वन-जंगलको घनत्व घट्दै छ। नेपालमा सगरमाथाको उचाई त बढ्यो, तर त्यहाँका हिमालहरुमा हिउँ पातलिदै गएको विज्ञहरुले भन्दै आएका छन्।
यता अस्ट्रेलियामा त डरलाग्दो सुख्खाले पोहोर साल भयानक डढेलो शुरु गर्यो।
यसरी पृथ्वीको जीवनमा श्वास फुक्ने पर्यावरणनै दिनहुँ क्षय हुँदै गएपछि, यसलाई बचाउन सबैको आवश्यक्ता रहेको संयुक्त राष्ट्र संघले बताएको छ।
यस संस्थाका महासचिव एन्टोनियो गुटेरसले मानवीय समाजले प्रकृतिमाथि गरेको अत्याचार अब रोकिनु पर्ने बताउछन्। यो नयाँ बर्ष- २०२१ बाट- प्रकृतिलाई दु:ख दिन बन्द गर्ने सक्रियताको लागि, गुटेरसले विश्वका नेताहरुलाई चुनौति दिएका छन्।
“हाम्रो पृथ्वीको प्राण थिचिएको छ,” गुटेरसले भने। “प्रकृति विरुध्द हामी आत्मघाती युध्दमा सम्मिलत छौं” ।
महासंघले जलवायुको मुद्दालाई यसबर्षको प्रमुख विश्वव्यापी उद्देश्य बनाउने पनि घोषणा गरेको छ। पर्यावरणको सम्वर्धनका लागि, महासंघले सबै राष्ट्रहरुले:
- कार्बनको मूल्य तोक्नु पर्ने
- वातावरण प्रदुषण गर्ने ईन्धनमा सहुलियत दिन बन्द गर्नु पर्ने
- प्रदुषण उत्पादक र प्रयोगकर्ताले थप कर तिर्ने नियम बनाउन
- कार्बन ईमिशनलाई कम गर्न वातावरण-मैत्री कार्यहरुको शुरुवात
- पीडित राष्ट्रहरुलाई राहत सहयोग र सह-कार्यमा सहभागी हुनु पर्ने।
यसै सम्बन्धमा बोल्दै गुटेरसले, “बिज्ञान यसमा प्रष्ट छ। हामीले कम्तिमा पनि, हरेक बर्ष ६ प्रतिशतको दरले प्रदुषण बढाउने ईन्धनको उत्पादनमा कमी ल्याउनु पर्छ,” भने।
यता अस्ट्रेलियामा, अघिल्लो बर्ष सल्केको डढेलोले पनि पर्यावरणको निकै क्षति गरेको थियो। पहिले देखिनै पातलिदै गएको यहाँको प्रमुख जनावरहरु मध्येको एक- क्वालाको जनसंख्या त्यस डढेलोका कारण झनै खतरामा परेको छ।
त्यसबेलाको आगोमा जलेर र अनि कति वासस्थान र रुख-पात उजाडिए पछि खाना नपाएर क्वाला, कंगारु लगायतका झण्डै एक अर्ब जनावरहरु गत बर्ष मारिएको अनुमान गरिएको छ।
अस्ट्रेलियाको एक लाख स्क्वायर किलोमिटरभन्दा बढी जमीन पोहोरसालको डढेलोले जलाएको थियो। सिड्नीभन्दा उत्तरमा रहेको क्वालाहरु र न्यु साउथ वेल्सको दक्षिणी तटमा रहेको क्षेत्रका कंगारू लगायतका धेरै जनावरहरु यसबाट प्रभावित भएका थिए।
बाँचेको क्वालाको जनसंख्या निकै चिन्ताजनक रहेको विज्ञहरुले बताउदै आएका छन्।
अस्ट्रेलियाको गर्मी याममा हुने डढेलो कुनै नौलो कुरा त हैन, तर गत बर्षको भयानक सुख्काको कारण, यसले ल्याएको विपतले भने सबैको मनमा डर पसेको थियो।अन्य देशहरुमा पनि पर्यावरणको क्षय देखिएको थियो। नेपालमा सलह किरा छिरेर त्यहाँको बाली-नालीलाई नष्ट बनाएका थिए। धेरै किसानहरुलाई यसले मर्कामा पारेको थियो।
CFA firefighter David Tree shares his water with an injured koala during the bushfires. Source: Mark Pardew
नेपाल बाहेक, भारत, पाकिस्तान, ईरान, ओमान, साउदी अरेबिया, युगाण्डा, सोमालिया लगायतका अन्य धेरै देशहरु पनि सलह किराको मारमा परेका थिए।
संयुक्त राष्ट्र महासंघको खाध्द तथा कृषि संस्थाले जनाए अनुसार- सलह किरा निकै ठूला क्षेत्रफलसम्म फैलिन सक्छ, र संसारका धेरै कृषकहरुलाई आयहीन बनाउन सक्छ।
यसैबिच, नेपालको हिमाली क्षेत्रमा तिव्र गतिमा हिम-स्खलन हुँदै गरेको पनि अमेरिकाको कोल्बिया युनिभर्षिटिले सन् २०१९ मा गरेको अन्वेषणले देखाएको छ।
यस अध्ययनको क्रममा, अन्तरिक्षमा रहेको सेटेलाईटहरुले खिचेका तस्विरहरुको आधारमा, सन् २००० पछी हिम-स्खलनको दर झनै बढेको देखाएको छ।
जनावरको संरक्षणको कुरामा भने केहि क्षेत्रहरुमा प्रगति भएको देखिन्छ। नेपालमै बाघको जनसंख्या २३५ माथि रहेको देखिन्छ। गत दश बर्षमा यो संख्या दोब्बर भएको त्यहाँ पर्यावरणविद्हरुले बताएका छन्।
पर्सामा रहेको निकुञ्जमा त बाघको जनसंख्या बढेर त्यहाँका स्थानियहरुले बेला बेलामा राजमार्ग छेउमा बाघ देखिरहने पनि बताउछन्। केहि दिन अघि मात्र, महेन्द राजमार्गको पतलैया खण्डमा गाडीको ठक्करले बाटो काटिरहेको एक बाघको ज्यान गएको थियो।
यस्तै, जनसंख्या पातलिदै गर्दा खतराको सूचीमा परेका युरोपियन बँदेल र रसियामा रहेको जंगली घोडाहरुको संख्यामा वृध्दि भएको देखिन्छ।
तर यि साना प्रगतिहरुले ठूलो समस्या लुकाउन भने सकिदैन। पर्यावरणको बारेमे सदैव जनचेतना जगाउदै आएकामध्ये एक जना- टिभी प्रस्तोता डेभिड एटेनब्र हुन्। ९४ बर्षीय एटेनब्रले अस्ट्रेलियामा रहेको ग्रेट ब्यारियर रीफले संसारको प्राकृतिक सम्पदा नाश हुँदै गरेको एक झलक दिन्छ भनि बताउछन्।
“पहिलो पटक म त्यहाँ जाँदा, विश्वासनै गर्न नसकिने सुन्दर ठाउँ थियो- ग्रेट ब्यारियर रीफ। प्रकृतिको अनेक रुप र रङ्गको विविधता। त्यहि ठाऊँमा अर्को पल्ट जाँदा- प्राणनै नभएको मसानघाट जस्तो देखिन्थ्यो,” उनले भने।