यस अघि एक चिनिया व्यापारिक समूहको स्वामित्वमा रहेको ह्याम्लिज खेलौना पसल किन्नको लागि भारतीय व्यापारी मुकेश अम्बानीले ८८ मिलियन डलर खर्चिएका हुन्।
अम्बानीको रिलायन्स ब्राण्डले हंगकंगमा अवस्थित चिनिया फेसन समूह सी. ब्यानर इन्टरनेशनल होल्डिंग्स् बाट उक्त पसल किनेको घोषणा गरेको छ।सन् १७६० मा स्थापना भएको ह्याम्लिज खुद्रा पसल विश्वकै सबैभन्दा पुरानो खेलौना पसल मध्येको एक हो।
Hamleys toy store in London. Source: EPA
२५९ वर्षको अवधिमा धेरै पटक किनबेच गरिएको ह्याम्लिजको विश्वका १८ राष्ट्रहरूमा १६७ वटा पसल रहेको छ।
यस अघि नै रिलायन्सले फ़्राञ्चाइज सम्झौता मार्फत भारतका २९ वटा सहरहरूमा ८८ ह्याम्लिजका पसलहरू सञ्चालन गरिरहेको छ।
पछिल्लो समयमा प्रख्यात ह्याम्लिजले घाटा व्यहोरी रहेको कारण सी. ब्यानरले आफूले किनेको भन्दा झन्डै आधा रकममा रिलायन्सलाई बेचेको बताइएको छ।
ह्याम्लिजको मुख्य पसल लन्डनको पर्यटकीय क्षेत्रमा अवस्थित रहेको छ भने लामो इतिहास बोकेको उक्त पसलले मात्र वार्षिक ५० लाख पर्यटकहरू आकर्षित गर्ने गरेको छ।
विश्वका धनीहरूको सुचीमा पर्ने रिलायन्सका मालिक मुकेश अम्बानीको सम्पत्ति ५० बिलियन डलरको भएको फोर्ब्स पत्रिकाले जनाएको छ।