Source: Pexels
“यसो गर्दा हामी जस्तो कर्मचारीको कार्यक्षमता पनि बढ्छ भन्ने कुरा मैले आफ्नै अनुभवले सिकेँ - हामी जस्ता धेरै युवाहरू जो हस्पिट्यालिटी र रिटेल इण्दस्ट्रीमा काम गर्छौँ - हामीलाई लाग्छ कि अन्य कार्यस्थल पनि यस्तै हुन्छ - रोस्टर - शिफ्ट - प्रेसर।”

“त्यही भएर पनि धेरै साथीहरूको मोटिभेसन नै हराएर गएको देखेकी छु,” उनले भनिन्।

आफू कुनै बेला उच्च अङ्क पछाडि मात्र दौडिने बताउने खरेलले त्यसो गर्नु भन्दा पढाएको कुरा राम्ररी बुझ्न समय खर्चे राम्रो मार्क्स यसै आउने पनि बताइन्।

“उहाँहरूको असाइनमेन्ट हुन्छ र उहाँहरूलाई लाग्छ कि पास मात्र गरिदिए पुग्छ भन्ने लाग्ने गर्ने रहेछ। तर तपाईंले त्यसो गर्नु ठिक होइन - यु शुड लर्न। तपाईंले (राम्ररी) पढ्नु भयो भने तपाईँलाई त्यसले लङ्ग टर्ममा सहयोग गर्छ भन्ने कुरा बुझ्नु असाध्यै जरुरी छ।”

स्कुलमा छँदा आफूले सधैँ उच्च अङ्क पछ्याएको र त्यसले गर्दा आफूले कहिल्यै पनि सन्तुष्टि अनि पढाइबाट सन्तोष प्राप्त नगरको पनि अनुभव पनि उनले बाँडिन्।

धेरै मानिसहरूलाई प्रोफेसनल संसारमा छिर्नु अघि नै प्रोफेसनल बन्नु पर्छ भन्ने भान रहेको पनि उनको भनाई छ।

“तर त्यो भन्दा बाहिर पनि संसार छ भन्ने कुरा म आफू जस्तै अन्य साथीहरूलाई भन्न चाहन्छु - जहाँ तपाईँको आवाजको कदर हुन्छ र मानिसहरू तपाईँको आवश्यकता अनुसार काम गर्छन् जब उनीहरूले तपाईँको लगन देख्छन्, राम्रो पक्ष देख्छन्। इन्डस्ट्री पनि तपाईँलाई तौर तरिका सिकाउन इच्छुक छ भनेर बुझ्नुहोस्,” उनले आफै जस्ता सङ्घर्षशील आप्रवासी युवाहरूलाई सन्देश दिँदै भनिन्।
Amrita Kharel
Source: आभास पराजुली/एसबीएस
खरेलसँगको कुराकानी सुन्नुहोस् :
LISTEN TO
How Amrita Kharel turned her life for good after landing in Australia from Nepal image

"धेरै निराशा भोग्नु परे पनि आशा राख्न भने कहिल्यै छाडिन": अमृता खरेल

SBS Nepali

07/02/202027:43

Share
Published 6 February 2020 7:06pm
Updated 6 March 2020 3:06pm


Share this with family and friends